शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

विद्युतीय पोल नसार्दा काकडभिट्टा–लौकही सडक विस्तार प्रभावित

पैसा बुझाउँदा पनि प्राधिकरण सुस्त
शुक्रबार, ०१ साउन २०८३, १२ : ३९
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • विद्युतीय पोल नसार्दा काकडभिट्टा–लौकही सडक विस्तार आयोजनाको निर्माण कार्य प्रभावित भएको छ ।
  • ठेक्का सम्झौता भएको २९ महिना बितिसक्दा पनि सडक क्षेत्रका पोलहरू नहटाइँदा आयोजनाले लक्ष्यअनुसार भौतिक प्रगति हासिल गर्न सकेको छैन ।
  • नेपाल विद्युत् प्राधिकरणलाई पोल सार्न आवश्यक रकम भुक्तानी गरिसक्दा पनि प्राधिकरणको ढिलासुस्तीले काममा अवरोध पुगेको छ ।

झापा । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा निर्माणाधीन काकडभिट्टा–लौकही सडक विस्तार आयोजनामा विद्युतीय पोल स्थानान्तरण नहुँदा निर्माण कार्य प्रभावित भएको छ । 

ठेक्का सम्झौता भई काम सुरु भएको २९ महिना बितिसक्दा पनि सडक क्षेत्रमा रहेका पोलहरू नहटाइँदा आयोजनाले लक्ष्यअनुसार भौतिक प्रगति हासिल गर्न सकेको छैन ।

सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालय (एडीबी) ले सन् २०२४ फेब्रुअरी १ मा ठेक्का सम्झौता गरी यस आयोजनाको निर्माण कार्य अघि बढाएको थियो । चिनियाँ निर्माण कम्पनी सीआरएफजी र नेपाली कम्पनी टुण्डी जेभीले संयुक्त रूपमा निर्माण गरिरहेको यस सडकको हालसम्मको समग्र भौतिक प्रगति ४३ प्रतिशत पुगेको छ । कुल ४० किलोमिटर लम्बाई रहेको यस खण्डमा हालसम्म एकतर्फी १८ किलोमिटर सडक कालोपत्रे भइसकेको छ ।

बजार क्षेत्रमा पोलको अवरोध, काम गर्न सास्ती

निर्माण कम्पनीका प्रतिनिधि डोरमणि पौडेलका अनुसार ग्रामीण तथा वन क्षेत्रमा काम गर्न समस्या नभए पनि बजार क्षेत्रमा विद्युतीय पोलका कारण ठूलो अवरोध सिर्जना भएको छ । विशेषगरी दोस्रो खण्ड अन्तर्गत झापाको सीतापुरीदेखि मोरङको गोठगाउँसम्मको क्षेत्रमा काम गर्न निकै असहज भएको छ ।

पौडेलले भने, ‘सकेसम्म छिटो गरौँ भनेर सुरु गर्दा पनि दुई वर्षसम्म पोल नसारिएकाले काम गर्न धेरै कठिन भएको छ ।’

विद्युतीय पोल स्थानान्तरण नभएकै कारण झापाको दमक तथा मोरङको पथरी र मंगलबारे बजार क्षेत्रमा सडक निर्माणले गति लिन सकेको छैन, जसका कारण स्थानीयस्तरमा जनगुनासो समेत बढ्दो छ । हाल यो सडकलाई तीन खण्डमा विभाजन गरी स्तरोन्नतिको कार्य भइरहेको छ ।

  • वर्ष दिनअघि नै रकम भुक्तानी गर्दा पनि सरेनन् पोल

काकडभिट्टा–लौकही सडक योजना (पश्चिम खण्ड) का योजना प्रमुख जगत प्रजापतिले सडक निर्माण सुरु हुनुभन्दा एक वर्ष अगावै नेपाल विद्युत् प्राधिकरणलाई पोल सार्नका लागि आवश्यक रकम भुक्तानी गरिसकिएको जानकारी दिएका छन् ।

प्राधिकरणको ढिलासुस्तीप्रति आपत्ति जनाउँदै उनले भने, ‘ठेक्का लाग्नु भन्दा एक वर्षअघिबाटै विद्युत् प्राधिकरणसँग सम्झौता गरेको भए पनि पोल सार्ने काम पूरा भएको छैन, यसले जोखिम बढाएको छ ।’

उनका अनुसार २ नम्बर प्याकेजमा अझै ३० प्रतिशतभन्दा बढी पोलहरू हटाउन बाँकी छ । प्राधिकरणले असारसम्म पोल हटाइसक्नुपर्ने सहमति भए पनि अझैसम्म काम पूरा नगरेको उनले गुनासो गरे । नेपाल विद्युत् प्राधिकरणले असार मसान्तसम्म पोल सार्ने कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि अझै ३० प्रतिशतभन्दा बढी पोल सार्न बाँकी नै रहेको आयोजनाले स्पष्ट पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप