शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

आज रङहरुको पर्व होली

मङ्गलबार, ०९ चैत २०७२, ०९ : ५२
मङ्गलबार, ०९ चैत २०७२

काठमाडौँ– प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङको चाड फागुपूर्णिमा अर्थात होली आज भव्यताका साथ मनाइँदै छ । पहाडी भेगमा आज मनाइने यो पर्व तराई भेगमा भने भोलि भव्यताका साथ मनाइँदैछ ।

वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यो चाड मानिसले एक अर्कामाथि विभिन्न प्रकारका रङ हालेर एकअर्कालाई रङ्गिन बनाएर मनाउँछन् ।

नेपालमा प्रचलित विभिन्न संस्कृतिमध्ये फागुपूर्णिमा आफ्नै विशिष्टता बोकेको संस्कृति भएको संस्कृतिविद् हरिराम जोशीले बताए ।

होली खेल्ने दिनभन्दा एक दिन पहिला राति होलिका दहन गरिन्छ । राति होलिका दहन गरिसकेपछि बिहान पानीमा रङ घोलेर एकअर्कामाथि फाल्ने प्रचलन प्राचीन कालदेखि चलिआएको हो । स–साना बच्चादेखि वृद्धवृद्धासम्म सबैले होलीको मजा लिने गर्दछन् । होलीको दिन पुरानो कटुता समाप्त गरेर र दुस्मनी बिर्सेर एकआपसमा खुसी साट्ने दिनका रुपमा मनाइन्छ ।

फागुपूर्णिमाका अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढका हुल तथा जत्था हातमा रङ र रङ्गिन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै उत्साह र उमङ्गका साथ रङ्गीन पर्वका रूपमा मनाउने गरिन्छ ।

फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चिर (विशेष रूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने यो पर्व पूर्णिमाको रातमा उक्त चिर ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।

फागुन शुक्ल अष्टमीको दिन भीमसेन मन्दिरमा राखिएको लिङ्ग(लग)लाई टोलटोलमा पसलैपिच्छे घुमाएर पूजा गरी पुनःमन्दिरको पाटीमा राखिने परम्परा छ ।

सत्ययुगमा भगवान् विष्णुका भक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपुले विभिन्न जाल बुन्दा पनि मार्न नसकेपछि हिरण्यकश्यपुले आगोबाट नजल्ने, नमर्ने बरदान पाएकी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा भक्त प्रह्लादलाई केही नभएको तर होलिका जलेर नष्ट भई असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा यो पर्व मनाइने गरिएको हो ।

होलीमा प्रयोग गरिने रङको आ–आफ्नै महत्व रहेको पाइन्छ । नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ भने पहेँलो रङ भगवान् विष्णु र श्रीकृष्णको प्रिय रङ हो । भगवान् गणेशलाई सबै रङ मनपर्ने तथा रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ । होलीको अवसरमा राष्ट्रपति, उपराष्ट्रपतिसहित विभिन्न दलका नेताहरुले शुभकामना दिएका छन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप