शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

लेन मिच्ने होसियार ! प्रहरीले ल्यायो ‘बडी ओन एक्सन’ क्यामेरा

मङ्गलबार, १६ चैत २०७२, १६ : ००
मङ्गलबार, १६ चैत २०७२

काठमाडौं – उपत्यकाको ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै ट्राफिक हेर्डक्वाटरले ‘बडी ओन एक्सन’ क्यामेरा संचालनमा ल्याएको छ । सडकमा लेन अनुशासन मिच्ने चालकलाई कारबाही गर्न ट्राफिक प्रहरीले विशेष टोली खटाएर ५ वटा ‘बडी ओन एक्सन’ क्यामेरा भोलिदेखि संचालनमा ल्याउनेछ । पहिलो चरणमा दरबारमार्ग, थापाथली, बानेश्वर, सिंहदरबार र न्युरोड गेटबाट यो क्यामेरा संचालन गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी प्रभागका प्रहरी निरिक्षक सुनिलजंग शाहले बताए । प्रहरी निरीक्षक र प्रहरी जवान कुमार न्यौपानेले ‘बडी ओन एक्सन’ क्यामेराको उद्घाटन गरेका थिए । ‘यो क्यामेरा शरीरमा जडान गरी मोटरसाइकलमा समेत विशेष टोली बनाएर खटाइने छ,’ उनले भने, ‘अर्काको लेन प्रयोग गर्ने प्रवृत्ति रोक्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष अभियान सुरु गर्न लागेको हो । एक महिनासम्म क्यामेराबाट के कति प्रभाव पर्छ, सकारात्मक नतिजा आयो भने पछि महानगरीय प्रहरी कार्यालयबाट थप क्यामेराको लागि पहल गरिनेछ ।’ एक्सन क्यामेरा ट्राफिक प्रहरीको शरीरमा हुनेछ, जसले लेन अनुशासनलगायत अन्य ट्राफिक नियम मिचेको भिडियो तथा फोटो खिच्दछ । लेन अनुशासन कारबाहीमा प्रायः चालक र ट्राफिक प्रहरीबीच विवाद हुने भएकाले भिडियो नै खिचेर कारबाही गर्न लागिएको हो । चेकजाँच गर्दा अपशब्द प्रयोग गर्नेहरुको लागि यो क्यामेराले महत्वपूर्ण भूमिका खेल्नेछ । क्यामेराको विशेषता  यो क्यामेरा अमेरिकामा बनेको हो । पानी परेको बेलामा पनि सजिलै गएर अडियो भिडियो खिच्न सकिनेछ । ४० जिबीको मेमोरी कार्ड रहेको उक्त क्यामेराले ५ मिटर परसम्म बोलेको अडियो सहजै सुन्न पाइन्छ । २० मिटर परसम्मको भिडयो पनि राम्रोसँग हेर्न सकिने शाहले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप