सावधान ! दिलसरा र कलिसराले ‘मज्जाले कमाई हुन्छ’ भन्दै दिल्ली कटाउलान् !
काठमाडौं– नेपालगन्जकी मेनुका मगर (नाम परिवर्तन)लाई काठमाडौंको बौद्ध बस्ने तुल्सीराम गौतमले करिब तीन महिनाअघि विदेश पठाइदिन्छु भन्दै काठमाडौं बोलाए । काठमाडौं आएको भोलिपल्ट तुल्सीरामले सोधे, ‘पासपोर्ट छ ?’ मेनुकाले जवाफ दिइन्, ‘बनाएको छैन ।’ मेनुकालाई साथमै लिएर तुल्सीराम जिल्ला प्रशासन कार्यालय बाँके पुगे, पासपोर्टको सिफारिस बनाईदिए । मेनुकाले पासपोर्ट बनाउनका लागी दरबारमार्गको राहदानी विभागमा डकुमेन्ट पेश गर्नुअघि नै तुल्सीरामले उनलाई बौद्धको एक घरमा राख्न थालेका थिए । जहाँ उनीजस्ता एक दर्जन युवतीहरु ‘कमाउन विदेश जाने’ दिनको पर्खाइमा थिए । त्यो भीडमा मेनुका थपिँदा युवतीको संख्या १३ पुग्यो, दिलसरा र कलिसराले उनिहरुको रेखदेख गर्थे । ‘दिलसरा र कलिसरा दलालका मान्छे रहेछन्, ‘मेनुकाले भनिन्, ‘पछि तिनैले मलाई महेन्द्रनगरको गाडी चढाएर दुबई लाने भन्दै दिल्ली पुर्याए ।’
पासपोर्ट बनेपछि दिलसरा र कलिसराले मेनुकाको थप डकुमेन्ट बनाइदिए । त्यहि बीचमा आमा बिरामी भएकाले मेनुका नेपालगंज फर्किइन् । आमाको स्वास्थ्य ठिक नहुँदै तुल्सिरामले पटक–पटक फोन गरेर उड्न ढिला भैसकेको भन्दै अत्याए । उनलाई बौद्धमा राखेको दुई महिना पुरा भएपछि दिलसरा र कलिसराले नयाँ बसपार्कबाट गाडी चढाएर महेन्द्र नगर पठाए । मेनुकाको साथमा थिए, कान्छिमाया थापा र नविता दोङ (नाम परिवर्तन) । महेन्द्रनगर बसपार्कमा उनीहरुलाई लिन मिठु आइन् । ‘बोर्डरमा मिठुको नामै काफी छ’ भन्दै उनले बोर्डर कटाइदिइन् । बोर्डर पार गरेर भोलिपल्ट भारतको नयाँदिल्ली पुग्दा त्यहाँ मेनुकासँग गएका तीन युवती बाहेक अन्य सात युवतीहरुसँग उनीहरुको भेट भयो । काठमाडौंबाट गएका तिन र केही दिन अघि दिल्ली पुगेका सात युवतीका लागी तुल्सीरामका दिल्ली सहयोगीले श्रीलंका जाने फर्जी कागज बनाइदिए ।
श्रीलंका जान दिल्ली एयरपोर्ट पुगेपछि अरु दुई जना उड्न सफल भएर मेनुका रोकिइन् । फर्जि कागजात भएको आशंका लागेपछि भारतिय प्रहरीले मेनुकासँग सोधखोज गर्न थाल्यो । दिल्ली प्रहरीले उनिमाथि अनुसन्धान शुरु गरेको सुचना महानगरीय प्रहरी अपराध महाशाखामा आयो । भारतिय प्रहरीसँगको कोअर्डीनेशनमा मेनुकालाई नेपाल ल्याउन प्रहरी सफल भयो ।
यसरी दुबईमा मासिक ६० हजार कमाउन सकिने भन्दै बेचिन लागेकी मेनुका घर फर्किइन्, तर उनीसँगै गएका अन्य दुईको अवस्थ के छ कसैलाई थाहा छैन ।
चेलीहरु बेचिने र युवा–युवतीहरु ठगीने घटना क्रमश बढ्न थालेपछि महानगरीय प्रहरी अपराध महाशाखाले तुरुन्त उद्धार गर्न भन्दै ‘हटलाइन सेवा’ शुरु गरेको छ । ‘देशभित्र र देशबाहिरका लागि हामीले छुट्टाछुट्टै नम्बर राखेका छौं’ महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने, ‘बेचिएको र ठगिएको उजुरी नेपालभित्रबाट गर्नुपरेमा ११७७ मा सम्पर्क गर्न सकिन्छ, विदेशमा त्यस्तो समस्या भए ४२६९७४१ मा सम्पर्क गरेपछि हामी तुरुन्तै कारवाही अगाडी बढाउँछौं ।’
मानव बेचबिखन र ठगिए नियन्त्रणका लागी आक्रामक रुपमा प्रस्तुत भएको अपराध महाशाखाले हटलाईन सेवा शुरु गरेको डेढ महिनाको बीचमा १२० उजुरी परेको डिएसपी मुकुन्द मरासिनीले जानकारी दिए ।
मकाउदेखि पोर्चुगलसम्म बेचिन्छन्, युवती
अपराध महाशाखाले राजधानीका १७ वटा मेनपावरमा छापा मार्नुअघि नै बेचबिखन र ठगी नियन्त्रणलाई प्रभावकारी बनाउनका लागी हटलाईन सेवा शुरु गरिसकेको थियो । प्रहरीका अनुसार बैंकक, मकाउ, कम्वोडीया, युएई, ओमान, कुबेत, साउदी अरब, पोर्चुगल, दुबई, कतार,मलेशिया, श्रीलंका र भारतमा धेरै युवतीहरु बेचिने गरेका छन् । हटलाईनमार्फत परेको १२० उजुरी मध्ये मानव बेचबिखनका ५ वटा उजुरी परेका छन् । पाँचवटा उजुरी मध्ये १४ जना पिडीत छन् । ‘मानव बेचविखनका ८ जना अभियुक्तहरुलाई हामीले पक्राउ गरिसकेका छौं’ डिएसपी मरासिनीले भने, ‘दुईओटा जबर्जस्ती करणीको अभियुक्तलाई पनि हामीले पक्राउ गरिसकेका छौं ।’
युवतीहरुलाई दलाल र मेनपावरले केयर टेकरमा काम गर्नुपर्ने भन्दै नेपालबाट पठाउने गरेपनि अर्को मुलुकमा पुगेपछि शारिरीक सम्पर्क गर्न खोज्ने र त्यसो गर्न अस्विकार गर्दा पिटाई खाने समस्या धेरै रहेको महाशाखाले जनाएको छ । ‘यहाँबाट एउटा कामको लागि भनेर लैजाने उता पुगेपछि शरीर बेच्न बाध्य बनाउनेलाई कानुनी दायरामा ल्याउँछौं’, एसएसपी खनालले भने, ‘दलालहरुले अर्को मुलुकमा पुगेपछि युवतीहरुलाई कतै रिपोर्ट गरेमा ‘तिमीहरुलाई ठिक पार्छौं’ भन्दै धम्क्याउने गरेको पनि पाइयो ।’
खाडी मुलुकमा धेरै तलव पाउने आश्वासन दिएर लैजाने युवतीहरुलाई दिनभर एउटा काममा लगाएर बेलुका अनैतिक काम गर्न बाध्य बनाउने गरेको एसएसी खनालले बताए । उनले भने, ‘यसले घरेलु हिंसा र यौनहिंसा बढेको पाइयो ।’
कल्पना लिम्बुः मकाउ पुग्दा पैसा भन्दा धेरै पिटाईधरानकी कल्पना लिम्बु (नाम परिवर्तन) लाई सुदर्शन थापाले मासिक ६५ हजार कमाई हुन्छ भन्दै मकाउ पुर्याए । सुदर्शनले कल्पनालाई भनेका थिए, ‘तिमी टाउनमा बस्ने हो, घरको काम गर्नुपर्छ तलब पुरै जोगिन्छ ।’
सुदर्शनले भनेजस्तो त्यहाँ भएन्, मकाउ पुग्दा कल्पनाले पैसा भन्दा धेरै पिटाई खान बाध्य भइन् । ‘सुदर्शनले उता लगेर चाईनिजको जिम्मा लगाएका रहेछन्’ डिएसपी मरासिनीले भने, ‘अनैतिक काम गर्न लगाएर यातना दिएको उजुरी परेपछि हामीले उद्धार गरेर नेपाल ल्यायौं ।’
प्रहरीका अनुसार घरको कामको साथसाथै घरधनीले कल्पनासँग शारिरीक सम्पर्क गर्न बाध्य पारेर यातना समेत दिने गरेको थियो । पछि एनआरएनको सहयोगमा इन्टरपोल मार्फत अपराध महाशाखाले कल्पनाको उद्धार गरेको धेरै दिन भएको छैन ।‘विदेशमा साह्रो भयो सर, झुण्डिन मन लाग्यो’ केहि दिनअघि अपराध महाशाखाको हटलाईन नम्बरका खाडीबाट एउटा युवाले फोन गरेर भने, ‘कम्पनीले साह्रै दुःख दियो, भनेअनुसार काम पनि पाईएन तलव दिएको छैन ।’ नेपालमा परिवारको बिजोग छ भन्दै ति युवाले झुण्डिन लागेको सन्देश सुनाएपछि प्रहरीले उनलाई जसरी पनी नेपाल आउने बातावरण बनाईदिने आश्वासन दियो । ‘उनलाई पठाउने मेनपावरलाई बोलाएर हामीले तुरुन्त नेपाल बोलाउन आग्रह गर्यौं’ एसएसपी खनालले भने, ‘सरकारी प्रक्रिया मिलाउन हामीले सहयोग गरयौं, आर्थिक भार मेनपावरले ब्यहोर्ने भएपछी ति युवालाई झुण्डीनबाट जोगायौं ।’
हलटाईन सेवा शुरु गरेपछि अपराध महाशाखामा विदेशीका युवा–युवतीहरुको थरी–थरीका उजुरी गर्ने गरेका छन् । नेपालबाट मेनपावर कम्पनीले एउटा काम गर्ने भनेर लैजाने उता अर्को काममा लगाएका, हस्पिटल जान नपाएका,जेल परेका, गएको एक–दुई दिनमै फकिर्न खोज्ने, तलव नपाएको जस्ता धेरै उजुरी अहिले महानगरीय प्रहरी अपराध महाशाखामा पर्ने गरेका छन् । ‘जायज उजुरी उपर तिब्र कारवाही शुरु गरेका छौं’ एसएसपी खनालले भने, ‘किनकी यहाँबाट ऋण गरेर गएको एउटा युवा विदेशमा हस्पिटल जानबाट बन्चित भएका छन्, यस्तो रोकिनुपर्छ ।’
विदेशमा दुःख पाएका हरुलाई सम्वन्धीत मेनपावर, विदेशमा क्रियाशिल संघ–संस्था र एनआरएनको सहयोगमा नेपाल फर्कीने वातावारण बनाईने महाशाखाले जनाएको छ । हटलाईन सेवा शुरु गरेपछी महाशाखाले ५८ जनाई विदेशबाट उद्धार गरेको छ । तिमध्ये १९ जना महिला र ३९ जना पुरुष रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण