शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्‍यो विवरण

उपचार खर्च एन्फाले नै बेहोर्ने, खाता रोक्का हुँदा भुक्तानीमा समस्या
शुक्रबार, ०१ साउन २०८३, १६ : ५६
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • अखिल नेपाल फुटबल संघ (एन्फा) ले १७ महिनादेखि चोटग्रस्त खेलाडी आशिष राईको सम्पूर्ण उपचार र पुनर्स्थापनाको जिम्मेवारी आफूले लिएको स्पष्ट पारेको छ ।
  • सन् २०२५ फेब्रुअरी १५ मा चिनियाँ टोलीसँगको खेलमा देब्रे खुट्टामा गम्भीर चोट लागेका आशिषको नेपाल र चीनमा शल्यक्रिया तथा उपचार गरिएको थियो ।
  • एन्फाको खाता रोक्का हुँदा थप उपचारमा प्राविधिक अड्चन आए पनि निलम्बन फुकुवा हुनेबित्तिकै भुक्तानी र उपचार प्रक्रिया अघि बढाइने संघले जनाएको छ ।

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विगत १७ महिनादेखि चोटग्रस्त यु–२३ राष्ट्रिय टोलीका खेलाडी आशिष राईको उपचार र पुनर्स्थापनाको सम्पूर्ण जिम्मेवारी आफैँले लिँदै आएको स्पष्ट पारेको छ । 

खेलमैदानमा भएको दुर्घटनादेखि हालसम्मको उपचारमा सहयोग गर्दै आएको एन्फाले खेलाडी पूर्ण रूपमा निको नभएसम्म लाग्ने आगामी सबै खर्च समेत बेहोर्ने प्रतिबद्धता जनाएको छ ।

सन् २०२५ फेब्रुअरी १५ मा चिनियाँ टोली (युनान) विरुद्धको मैत्रीपूर्ण खेलका क्रममा आशिषको देब्रे खुट्टामा गम्भीर चोट लागेको थियो । खेलमैदानबाट तत्काल उनलाई स्टार हस्पिटल पुर्‍याइएको र एक्सरेमा जटिलता देखिएपछि थप उपचारका लागि बीएन्डबी अस्पताल रिफर गरिएको थियो ।

बीएन्डबी अस्पतालमा प्रा. डा. अमित जोशीको प्रत्यक्ष रेखदेखमा उनको पहिलो शल्यक्रिया भयो । पछि ‘कम्पार्टमेन्ट सिन्ड्रोम’ को समस्या देखिएपछि उनको दोस्रो शल्यक्रिया समेत सफलतापूर्वक सम्पन्न गरिएको थियो । अस्पतालबाट डिस्चार्ज भएपछि आशिषलाई निरन्तर एन्फा होस्टेलमा राखेर पुनर्स्थापना (रिहाब) गराउनुका साथै डा. जोशीसँग नियमित फलोअप गराइएको थियो ।

नेपालको प्रारम्भिक उपचारपछि एन्फाको पहल र चिनियाँ दूतावासको समन्वयमा आशिषलाई थप उपचारका लागि करिब ६ महिना चीनको युनान पठाइएको थियो । चीनबाट फर्केपछि पनि उनलाई सुविधासम्पन्न होटलमा राखेर नेपालका उत्कृष्ट रिहाब सेन्टरहरूमा उपचार र पुनर्स्थापनाको कार्यलाई निरन्तरता दिइयो ।

थप विशिष्ट उपचारका लागि सन् २०२६ अप्रिल ३० मा उनलाई थाइल्यान्डको प्रतिष्ठित बैंकक अस्पताल पठाइयो । सो समयमा एन्फाले उपचार खर्चबापत १० लाख रुपैयाँ निकासा गरेको थियो । सन् २०२६ मे महिनामा बैंकक अस्पतालका डाक्टरहरूले १ महिना थाइल्यान्डमा उपचार गरेपछि बाँकी रिहाब नेपालमै गर्न सकिने रिपोर्ट दिएका थिए ।

चिकित्सकहरूका अनुसार आशिषको देब्रे खुट्टाको हड्डी निको हुने क्रममा रहे पनि खुट्टामा रहेको मेटल प्लेट निकाल्न अझै कम्तीमा १ वर्ष लाग्नेछ र त्यसपछि मात्र उनी खेलमा फर्किन मिल्ने वा नमिल्ने तय हुनेछ ।

  • खाता रोक्का हुँदा थप भुक्तानीमा प्राविधिक अड्चन

थाइल्यान्डका चिकित्सकले नेपालमै रिहाब गर्न सुझाव दिए पनि आशिषले नेपालमा उपचार गर्न अनिच्छा देखाएपछि उनको माग बमोजिम एन्फाले थप उपचार थाइल्यान्डमै गराउने पहल सुरु गरेको थियो । खेलाडीको माग अनुसार एन्फा महासचिवबाट थप रकम निकासाका लागि तोकादेश समेत भइसकेको थियो ।

तर, सोही समयमा एन्फा अन्तर्राष्ट्रिय निलम्बनमा पर्न गएको र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्देशन बमोजिम संघका सम्पूर्ण कार्यबाही तथा आर्थिक कारोबारहरू (बैंक खाता) पूर्ण रूपमा बन्द भएका कारण बिरामी खेलाडीलाई तुरुन्तै थप आर्थिक सहयोग पठाउन प्राविधिक समस्या उत्पन्न भएको हो ।

एन्फाले आशिष राई र सम्पूर्ण खेलाडीहरूप्रति आफ्नो दायित्वबाट विमुख नहुने स्पष्ट पारेको छ । विगत १७ महिनादेखिको सम्पूर्ण खर्च बेहोरेको संघले आगामी दिनमा पनि उपचार खर्चको जिम्मेवारी लिने जनाएको छ ।

एन्फाले प्रतिबद्धता व्यक्त गर्दै भनेको छ, ‘आशिष राईको सम्बन्धमा संघको निलम्बन सम्बन्धी कानुनी एवं प्रशासनिक समस्या समाधान हुनासाथ रोकिराखेको बक्यौता भुक्तानी र थप उपचारको प्रक्रिया तत्काल अघि बढाइनेछ ।’

उनलाई पुनः खेल मैदानमा फर्काउन संघले गर्नु पर्ने सम्पूर्ण कर्तव्य पूरा गर्न आफूहरू प्रतिबद्ध रहेको एन्फाले उल्लेख गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप