शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

फेसबुकमा इस्लामी उग्रपन्थीको विरोध गर्ने विद्यार्थीको हत्या

बिहीबार, २५ चैत २०७२, १६ : २३
बिहीबार, २५ चैत २०७२

ढाका – बंगलादेशमा इस्लामी उग्रपन्थीहरुको विरोध गर्दै सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने एक विद्यार्थीको हत्या गरिएको छ । पछिल्लो समय बंगलादेशमा धर्म निरपेक्षताको पक्षमा वकालत गर्ने अधिकारकर्मी तथा ब्लगरहरुको श्रृंखलाबद्ध रुपमा हत्या भइरहेको छ । २६ वर्षीय नजिमुद्दिन समादमाथि बुधबार राती उनैको विश्वविद्यालय अगाडि आक्रमण भएको थियो । ‘यो सुनियोजित आक्रमण थियो । तर, हालसम्म कुनै समूहले यसको जिम्मेवारी लिएको छैन,’ ढाका प्रहरीका डेप्युटी कमिस्नर सायेद नुरुल इश्लामले भने । ‘कम्तीमा ४ जना आक्रमणकारीले धारिलो हतियार प्रयोग गरेर समादको टाउको काटेका थिए । जब उनी जमिनमा ढले एकजनाले उनीमाथि नजिकैबाट गोलीसमेत प्रहार गरे । उनको घटनास्थलमा नै मृत्यु भयो,’ उनले भने । ढाकाको जगन्नाथ विश्वविद्यालय बाहिर बसिरहेको बेला आक्रमणकारीले ‘अल्लाह हु अकबर’ चिच्याउँदै आक्रमण गरेको ढाका ट्रिब्युनले जनाएको छ । उनी सो विश्वविद्यालयमा कानुनका विद्यार्थी थिए ।

समादले फेसबुकमा चरमपन्थी इस्लामको विरोध गर्दै कयौं स्स्टाटस पोस्ट गरेका थिए । उनले विशेष गरेर इस्लामले महिलाप्रति व्यक्त गर्ने दृष्टिकोणको खुलेर विरोध गर्थे । पछिल्लो समय एक मुस्लिम धर्म गुरु ५ वर्षीय बालकमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेपछि उनले त्यसको पनि मजाक उडाएका थिए । समाद हालै मात्र कानुन पढ्नका लागि बंगलादेशको उत्तरपूर्वी सहरबाट ढाका आएका थिए । बंगलादेशको सबैभन्दा ठूलो धर्मनिरपेक्षता पक्षधरहरुको अनलाइन समूह बंगलादेश ब्लगर एसोसिएसनको नेतृत्व गर्ने इम्रान सरकारका अनुसार समाद्ले सन् २०१३ मा यो समूहमा आबद्ध भएका थिए । गत वर्ष कम्तिमा ४ जना अधिकारकर्मी र ब्लगरको हत्या भएको थियो । उक्त मामिलामा प्रहरीले प्रतिबन्धित अन्सारुल्लाह बंगला टोलीका सदस्यहरुलाई पक्राउ गरे पनि मुद्दाको हालसम्म फैसला भएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप