शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बलुचिस्तानमा सुरक्षा बलमाथि आक्रमण, ४५ पाकिस्तानी सैनिक मारिएको दाबी

शुक्रबार, ०१ साउन २०८३, १६ : १९
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) ले पाकिस्तानको बलुचिस्तान प्रान्तमा सुरक्षा बलको काफिलामाथि भएको आक्रमणमा ४५ पाकिस्तानी सैनिक मारिएको दाबी गरेको छ ।
  • बीएलएका प्रवक्ता जियान्द बलोचले जारी गरेको विज्ञप्तिमा सङ्गठनको फतेह स्क्वाडले सुरक्षा काफिला, त्यसको सुरक्षा टोली तथा घटनास्थलमा पुगेका थप सैन्य बललाई लक्षित गरी समन्वित आक्रमण गरेको उल्लेख गरेका छन् ।
  • यो आक्रमण पछिल्ला दुई साताभित्र बलुचिस्तानमा सुरक्षा बलमाथि भएको तेस्रो ठुलो हमला हो र यस घटनाको अनुसन्धानका लागि पाकिस्तान सरकारले चार सदस्यीय छानबिन समिति गठन गरेको छ ।

इस्लामवाद । विद्रोही सङ्गठन बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) ले पाकिस्तानको अशान्त बलुचिस्तान प्रान्तमा सुरक्षा बलको काफिलामाथि भएको आक्रमणमा ४५ पाकिस्तानी सैनिक मारिएको दाबी गरेको छ ।

भारतीय सञ्चारमाध्यम द प्रिन्टले बलुचिस्तान पोस्टलाई उद्धृत गर्दै जनाएअनुसार, बिहीबार मस्तुङ क्षेत्रमा गरिएको आक्रमणको जिम्मेवारी बीएलएले लिएको हो । पाकिस्तानी सेनाले आक्रमण भएको पुष्टि गरे पनि हालसम्म हताहतको आधिकारिक विवरण सार्वजनिक गरेको छैन ।

बीएलएका प्रवक्ता जियान्द बलोचले जारी गरेको विज्ञप्तिमा सङ्गठनको फतेह स्क्वाडले सुरक्षा काफिला, त्यसको सुरक्षा टोली तथा घटनास्थलमा पुगेका थप सैन्य बललाई लक्षित गरी समन्वित आक्रमण गरेको उल्लेख गरेका छन् । उनले विज्ञप्ति जारी गर्दासम्म पनि दुवै पक्षबिच भिडन्त जारी रहेको र मृतक तथा घाइतेको सङ्ख्या अझ बढ्न सक्ने दाबी गरेका छन् ।

यो आक्रमण पछिल्ला दुई साताभित्र बलुचिस्तानमा सुरक्षा बलमाथि भएको तेस्रो ठुलो हमला हो । यसअघि जियारत जिल्लाको माङ्गी ड्याम क्षेत्रमा भएको समन्वित आक्रमणमा २७ प्रहरी र लासबेलामा ११ सैनिक मारिएका थिए ।

ती घटनापछि पाकिस्तानी सेनाले यसै साता ‘अपरेसन शाबान’ सुरु गरेको छ । उक्त अभियानमा सेना, फ्रन्टियर कोर्प्स, बलुचिस्तान प्रहरी तथा गुप्तचर निकाय र हवाई सहायता परिचालन गरिएको बताइएको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद सरिफ चौधरीले आक्रमणका जिम्मेवारलाई खोजेर कारबाही गरिने चेतावनी दिएका छन् । उनले सैन्य कारबाही कडा र निर्णायक हुने बताएका छन् । बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठुलो तर कम जनसङ्ख्या भएको प्रान्त हो ।

प्राकृतिक स्रोत साधन माथिको अधिकार र बढी राजनीतिक स्वायत्तताको माग गर्दै यहाँ दशकौँदेखि पृथकतावादी विद्रोह जारी छ । चीनको लगानीमा विकसित ग्वादर बन्दरगाह तथा प्रान्तको रणनीतिक अवस्थिति पनि यस क्षेत्रलाई सुरक्षा र आर्थिक दृष्टिले संवेदनशील बनाउने प्रमुख कारण मानिन्छ । 

यस घटनाको अनुसन्धानका लागि पाकिस्तान सरकारले चार सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिले आक्रमणको घटनाक्रम, सम्भावित कमान्ड कमजोरी, सुरक्षा व्यवस्थाको समीक्षा तथा विभिन्न सुरक्षा निकायबिचको समन्वयमा भएको त्रुटिको अनुसन्धान गर्ने बताइएको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप