चीन भ्रमण पूर्णरुपमा सफल : प्रधानमन्त्री ओली
काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण पूर्णरुपमा सफल भएको बताएका छन् ।
साताव्यापी चीन भ्रमणबाट आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ठ कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले छिमेकी मुलुकको सद्भाव तथा सहयोग र उनीहरुसँगको सहकार्य सुनिश्चित गर्ने प्रयासको सिलसिलामा आफूले दुई छिमेकी मुलुकको भ्रमण गरेको बताए ।
सरकार मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डताको रक्षा एवम् राष्ट्रिय हित र स्वाभिमानको अभिवृद्धि गर्दै तीव्रतर रुपमा आर्थिक समुन्नतिका लागि आन्तरिक तथा बाह्य स्रोत र साधनको अधिकतम् परिचालन गर्ने नीति र कार्ययोजनाका साथ अगाडि बढिरहेको प्रधानमन्त्रीले उल्लेख गरे ।
संविधान निर्माणसँगै मुलुकले प्राप्त गरेको राजनीतिक स्थिरताको जगमा आर्थिक, सामाजिक विकास गरी समुन्नत नेपाल निर्माण गर्ने दिशामा सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीले बताए ।
चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको उपस्थितिमा हिल्सास्थित सीमा नाकामा चिनियाँ सहयोगमा पुल निर्माणसम्बन्धी सम्झौता, पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी ऋण तथा सहुलियतपूर्ण ऋण लिनेसम्बन्धी तीनवटा सम्झौता भएका छन् ।
त्यस्तै चिनियाँ सहयोगमा तेल तथा ग्यासको अन्वेषणको सम्भाव्यता अध्ययनसम्बन्धी सहमतिपत्र, नेपाल र चीनबीच स्वतन्त्र व्यापार सम्झौताको वार्ता आरम्भ गर्नेसम्बन्धी संयुक्त सम्भाव्यता अध्ययनसम्बन्धी समझदारीपत्र, भूकम्प प्रभावित क्षेत्रलाई ३२ हजार सौर्य प्रणाली उपलब्ध गराउनेसम्बन्धी सहयोग सम्झौता, ट्रेडमार्क दर्ता संरक्षण गर्ने विषयक समझदारीपत्र, वित्तीय तथा बैंकिङ क्षेत्रमा सहयोग आदानप्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको सो अवसरमा जानकारी दिइयो ।
यस्तै नेपालको पूर्वाधार क्षेत्रको विकासमा चिनियाँ सहयोग जुटाउने, दुवै पक्ष स्थल तथा हवाई सम्पर्कको विस्तार गर्ने, यातायात पूर्वाधार सुदृढ गर्न एवम् सम्पर्क सञ्जालको विस्तार एवम् थप सुदृढ गर्ने, अन्तरदेशीय सडक तथा रेल सञ्जाल निर्माण, अरनिको राजमार्ग, स्याफ्रुबेँसी–रसुवागढी राजमार्ग सञ्चालनमा ल्याउन र मर्मत सम्भार गर्न काठमाडौँ, चक्रपथको विस्तार कार्य अगाडि बढाउने सम्झौता भएको प्रधानमन्त्रीले जानकारी दिए ।
त्यस्तै किमाथाङ्का–खाँदबारी धनकुटा सडक, ४३४ मेगावाट क्षमताको अरुण किमाथाङ्का जलविद्युत् परियोजना विकास, अन्तरदेशीय ४०० केभी क्षमताको प्रसारण लाइन, काठमाडौँ चक्रपथमा १३२ केभी क्षमताको मोनोपोल प्रसारण लाइन निर्माण गर्न सहुलियतपूर्ण ऋण उपलब्ध गराउन चिनियाँ पक्ष सहमत भएको प्रधानमन्त्री ओलीले बताए ।
उनले निजामती अस्पतालको विस्तार तथा मदन भण्डारी विज्ञान तथा प्रविधि संस्थान स्थापना गर्न चिनियाँ सहयोग प्राप्त गर्ने विषयमा कुराकानी भएको पनि उल्लेख बताए । नेपालको व्यापार घाटा घटाउन चीनमा निर्यात सम्भाव्यता भएका ५०० भन्दा बढी नेपाली वस्तुलाई सहज बजार प्रवेश दिन नेपाली पक्षबाट प्रस्तुत गरिएको सूचीलाई चिनियाँ पक्षले गम्भीर रुपमा लिएको बताउँदै प्रधानमन्त्रीले ऊर्जा व्यापारका लागि दुवै मुलुकका सम्बन्धित निकायबीच संवाद संयन्त्र स्थापना गर्ने सहमति भएको जानकारी दिए ।
नेपालको पर्यटन व्यवसायलाई थप ऊर्जा प्रदान गर्न तथा चिनियाँ पर्यटकबाट नेपालले फाइदा लिनसक्ने वातावरण निर्माण गर्नका लागि आगामी पाँच वर्षभित्र २०० पर्यटक व्यवसायीलाई चिनियाँ भाषा, तालिमलगायत पर्यटन क्षेत्रमा सहयोग गर्ने सहमति भएको उल्लेख गरे । मानव स्रोतको विकासका लागि यसवर्ष ४०० भन्दा बढी तालिमका अवसर तथा हाल उपलब्ध गराउँदै आएको सरकारी छात्रवृत्ति सङ्ख्या बढाउनसमेत चिनियाँ पक्ष सहमत भएको प्रधानमन्त्रीले बताए ।
भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली खछ्याङलगायत उच्च अधिकारीसँग भेटवार्ता गरी द्विपक्षीय वार्ता एवम् महत्वपूर्ण विषयमा छलफल भएको जानकारी दिँदै प्रधानमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी र आफ्नोतर्फबाट चिनियाँ प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्ता दिएको र चीनको उच्च राजनीतिक नेतृत्वबाट सन् २०१६ मा नेपालको भ्रमण हुने अपेक्षा राखेको बताए ।
पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले नेपालका छिमेकीसँगको सम्बन्ध विशिष्ट र फरक–फरक धरातलमा रहेको जानकारी दिँदै चीन भ्रमणका क्रममा भएका सम्झौता हस्ताक्षरलगत्तै कार्यान्वयनमा आएका छन् भने ।
उनले मुलुकको दीर्घकालीन समुन्नति तथा नेपाली जनताको सर्बोपरी हितलाई सुनिश्चित गरिएको स्पष्ट पार्नुभयो । मित्रराष्ट्रसँग समानता र पारस्परिक हितका आधारमा विद्यमान सम्बन्धलाई थप सुदृढ र विस्तार गर्दै लैजाने एवम् छिमेकीसँगको सम्बन्धलाई एकअर्कासँग तुलना नै हुन नसक्ने परराष्ट्रमन्त्री थापाको कथन थियो ।
प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही चैत ७ गते चीन प्रस्थान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण