रंगमञ्च : ‘बच्चा जन्माउन पनि नदिने कस्तो सरकार ?’
सरकारलाई सराप्नु हाम्रो संस्कारजस्तै बनेको छ । बिहान उठ्नेबित्तिकै चिया पिउनेदेखि अबेर रात मदिरामत्त भएर हल्लिँदै हिँड्नेसम्म सरकारलाई गाली गरिरहेका भेटिन्छन् । भान्सामा, बैठकमा, कार्यालयमा होस् या पार्कमा, सडकमा होस् या सदनमा सरकार गाली खाइरहेकै हुन्छ । सबैको एउटै कुरा हुन्छ– सरकार नाकामको भयो । यदि सरकारले यो अपेक्षाको भारी बोकाउने संस्कारलाई अवसर दुरुपयोग गर्यो भने के हुन्छ ? उत्तर खोज्न मण्डला थिएटरमा चलिरहेको नाटक ‘योजनापार्क’ हेर्न जानु राम्रो विकल्प हो ।
६ चैत्रबाट मञ्चन सुरु भएको ‘योजनापार्क’ नोबल पुरस्कार विजेता अस्ट्रियन अर्थशास्त्री फ्रेडरिक अगस्ट हायकको कृति ‘द रोड टु सर्फडम’मा आधारित छ । जसको लेखन सुरेश सापकोटाले गरेका हुन् । निर्देशन भने कलाकार बुद्धि तामाङले गरेका हुन् । ‘हैट्’ थेगोका साथ सिनेमा र टेलिसिनेमामा जमिरहेका उनले यसमार्फत नाटक निर्देशनमा ‘डेब्यू’ गरेका छन् ।
हायकको दावी हो कि पश्चिमा प्रजातन्त्रमा व्यक्तिगत र राजनीतिक स्वतन्त्रतामाथि अंकुश लगाउने भरमार प्रयत्न भएको छ । समृद्धिको जिम्मा सम्पूर्ण रूपमा सरकारकै हो भन्ने सामाजिक मानसिकताको फाइदा उठाउँदै बन्ने केन्द्रीकृत योजनाले राज्यलाई सर्वाधिकारवाद वा अधिनायकवादतिर लैजान्छ भन्ने उनको तर्क हो । यसले अल्पसंख्यकको सोच र योजनाले बहुमतलाई शासन गर्ने प्रणाली झन् बलियो हुँदै जान्छ । प्रजातन्त्रमात्रै होइन, समानताको पक्षपोषण गर्ने समाजवादी सिद्धान्तको कार्यान्वायनमा पनि सोही समस्या देखिएको उनको धारणा छ । सरकारले बजारमा नियन्त्रण गर्न खोजेमा व्यक्तिगत स्वतन्त्रमा ठूलो धक्का पुग्ने उनको मत छ । उनी विकास र आर्थिक समृद्धिको मुद्दामा व्यक्तिगत स्वतन्त्रताको ख्याल गर्नु अत्यावश्यक ठान्छन् । सरकारले भने गलत काम हुन रोक्ने र सञ्चालनका समस्या सल्टाउनेजस्ता कुरामा ध्यान दिनुपर्ने उनको मत छ ।
त्यसो त उनको विचार बहसको विषय हो । मूलतः यो विचार बढी व्यक्तिवादी भयो भन्ने आलोचना भइरहेकै हो । त्यस्तै यो धारणा समाजवादी तथा साम्यवादीविरोधी विचारको रूपमा पनि आलोचित छ । तर सामाजवाद र साम्यवादका अवधारणामाथि विश्वभर विभिन्न कोणबाट बहस भइरहेको छ । मूलतः बिसौं शताव्दीको पछिल्लो अवधिमा देखिएको समाजवादी शासनव्यवस्थाको असफलतासँगै समाजवाद र साम्यवादी राज्यको असफलताका कारण खोजिँदैछ । त्यो खोज र बहसमा पनि हायकको विचारको उत्तिकै स्थान छ ।
सार्वभौम वैचारिक बहसमा त उनको उपस्थिति महत्वपूर्ण छ नै, अर्कातिर नेपालको सन्दर्भमा पनि उनको विचारले अर्थ राख्छ । संविधान बनिसकेपछि समृद्धिको चाहना सम्पूर्ण क्षेत्रबाट अभिव्यक्त भइरहेको छ । राजनीतिक दल र तिनका नेताले पनि कुनै न कुनै रूपमा अबको लक्ष्य समृद्धि नै बताएका छन् । अहिले सदनमा कम्युनिष्ट विचार मान्ने दलहरूको उपस्थिति बलियो छ । यो अवस्थामा अबको नेपालको विकासको बाटो कस्तो हुने भन्ने बहस हुनु स्वाभाविक हो । यो बहसमा नाटकले पनि विषयउठान गर्छ । हायकको विचार सापटी लिएर अबको नेपालमा सरकारको भूमिका जनताको भावनालाई सम्बोधन गर्ने हुनुपर्छ भन्ने सन्देश नाटकमार्फत दिन खोजिएको छ ।
नाटकको कथामा केन्द्रीकृत योजनामा निर्लिप्त सरकार यतिसम्म क्रुर र संवेदनाहीन हुन्छ कि रहिसकेको गर्भसमेत तुहाउने आदेश दिन्छ । यस्तो नहोस् भन्ने सन्देशका साथ हायकको विचारबारे विमर्श गर्न र त्यसलाई नेपाली सन्दर्भमा बहसमा ल्याउन नाटक सान्दर्भिक छ । त्यसो त नाटकमा नागरिकमाथि राज्यको क्रुरताको अन्य आयाम पनि समेटिएको छ । जनता आफ्नो सरकार ल्याउनका लागि लड्छन् । तर जसलाई सरकारमा पुर्याउँछन्, तिनले फेरि जनताकै भावनाविरोधी काम गर्छन् । आफूलाई सरकारमा पुर्याउन ज्यान अर्पण गर्ने र सधैं सरकारका कदमलाई सहयोग गर्ने सहिदपरिवारलाई नै मृत्युदण्ड दिइएको दृश्य नेपाली राजनीतिको चूडान्त चित्र हो ।
हायकको विचारमा आधारित भए पनि नाटकमा सामूहिकतालाई इन्कार गरिएको छैन, बरु आवश्यकताको रुपमा प्रस्तुत गरिएको छ । त्यसैले नाटकले हायकको विचारका सान्दर्भिक कमजोरीमाथि पनि दृष्टि राखेको छ र त्यसबाट पैदा भएको खाडल कसरी पुर्न सकिन्छ भन्ने उपायको पनि खोज गरेको छ । व्यक्तिगत स्वतन्त्रतालाई परिभाषित गर्ने कुरामा पनि नाटक बलियो छ । आफ्नो सन्तान वा दरसन्तानको स्वार्थको क्षेत्रमा होइन, आफ्नो विशेषज्ञता र प्रतिभासम्पन्न क्षेत्रमा योगदान गर्न दत्तचित्त हुनु नै व्यक्तिगत स्वतन्त्रता हो भन्ने भावको सञ्चार नाटकमा छ । यसले कुशलता भएको क्षेत्रभन्दा पनि आर्थिक लाभको क्षेत्रलाई मात्रै ताकिहिँड्ने मानसिकतालाई भने व्यंग्य नै गर्छ । त्यस्तै आफ्नो लाभमा मात्रै सरकारप्रति अपेक्षा गर्ने र समाजको हित गर्नुपरेचाहिँ असन्तुष्ट हुने प्रवृत्तिप्रति पनि व्यंग्य गरिएको छ ।
प्रेमको उच्चतालाई स्वीकार गर्नु नाटकको अर्को सुन्दर पाटो हो । त्योभन्दा सुन्दर कुरा त यसमा प्रेममा समानताको मूल्य जसरी उच्च रूपमा निरूपण गरिएको छ । त्यो नाटकको निकै बलियो पक्ष हो । नाटक लेखनमा सुरेश सापकोटाले आफूलाई बलियो प्रमाणित गरेका छन् । घटनामा आधारित विषयको लेखन सहज कुरा हुन्छ, तर विचारमा आधारित लेखन पक्कै पनि कठिन कार्य हो । तर विचारलाई कलात्मक अभिव्यक्ति दिने कुरामा उनले आफूलाई प्रमाणित गरेका छन् । नाटकमा प्रयोग गरिएका बिम्बहरू पनि शक्तिशाली छन् । उनको बिम्बलाई सरल तर प्रभावशाली भंगिमामा प्रयोग गरेका छन् बुद्धि तामाङले । हुन त बुद्धिले नाटकको ब्रोसरमा भनेका छन्, ‘निर्देशनमा पहिलो अनुभव हो, अलिकति आत्तिएको छु ।’ तर उनको आत्तिने अवधि समाप्त भइरहेको छ । अब निर्देशनमा उनको गतिको अपेक्षा सुरु भएको छ ।
नाटकमा परीक्षा लामिछाने र रोहित पौडेलको जोडी जमेको छ । ‘रोमान्टिक’ प्रेमिका, ज्ञानी बुहारी र ‘स्वप्निल’ आमा तीनै भूमिकामा प्रभाव जमाएकी छिन् । रोहित पौडेलले आफूलाई प्रेमी, कलाप्रेमी र इमान्दार भाइको भूमिकालाई न्याय गरेका छन् । सहिदपत्नीको भूमिकामा विनिता गुरुङ प्राकृतिक लाग्छिन् । अनुप न्यौपाने, अंकित खड्का, इँगिहोपो कोइँच सुनवार र जीवन भट्टराईले दाजुभाइको भूमिकामा आ–आफ्नै ‘सिग्नेचर’सहित जमेका छन् । सरकारको भूमिकामा अमर भण्डारी, आयान खड्का र मिलन कार्कीले प्रभावकारी अभिनय गरेका छन् । नेपथ्यबाट आउने सिजन दाहालको आवाजले पनि नाटकमा प्रभाव छ । २८ चैतसम्म सोमबारबाहेक हरेक साँझ ५ः१५ मा र शनिबार दिउँसो १ बजे पनि नाटक हेर्न सकिन्छ ।
तस्बिर : बिजु महर्जन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण