शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

चीनले दिने सौर्य बत्ती भूकम्प प्रभावित जिल्लामा

मङ्गलबार, ०९ चैत २०७२, १६ : ४३
मङ्गलबार, ०९ चैत २०७२
काठमाडौँ- भूकम्प प्रभावित १४ जिल्लाका भूकम्पपीडितलाई खुसीको खबर। छिमेकी चीन सरकारले नेपाललाई उपलब्ध गराउने ३२ हजार थान सौर्य बत्ती भूकम्पबाट अति प्रभावित ती जिल्लामा निःशुल्क वितरण हुने भएको छ। प्रधानमन्त्री केपी ओली र चिनियाँ समकक्षीको उपस्थितिमा सौर्य प्रणाली उपलब्ध गराउनेसम्बन्धी द्विपक्षीय सहयोग सम्झौतामा हस्ताक्षर भएको हो। गत वैशाखमा गएको भूकम्पका कारण घरबार भत्किएका १४ जिल्लाका भूकम्पपीडितलाई उक्त सौर्य बत्ती निःशुल्क रुपमा प्रदान गरिनेछ। भूकम्प गएलगत्तै आएको चिनियाँ प्रतिनिधिमण्डलले प्रभावित क्षेत्रमा मानवीय सहयोग गर्ने लक्ष्यका साथ सौर्य प्रणाली उपलब्ध गराउने र उज्यालो वितरण गर्ने वचन दिएअनुसार नै ३२ हजार थान घरायसी सौर्य प्रणाली उपलब्ध गराउन लागिएको हो। भूकम्पका कारण घरबारविहीन भएका जनतालाई उपलब्ध गराउने लक्ष्यका साथ चिनियाँ पक्षले राखेको चासो र सहयोगलाई व्यवस्थापन र अनुगमन गर्ने काम गर्ने जनसङ्ख्या तथा वातावरण मन्त्रालय र उक्त मन्त्रालय मातहतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले गर्नेछ। यस्तै चीनले ३२५ थान ठूलो खालको सौर्य प्रणाली पनि उपलब्ध गराउने भएको छ । कुल ३२ हजार थान सौर्य प्रणाली भने कुल १० वाटको हुनेछ। त्यसमा सँगै तीन थान बल्ब पनि प्राप्त हुनेछ । कुल ९६ हजार बल्ब सहयोगमा नै प्राप्त हुनेछ भने ३२५ थान ठूलो सौर्य प्रणाली भने एक हजार २०० वाटको हुनेछ । विद्यालय, सामुदायिक संस्था, अस्पतालमा ठूलो प्रणाली जडान गरिनेछ। ठूला प्रणाली विद्यालय, अस्पताललाई कसरी वितरण गर्ने भन्ने विषयमा नीतिगत व्यवस्था गर्न आवश्यक निर्णय हुन बाँकी रहेको छ। जनसङ्ख्या र वातावरण मन्त्रालयका जलवायु परिवर्तन शाखा प्रमुख रामहरि पन्तले ‘इकोसिस्टम बेस्ड एडप्टेस्न’अन्तर्गत ग्लोबल इन्भारमेन्ट फन्डले गरिरहेको कामलाई सार्थक बनाउने लक्ष्यका साथ चीन सकरारको तर्फबाट ती प्रणाली प्राप्त हुन लागेका हुन् । सो परियोजनाको चीन सहलगानीकर्ता हो। यसअघि उक्त परियोजनाले नेपालको लमजुङमा सौर्य प्रणाली जडान गर्ने कार्य गर्दै आएको थियो । सौर्य प्रणाली जडान गर्न आवश्यक जनशक्तिलाई तालिम दिने तथा प्रविधि हस्तान्तरणमा समेत चीन सरकारले नै सहयोग गर्ने छ। त्यसमा चिनियाँ पक्षले उपलब्ध गराउने तालिम र प्राविधिक सहयोगका लागि आवश्यक व्यवस्थापन र अनुगमन गर्ने काम भने जनसङ्ख्या तथा वातावरण मन्त्रालयले गर्नेछ। कुन स्थानमा कसरी जडान गर्ने भन्ने विषयमा भने वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले नै गर्ने पन्तले जानकारी दिए। चिनियाँ पक्षले ३० करोड रुपैयाँ बराबरको सहयोग गरेको उनको भनाइ छ । चीनले उपलब्ध गराएको सौर्य प्रणालीको गुणस्तरमा कुनै समस्या नहुने र त्यसको आवश्यक जाँच पड्तालसमेत गरिनेछ। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका सौर्य ऊर्जा शाखाका प्रमुख महेश घिमिरेले आफूहरुले गरेकै प्रस्तावअनुसार चिनियाँ पक्षले सौर्य प्रणाली उपलब्ध गराएको जानकारी दिए। विशेष गरी भूकम्प प्रभावित क्षेत्रलाई नै केन्द्रमा राखेर ती प्रणाली वितरण गरिने जानकारी दिँदै उहाँले भूकम्पबाट घरबारविहीन भएकालाई सौर्य प्रणालीले केही न केही रुपमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। वैकल्पिक ऊर्जा प्रवद्र्धन र नवीकरणीय ऊर्जाको विकासमा चिनियाँ सहयोगले उल्लेख्य काम गर्ने भन्दै उनले ३२ हजार घरपरिवार उक्त प्रणालीबाट प्रत्यक्ष लाभान्वित हुने बताए। नेपालमा सौर्य प्रणालीको क्षेत्रमा काम गर्ने चासो राख्दै आएको चिनियाँ पक्षले नेपाललाई उपलब्ध गराएको सहयोग हालसम्मकै बढी हो। चीन सरकारकै सहयोगमा मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारमा समेत एक मेगावाट बराबरको सौर्य प्रणाली निटक भविष्यमा नै जडान गरिनेछ । चिनियाँ पक्षले सो सम्बन्धी एकसरो अध्ययन गरिसकेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप