शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

२०७२ मा व्यापारिक क्षेत्र : यी हुन्– भूकम्प र नाकाबन्दीको प्रभावमा परेका १२ क्षेत्र

बुधबार, ०१ वैशाख २०७३, ०९ : ०८
बुधबार, ०१ वैशाख २०७३

काठमाडौं– २०७२ सालको दोस्रो सातामै विनाशकारी भूकम्प गएपछि वर्षभरि नै विभिन्न व्यापारिक क्षेत्र प्रभावित भए । जनशक्ति अभाव, भत्किएको पूर्वाधारलगायत विभिन्न कारणले २०७२ नेपालका अधिकांश व्यापारीका लागि अशुभ रह्यो । भूकम्पपछि केही सामान र सेवाको माग ह्वात्तै बढेपछि त्यस्ता वस्तु वा सेवाको व्यापार बढे पनि समग्रमा २०७२ व्यापारीका लागि उपलब्धिमूलक हुन सकेन । भूकम्पपछि त्रिपाल, जस्तापाताजस्ता सामान, चाउचाउ, बिस्कुट, चामल, अन्य खाद्यान्नको माग ह्वात्तै बढ्यो भने कस्मेटिक सामान, जुत्ता, फर्निचरलगायतका सामानको व्यापार घट्यो । सेवाको हकमा भने केही सेवामुखी व्यवसायबाहेक सबै–सबै व्यवसाय प्रभावित बनेका छन् । भूकम्पकै कारण केही व्यवसाय त धरापमा समेत परेका छन् । भूकम्पपछि रेमिट्यान्सबाट तुलनात्मक रूपमा बढी पैसा नेपाल भित्रिए पनि उक्त रकम व्यापारिक प्रयोजनका लागिभन्दा सामान्य जनजीवनका लागि प्रयोग हुँदा नेपाली व्यापार व्यवसायमा त्यसले निकै असर गर्यो । यस्ता छन्– भूकम्पको प्रभावमा परेका १२ व्यापारिक क्षेत्र :

१. इलेक्ट्रोनिक्स सामानको व्यापार निकै घट्यो  भूकम्पपछि २०७२ मा इलेक्ट्रोनिक्स सामानको व्यापार घट्यो । भूकम्पपछि भारतले गरेको अघिषित नाकाबन्दीका कारण ग्यास र मट्टीतेल अभाव हुँदा नेपाली बजारमा स्टकमा रहेका राइसकुकर, इन्डक्सन कुकरलगायतका सामानको माग उच्च रहे पनि नेपाली बजारमा रहेका सीमित स्टक र बढ्दो लोडसेडिङका कारण उक्त सामग्रीको व्यापार उल्लेखनीय हुन सकेन । भूकम्पपछि कम्प्युटर, ल्यापटप, मोबाइलजस्ता सामानको व्यापार पनि निकै घटेको छ । पुतलीसडकमा इलेक्ट्रोनिक्स व्यवसाय गरिरहेका व्यापारी निरञ्जन सिग्देल भन्छन्, ‘धेरैपछि व्यापारमा यस्तो ह्रास आएको हो । जनतासँग भएको पैसा सामान्य जनजीवन धान्नका लागि नै प्रयोग भएका कारणले पनि मोबाइल, ल्यापटपलगायतका सामानको व्यापार निकै घटेको छ ।’ नयाँबानेश्वरका अर्का व्यापारी सुमन श्रेष्ठ भन्छन्, ‘फ्रिज, माइक्रो ओभनलगायतका सामग्रीको व्यापार अघिल्लो वर्षको रुलानामा निकै घटेको छ ।’ भूकम्पका कारण ग्राहकसँग भएको पैसा अन्यत्रै लगानी भएकाले यस्ता सामानको माग २०७२ मा निकै घटेको उनको तर्क छ । २. पर्यटन व्यवसाय ओह्रालो भूकम्पपछि प्रभावित बनेका धेरै व्यवसायमध्येको एक हो– पर्यटन व्यवसाय । भूकम्पपछि नेपालको स्थितिबारे भएका केही गलत प्रचारका कारण पनि पर्यटन व्यवसाय निकै प्रभावित बन्यो २०७२ सालमा । काठमाडौंका केही पाँचतारे होटलसमेत बन्द भए भने काठमाडौंलगायत देशका विभिन्न सहरमा रहेका पर्यटकीय क्षेत्रमा ठूलो क्षति हुँदा त्यसको असर पूरै पर्यटन व्यवसायीलाई पर्यो । यता, भूकम्पकै कारणले बाह्य पर्यटनमात्र होइन, आन्तरिक पर्यटनसमेत प्रभावित रह्यो । देशभित्रै घुम्ने पर्यटकको संख्या पनि निकै घट्यो । विगतका वर्षहरूको तुलनामा यसपालि धेरै महोत्सव हुन नपाउँदा आन्तरिक पर्यटन निकै खस्क्यो भने नेपाल आउने पर्यटकलाई लक्षित गर्दै बनाइने सामान र खुलेका सेवा पनि प्रभावित भए । देशमा भएका पर्यटकीय गन्तव्य र पर्यटक बस्ने होटललाई लिएर नेपाल सरकारले खासै उल्लेखनीय कदम चाल्न नसक्दा त्यसको असर नेपाली पर्यटन क्षेत्रमा नराम्रोसँग पर्यो । ३. अटो क्षेत्र उस्तै प्रभावित नेपाली अटो व्यवसायीका लागि त २०७२ ‘कालो वर्ष’ जस्तै रह्यो । नयाँ गाडी किन्ने ग्राहकको संख्या निकै कम भयो भने उल्लेखनीय रूपमा गाडीको आयात गर्नसमेत सम्भव भएन । यता, गाडीका विभिन्न पाटपुर्जाको व्यापार पनि निकै घट्यो २०७२ सालमा । नेपालमा रहेका ठूला अटो व्यापारीले समेत उल्लेखनीय नाफा कमाउन सकेनन् । अटोसम्बन्धी केही मेला भए पनि ती मेलाले नयाँ गाडी किन्ने उल्लेखनीय ग्राहक किन्न सकेनन् । ग्राहकसँग रहेको पैसा विलासी सामानका लागि भन्दा पनि आफ्नो दिनचर्याका लागि चाहिने सामग्री तथा घर बनाउन खर्च भएका कारण पनि अटो क्षेत्र निकै प्रभावित भएको अटो व्यवसायीको भनाइ छ । गाडी, मोटरसाइकल, स्कुटरलगायतकाको व्यापार विगतको तुलनामा निकै घट्यो । ४. सुन–चाँदी व्यवसायमा उतारचढाव, समग्र व्यवसाय खस्कियो : भूकम्पपछि सुन–चाँदीको व्यवसाय पनि निकै प्रभावित बन्यो । भूकम्पका कारण सुनमा लगानी गर्नेको संख्या निकै कम भएको र सुनको भाउ बढेको बेलामा बजारमा सुन नै नपाइने समस्याले सुन–चाँदी व्यवसाय पनि २०७२ मा खासै फस्टाउन सकेन । वर्षका कतिपय महिनामा त सुन पसल खोल्ने र बन्द गर्नेमात्र पनि भएको अनुभव केही सुन–चाँदी व्यवसायीको छ । विगतमा जस्तो तीज, तिहारलगायतका चाडमा यसपालि सुनको व्यापार कम भयो भने सुनको व्यापारमा केही सुधार आएको बेलामा बजारमा सुन नै अभाव भयो । भूकम्पपछि हीराको व्यापारमा पनि कम आएको व्यापारीको भनाइ छ । भूकम्पपछि हीरा किन्ने ग्राहकको संख्या निकै घटेको व्यापारीको भनाइ छ । भूकम्पका कारण धेरैजस्तो नेपालीले तीज, तिहारजस्ता चाड औपचारिकताका लागि मात्र सम्पन्न गरेकाले पनि सुन–चाँदी, हीरालगायतका गरगहनाको व्यापार निकै घटेको व्यापारीहरूको भनाइ छ । ५. लत्ताकपडाको व्यापार विगतको तुलनामा घट्यो  विगतमा दसैं, तिहारलगायतका चाडबाडमा निकै उल्लेखनीय हुने लत्ताकपडाको व्यापार पनि २०७२ मा विगतको तुलनामा निकै कम भयो । विगतमा उल्लेखनीय परिमाणमा चीन र भारतबाट लत्ताकपडा आउने गरेकोमा भूकम्पपछि चीनसँग जोडिएका कतिपय नाका बन्द हुँदा र भारतबाट आउने लत्ताकपडा भारतले गरेको अघोषित नाकाबन्दीका कारण भित्रिन नसक्दा लत्ताकपडाको व्यापार २०७२ मा निकै घट्यो । अझ काठमाडौंलगायत देशका विभिन्न प्रमुख सहरमा सञ्चालित व्यापारिक मलमा क्षति पुगेपछि अधिकांश व्यापारिक मल प्रभावित हुँदा ती मलबाट बिक्री हुने ठूलो परिमाण र रकमबराबरको लत्ताकपडा बिक्री हुन नसक्दा लत्ताकपडाको व्यापार पनि निकै घट्यो यो वर्ष । भूकम्पपछिको अवस्थामा केही चाडबाड र अत्यावश्यक हुँदाको खण्डमा बाहेक अन्य स्थितिमा लत्ताकपडा किन्ने ग्राहक नै बजारमा देखानपरेको व्यवसायीहरूको तर्क छ । यता, केही महँगा कपडा, जुत्ताको समेत व्यापार घटेको छ । विवाहको सिजनमा निकै व्यापार हुने सारी, धोती, सुट, पाइन्टलगायातका कपडाको व्यापार पनि घटेको व्यापारीहरूको भनाइ छ । ६. रियल स्टेट व्यापार ठप्प  भूकम्पका कारण सबैभन्दा प्रभावित बनेको व्यापार भनेको रियल स्टेट हो । भूकम्पपछि देशका ठूला सहरमा रहेका विभिन्न अपार्टमेन्ट खरिद बिक्री लगभग ठप्पै रह्यो । भूकम्पपछि जनतामा रहेको अपार्टमेन्टमोह खस्कँदा यसको ठूलो असर पर्यो रियल स्टेट व्यापारमा । भूकम्पपछि अपार्टमेन्ट किन्न खोज्नेको संख्यामा निकै कमी आएको र योबीचमा एकाधबाहेक अपार्टमेन्ट खरिद बिक्रीको काम नभएको रियल स्टेट व्यापारीहरूको भनाइ छ । भूकम्पपछि अपार्टमेन्टमा बस्ने कतिपय साना घर खोज्नतिर लागेकाले पनि व्यापार निकै कम भएको व्यापारीहरूको भनाइ छ । योबीचमा घर किनबेच पनि निकै कममात्र भएको रियल स्टेट व्यवसायीहरूको भनाइ छ । भूकम्पपछि घरको भाउ घटेको र जग्गाको भाउ बढेको बताउँदै समग्र व्यवसाय भने निकै खस्किएको व्यवसायीहरूको भनाइ छ । ७. निर्माण व्यवसायले पनि गति लिन सकेन  भूकम्पपछि देशका धेरै संरचना भत्किएको अवस्थामा निर्माण व्यवसायले भने गति लिने अनुमान धेरैको थियो । तर, जनशक्ति अभाव, लगानीको वातावरण नहुनुलगायतका विभिन्न कारणले नेपालमा निर्माण व्यवसायले पनि खासै गति लिन सकेन । ‘देशमा विकासे बजेट कम भयो भने भएको बजेट पनि खर्च हुन सकेन । एक त निर्माण व्यवसायमा प्रतिस्पर्धा नै बढी छ । त्यसमाथि सरकारले भूकम्पपछि पुनर्निर्माणमा उल्लेखनीय खाका ल्याउन नसक्दा निर्माण व्यवसायले पनि गति लिन सकेन,’ निर्माण व्यवसायी अजय कुँवरले रातोपाटीलाई बताए । भूकम्पपछि सरकारले निर्माण व्यवसायीसँग सहकार्य गर्न नसकेको समेत उनको भनाइ छ । उनी अगाडि भन्छन्, ‘सरकारले हामीजस्ता व्यवसायीसँग सहकार्य गर्न नसक्दा समस्या भयो । योबीचमा निर्माण व्यवसाय निकै माथि पुग्नुपर्ने थियो तर पुग्न सकेन ।’ देशका अधिकांश पुल, बाटो, घर भत्किए पनि सरकारी असहयोग र जनशक्ति अभावले समस्या पारेको उनीहरूको तर्क छ । ८. विज्ञापन व्यवसाय उस्तै प्रभावित भूकम्पपछि कुनै पनि व्यापार, व्यवसायले उल्लेखनीय प्रगति गर्न नसक्दा त्यसको सिधा मार विज्ञापन व्यवसायमा पनि पर्यो । भूकम्पपछि नयाँ सञ्चारगृह नेपाली बजारमा आउनेक्रम नघटेकाले पनि नेपाली विज्ञापन व्यवसायमा यसले निकै असर गर्यो । अझ भारतले गरेको अघोषित नाकाबन्दीपछि त देशका ब्रोडसिटदेखि रेडियो, टेलिभिजन, अनलाइनलगायतका सञ्चारमाध्यममा विज्ञापनको खडेरी नै पर्यो । योबीचमा विगतका वर्षजस्तो विज्ञापन उत्पादन, प्रसारण र प्रकाशन निकै कममात्र भयो भने विभिन्न मेला, महोत्सव कम हुँदा त्यसले पनि नेपाली विज्ञापन बजारलाई निकै असर गर्यो । भूकम्पको मारमा परेका देशका अधिकांश सञ्चारगृह विज्ञापन बजारमा आएको ह्रासले पनि निकै समस्यामा परे २०७२ सालमा । भूकम्पपछि व्यापार व्यवसायमा कमी आएपछि व्यापारी व्यवसायीले विज्ञापन कम गरेका कारण नेपाली विज्ञापन बजार निकै कमजोर रहेको विज्ञापन व्यवसायीहरूको भनाइ छ । ९. चलचित्र तथा कला व्यवसाय पनि भूकम्पको मारमा  २०७२ वैशाख ११ गते शुक्रवार प्रदर्शन थालेको र व्यापारिक हिसाबले निकै सफल हुने आशा गरिएको चलचित्र ‘रेशम फिलिली’ को सपना वैशाख १२ गते गएको भूकम्पसँगै तुहियो । त्यसपछि प्रदर्शनमा आएका केही चलचित्रले मात्र उल्लेखनीय व्यापार गरे । २०७२ मा प्रदर्शन भएका अधिकांश चलचित्रले दर्शक नै पाएनन् । भूकम्पपछि अधिकांश जनता घर बनाउने, राहत वितरण गर्ने वा जुटाउने काममा बढी केन्द्रित भएको र भूकम्पमा परेर कोही न कोही आफन्त वियोगमा रहेकाले पनि चलचित्रको व्यापार राम्रो हुन नसकेको व्यवसायीको भनाइ छ । भूकम्पबीचमा गीत, संगीतसँग सम्बन्धित व्यवसाय पनि मारमा परे । वर्षभरि अधिकांश समय सहरका कतिपय रेकर्डिङ स्टुडियो बन्द नै भए भने विगतको तुलनामा देशभरि सांस्कृतिक कार्यक्रम कम हुँदा कला व्यवसाय पनि भूकम्पको मारमा परेको जानकारहरू बताउँछन् । देशका कतिपय चलचित्र घरमा समेत क्षति पुगेकाले पनि चलचित्र व्यवसाय उल्लेखनीय हुन सकेन । १०. बैंकिङ क्षेत्रमा पनि प्रभाव  गत वैशाखमा गएको भूकम्पले नेपाली बैंकिङ तथा इन्स्योरेन्स क्षेत्रलाई पनि प्रभावित बनाएको छ । भूकम्पका कारण वैशाख १२ पछि केही दिन बैंकिङ क्षेत्र ठप्पप्रायः बनेको थियो । भूकम्पका कारण कतिपय बैंकका शाखा धेरै पछिसम्म पनि खुल्न सकेनन् भने बैंकका एटीएम मेसिनमा समस्या आउँदा बैंकिङ क्षेत्रलाई थप असर गर्यो । २०७२ मा बैंकिङ क्षेत्रमा देखिएको तरलताले पनि बैंकिङ क्षेत्रलाई नराम्ररी पिरोल्यो । भूकम्पपछि रेमिट्यान्समा वृद्धि भए पनि लगानी गर्ने वातावरण नहुँदा बैंकिङ क्षेत्र समस्याग्रस्त बन्यो । सहरका धेरै घरमा भूकम्पले पुर्याएको क्षतिका कारण घर कर्जा कममात्र निकासी भए भने अटो कर्जालगायतका अन्य कर्जा लिन खोज्नेको संख्या नै घट्यो । ११. यातायात व्यवसाय भूकम्पले भन्दा नाकाबन्दीले बढी प्रभावित  २०७२ सालमा निकै प्रभावित बनेको अर्को व्यवसाय हो– यातायात व्यवसाय । यद्यपि, यातायात व्यवसाय भने भूकम्पले भन्दा पनि नाकाबन्दीले बढी प्रभावित रह्यो । भारतले गरेको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ अभाव भएपछि त्यसको ठूलो मार यातायात व्यवसायमा परेको हो । इन्धन अभावले केही समय नेपाली सडकमा जोर बिजोर प्रणालीसमेत लागू भएको थियो । नेपालको कुल इन्धन आयातको करिब दुईतिहाइ अंश रहेको वीरगन्ज नाकाबाट इन्धन आपूर्ति भएपछि देशभरि रहेका यातायातका सबै साधन सञ्चालन हुन सकेनन्, जसकारण यातायात व्यवसायीले ठूलो क्षति बेहोर्नुपर्यो । समय–समयमा इन्धन संकट हुने गरेको भए पनि भारतले गरेको नाकाबन्दीका कारण निकै अप्ठ्यारो भएको र हालसम्ममा यातायात व्यवसायमा भएको यो सबैभन्दा ठूलो क्षति भएको व्यवसायीको भनाइ छ । १२. साना तथा घरेलु व्यवसाय पनि मर्कामा  गत वैशाखमा आएको विनाशकारी भूकम्पका कारण साना तथा घरेलु व्यवसाय पनि मर्कामा परेका छन् । सानो पुँजीमा काम गर्ने व्यवसायी पनि भूकम्पका कारण मारमा परेका हुन् । भूकम्पका कारण देशभरि विभिन्न व्यापारिक क्षेत्रमा असर परेपछि त्यसो थप असर साना तथा घरेलु व्यवसायमा परेको हो । सानो पुँजीमा सुरु भएका कलकारखाना एकातर्फ भूकम्पका कारण वस्तु तथा सेवाको माग कम भएपछि मर्कामा परे भने अर्कोतर्फ भारतले गरेको अघोषित नाकाबन्दीका कारण कच्चा पदार्थ आयात नहुनु, इन्धन अभावलगायतका विभिन्न कारणले निकै समस्यामा रहे । सानो पुँजीबाट सबैलाई स्वाबलम्भी बनाउने सरकारको लक्ष्य भए पनि भूकम्पपछि साना तथा घरेलु व्यवसायीलाई सरकारले नहेरेका कारण व्यवसाय निकै मर्कामा परेको व्यवसायीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप