शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नवलपरासीमा भेटियो नेपालकै ठूलो फलाम खानी

मङ्गलबार, ०९ चैत २०७२, १२ : ४५
मङ्गलबार, ०९ चैत २०७२

कावासोती– नवलपरासीको धौवादी–३ पोखरीमा फलाम खानीको उत्खननमा खटिएका भूगर्भविद्को टोली उत्साहित भएका छन् ।

नेपालमै ठूलो फलाम खानी भेटिएकामा उनीहरु उत्साहित भएका हुन् । “यति ठूलो क्षेत्रमा फलाम खानी भेटिएको छ त्यसमा काम गर्दा हामीलाई उत्साह भएको छ ।” भूगर्भविद् नारायण बाँस्कोटाले भने – “यो काम गर्दा उत्साह थपिँदा दिन बितेको पत्तै भएको छैन ।”

गत फागुन २७ गतेदेखि पाँच जनाको समूहमा आएको यो टोलीले पोखरी क्षेत्रमा विस्तृत अध्ययन गरेको छ । पाँच वर्ष अगाडि कोइला खानीको सम्भाव्यता अध्ययन गर्न आएको खानी तथा भूगर्भ विभागको टोलीले यस ठाउँमा फलाम खानी भएको पत्ता लगाएको थियो । विस्तृत अध्ययन टोलीले च्यानल सेम्पलिङ, टोवो जियोलोजिकल सर्वे, डिर्लिङ लगायत काम गरिरहेको टोली प्रमुख नरेन्द्र महर्जनले बताए ।

एक महिना यस क्षेत्रमा उनीहरुले काम गर्नेछन् । उनीहरुको काम हेर्न खानी तथा भूगर्भ विभागका महानिर्देश सर्वजित महतो पनि आइसकेका छन् ।

पूर्व पश्चिम राजमार्गको ९ किमी उत्तर झ्यालवास बजार पुगेपछि त्यहाँबाट १३ किमी उत्तर पहाडमा खानी क्षेत्र पर्छ । च्यानल सेम्पलिङमा ५८ प्रतिशतसम्म हेमटाइड वेर भेटिएको टोली प्रमुख महर्जनले बताए । साठी प्रतिशत हेमटाइड वेर उत्तम र ३० देखि ६० प्रतिशतसम्मको मध्यमखालको मानिन्छ । “यहाँ मध्यम पनि धेरै राम्रो खालको छ” उनले भने, “यहाँ च्यानल ग्याप भएको छैन, बाहिर मात्रै होइन भित्रसम्म छ ।”

पूर्वमा धौवादी, पश्चिममा देउरालीको नाम्जाकोट, दक्षिणमा रुम्सी र उत्तरमा नरमको ल्हापेसम्म फलाम खानीको क्षेत्र फैलिएको तथ्य भेटिएको बाँस्कोटाले बताए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप