शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

विपन्नको आयस्रोत बन्यो महाकालीको बालुवा

बिहीबार, २५ चैत २०७२, १७ : ३४
बिहीबार, २५ चैत २०७२

भीमदत्तनगर– कैलालीको धनगढी उपमहानगरपालिका–७ बेलीका लाहान चौधरीको दम्पती महाकाली नदीमा बालुवा छानिरहेको अवस्थामा भेटियो । घरमा १२ वर्षीया छोरीको भरमा तीन छोराछोरी छाडेर बालुवा छान्न आएको चौधरी दम्पतीको सात महिना बितिसक्यो ।

“जग्गा पनि छैन, छोराछोरीलाई पढाउन हुन्छ भनेर दुवैजना यहाँ आएर बालुवा, गिट्टी छानेर बसिरहेका छौँ ।” महाकाली नदीको बगरमा अस्थायी टहरा बनाएर बस्दै आएका चौधरीले भने – “हामी कैलालीबाट महाकाली नदीमा आउन थालेको सात वर्ष बितिसक्यो ।” बर्सेनि आफूहरु परिवारसहित बालुवा छान्न असोजदेखि ९दसैँपछि० जेठ महिनासम्म महाकालीको बगरमा बस्ने गरेको उहाँ बताउँछन् ।

“बर्सेनि आठ महिनाभन्दा बढी समय महाकालीको बालुवा छानेर परिवारको लालनपालन गर्छु ।” चौधरीले भने – “बालुवा छानेरै छोराछोरी स्कुल जाँदैछन् ।” छोराछोरीलाई घरमा स्याहारको आवश्यकता परे पनि दम्पतीसहित महाकालीमा बालुवा छान्नु आफ्नो बाध्यता रहेको उनीहरुको भनाइ छ ।

दिनभर बालुवा छानेर रु एक हजार २०० सम्म कमाइ हुने उनको भनाइ छ । “दैनिक ट्याक्टर÷ट्रक बालुवा, गिट्टी लिन महाकालीमा आउँछन् ।” चौधरीले भने – “एक ट्रली बालुवा रु एक हजारसम्ममा बिक्री गर्छौँ ।” आउँदो जेठ महिनासम्म ९बर्खा नलागुन्जेल० बालुवा छानेर कमाइ गर्ने उनीहरुको योजना छ ।

“छोराछोरीसित टेलिफोनबाट भलाकुसारी हुन्छ” चौधरीले भने । जग्गाका नाउँमा परिवार राख्ने घडेरीमात्रै रहेको बताउँदै चौधरीले साहुको जग्गा कमाएर आम्दानी नहुने देखेपछि महाकालीमा आइपुगेको बताउनुभयो । “दिनभर बालुवा छान्न सके, साँझ पैसा बोकेर टहरामा सुत्न जान मन लाग्छ ।” उनले भने – “हामीले यही बगरमा जीवन विताएकै छौँ । गाउँका अन्य कमाउन भारत र अन्य देशमा गइरहेका हुन्छन्, हाम्रो त महाकालीको बालुवासित भविष्य जोडिएको छ ।”

त्यसैगरी कञ्चनपुरको देखतभुली गाविसमा पर्ने जाई मुक्त कमैया शिविरका श्याम राना पनि श्रीमती र एक छोरासित महाकाली नदीमा बालुवा छानेरै आम्दानी गरिरहेका छ । “छोराले पढ्न सकेन, मैसित बालुवा छानेर महाकालीको बगरमा रात बिताउँदैछ ।” रानाले रासससित भने – “बगरमा मेहनतअनुसारको फल मिलेकै छ, हाम्रा लागि गिट्टी छान्नु भनेकै रोजगारी गर्नु हो ।”

कमैया मुक्त भएपछि सरकारले उपलब्ध गराएको पाँच कट्ठा जमिन भए पनि त्यो जग्गाको परिश्रमले परिवार पाल्न गाह्रो भएपछि आफू परिवारसहित महाकालीमा बर्सेनि बालुवा, गिट्टी छानेर बिक्री गरिरहेको रानाको भनाइ छ ।

“बगरमै बालुवा छानेर थुपारेपछि यही बिक्री भइहाल्छ,” रानाले भने – “एक दशकदेखि यहाँ बालुवा छानेर परिवारको खर्च चलाएको छु ।” आफू विगत एक दशकदेखि महाकालीमा सो काम गरेर वार्षिक रु एक लाखभन्दा बढी आम्दानी गर्दै आएको राना बताउँछन् । “पढ्ने लेख्ने उमेरमा कमैया बस्नु प¥यो ।” उनले भने – “अहिले कसले हामीलाई नोकरी दिन्छ रु”

कैलालीका लाहान र कञ्चनपुरका श्याममात्रै होइन, यतिखेर महाकाली नदी किनारका सयौँ स्थानीयवासीको आम्दानीको स्रोत महाकाली नदीको बालुवा, गिट्टी र ढुङ्गा बनेको छ । जिल्ला विकास समितिले ठेकेदार कम्पनीलाई महाकाली नदीको बालुवा, गिट्टी र ढुङ्गा सङ्कलनका लागि टेन्डरमार्फत स्वीकृतिसमेत दिएको छ । “महाकाली छेउछाउ बस्तीका बासिन्दाको आर्थिक अवस्था कमजोर भएकाहरुको आम्दानीको स्रोत नै महाकालीको बालुवा, गिट्टी हो,” भीमदत्तनगरपालिका–११ का हरिप्रसाद जोशीले भने ।

भीमदत्तनगरपालिका–११ भुजेलादेखि दक्षिण पिपरियास्थित महाकाली नदीको दोधारा–चाँदनी झोलुङ्गे पुलको बीचको क्षेत्रमा बालुवा, गिट्टी र ढुङ्गा सङ्कलन तथा खरिद बिक्री व्यापक रुपमा भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप