शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पानी नपर्दा तुवाँलोको प्रभाव बढ्दै

आइतबार, १४ चैत २०७२, १६ : ०४
आइतबार, १४ चैत २०७२

पोखरा– लामो समयदेखि पानी नपर्दा पोखरा र आसपासका क्षेत्रमा तुवाँलोको प्रभाव बढ्दै गएको छ ।

तुवाँलोका कारण वायुमण्डल धुमिल बनेको छ भने टाढा टाढाका दृश्य हेर्न समेत समस्या हुन थालेको छ । पश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय पोखराका प्रमुख राजाराम ढकालका अनुसार लामो समयदेखि पानी नपरेको र राम्रोसँग हावा समेत नलागेका कारण पोखरा तथा आसपासको क्षेत्रका हावामा तुवाँलो थपिने क्रम दिनदिनै बढ्दै गएको हो । पानी परेसँगै तुवाँलो फाटेर जाने बताउँदै उनले आज साँझसम्म पश्चिम क्षेत्रमा क्षणिक रुपमा पानी पर्ने सम्भावना भएको जानकारी दिए ।

जलवायुमा देखिएको परिवर्तनका कारण पनि पानी नपर्ने, तुवाँलो भरिँदै जाने जस्ता समस्या बढ्न थालेको उनको भनाइ छ । तुवाँलोले वायुमण्डल धमिलो भए पनि प्रदूषण न्यून भएका ठाउँमा त्यसबाट स्वास्थ्यमा भने खासै असर नपर्ने जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख सागर घिमिरेले जानकारी दिए ।

केही दिनयता बाक्लिँदै गएको तुवाँलोका कारण पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्न आएका पर्यटक मारमा परेका छन् । तुवाँलोका कारण दैनिक लगभग १५० को सङ्ख्यामा उड्ने गरेका प्यारग्लाइडिङ दुईचार दिनयता लगभग ४० को सङ्ख्यामा मात्र उडेको नेपाल हवाई खेलकुद संस्थाका कावा अध्यक्ष सोभियत बानियाँले जानकारी दिए ।

बानियाँका अनुसार तुवाँलोका कारण राम्रोसँग दृश्यावलोकन गर्न नसकिने भएका कारण प्याराग्लाइडिङ उडानमा सहभागी हुने पर्यटकको सङ्ख्या घटेको हो । “छोटो बिदाको समय लिएर घुम्न आएकाहरु बाहेक तुवाँलोको बढिरहेको प्रभावका कारण दृश्यावलोकन गर्न असहज भएकाले अन्य पर्यटक प्याराग्लाइडिङ उडानमा सहभागी भएका छैनन्”, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप