शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

ग्यास बिक्रेताले बढी मूल्य लिएको गुनासो

शुक्रबार, २६ चैत २०७२, १० : २९
शुक्रबार, २६ चैत २०७२

खोटाङ – जिल्लाका ग्यास व्यापारीले उपभोक्ताबाट बढी मूल्य लिने गरेको पाइएको छ । जिल्लाका व्यापारीले एक सिलिन्डर ग्यासमा उपभोक्ताबाट २०० रुपैयाँ बढी मूल्य लिने गरेको पाइएको हो ।

जनकपुरबाट एक हजार ४०० मा खरिद गरेर ल्याएको एक सिलिन्डर ग्यास खोटाङमा दुई हजारमा खरिद तथा बिक्री हुने गरेको छ । जिल्लामा नोवेल, रिजाल र कन्काई गरी तीन प्रकारका ग्यासका डिलर छन् । तीनवटै डिलरले जिल्लाका विभिन्न ठाउँमा सब–डिलर (बिक्री केन्द्र) खोलेर बिक्री गर्ने गरेका छन् । मुख्य डिलरले सब–डिलरलाई रु एक हजार ८०० मा दिने गरेको र उनीहरुले दुई हजारमा बिक्री गर्ने गरेका छन् ।

सब–डिलरसँग मिलेर मुख्य बिक्रेताले पनि दुई हजारमै बिक्री गर्ने गरेको उपभोक्ताले बताएका छन् । “रु एक हजार ८०० मा बिक्री गर्दा पनि फाइदा नै हुने रहेछ”, एक उपभोक्ताले भने, “सब–डिलरले पाउने भाउमा हामीले पनि पाउनुप¥यो ।” ढुवानीमा समस्या हुने र लोडअनलोडमा बढी खर्च हुने भएकाले दुई हजारमा बिक्री गर्नु परेको नोवेल कम्पनीका बिक्रेता होमराज थापाले बताउनुभयो । “ग्यास ढुवानीमा धेरै समस्या छन्”, उनले भने, “विभिन्न समस्याका बाबजुद उपभोक्ताको समस्यालाई मध्यनजर गरेर ग्यास भित्र्याउने गरिएको छ ।”

ग्यास ढुवानीमा जनकपुरबाट उदयपुरको कटारीसम्म कम्पनीले नै भाडा तिर्ने गरेको कम्पनीका भैरवभक्त क्षेत्रीले बताउनुभयो । गत वर्षमा सबै प्रकारका ग्यास एक हजार ७५० देखि एक हजार ८०० सम्ममा खरिद तथा बिक्री हुने गरेको थियो । जिल्लामा बिक्री भइरहेको ग्यासको मूल्य बढी नै भएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताए । “व्यापारको नाममा उपभोक्तालाई ठग्न पाइन्न”, उनले भने, “यस विषयमा व्यापारीसँग बसेर छलफल गर्नेछु ।”

जिल्लामा यस वर्ष विभिन्न बहानामा प्रतिसिलिन्डर रु तीन हजारसम्ममा बिक्री गर्ने गरेको पाइएको छ । जिल्लामा प्रयोग हुँदै आएको नोवेल ग्यास प्रतिसिलिन्डर डेढ किलोसम्म कम तौल भएको पाइएको छ । जिल्लामा बिक्री हुने कतिपय सिलिन्डर लिक भइरहने गरेको समेत पाइएको छ ।

आफूले खरिद गरेर ल्याएको सिलिन्डर लिक भइरहेकाले फिर्ता गर्नुपर्ने समस्या रहेको उपभोक्ताको भनाइ छ । यस विषयमा तत्काल व्यवसायीसँग छलफल गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने प्रजिअ चन्द्रबहादुर कार्कीले बताए । “म भर्खरै सरुवा भएर आएको छु”, उनले भने, “सबै कुरा थाहा नभएकाले बुझेर कारबाहीको प्रक्रिया अगाडि बढाउनेछु ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप