बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

एमालेसँग 'फाइनल' वार्ता गर्ने एमाओवादी स्थायी समिति बैठकको निर्णय

बुधबार, २२ वैशाख २०७३, २० : ४३
बुधबार, २२ वैशाख २०७३

काठमाडौं – एमाओवादीको बुधबार साँझ बसेको स्थायी समितिको बैठकले नेकपा एमालेलाई आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नका समर्थन गर्न आग्रह गर्ने निर्णय गरेको छ । बिहान पदाधिकारी बैठकले पार्टीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेपछि आज साँझ पार्टी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बसेको बैठकले सो निर्णय गरेको हो ।

‘बैठकले पार्टीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नका लागि एमालेलाई सघाउन आग्रह गर्ने निर्णय गरेको छ,’ स्थायी समिति सदस्य जर्नादन शर्माले रातोपार्टीलाई भने । एमालेले समर्थन नगरे नेपाली कांग्रेसको समर्थनमा बहुमतिय सरकार गठन गर्ने बैठकले निर्णय गरेको उनले बताए । ‘यदी एमालेले आग्रहलाई स्वीकार गरेन भने कांग्रेसको समर्थनमा हाम्रै पार्टीको नेतृत्वमा बहुमतीय सरकार गठन गरिनेछ,’ उनले भने ।

यता, बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता दिनानाथ शर्माले भने जनयुद्धकालिन मुद्दा लगायत विभिन्न विषयमा सत्तारुढ दलसँग पार्टीको असन्तुष्टि रहेको बताउँदै यस विषयमा एमालेसँग एक पटक निर्णायक वार्ता गर्ने बताए । उनले भने, ‘सरकारबाट समर्थन फिर्ता लिइहाल्ने भन्ने विषयमा निर्णय भइसकेको छैन । यसका लागि एमालेसँग उसको धारणा अन्तिम पटक बुझ्छौं र निर्णय लिनेछौं ।’ फेरि बर्खा लाग्न आँट्दासम्म जनतालाई राहत दिने काममा सरकार उदाशिन देखिएको बताउँदै शर्माले जनतालाई राहत दिन नसक्ने सरकारको औचित्यमाथि प्रश्न समेत उठाए । ‘जनतालाई सरकारको उपस्थिति दिन नसक्ने सरकारमा बसिराख्नुको औचित्य के ?,’ उनले प्रश्न गरे । एमालेसँगको वार्तापछि अब के गर्ने भन्ने विषयमा निर्णय गरिने उनले जानकारी दिए ।

शीर्ष नेता सत्तारुढ बैठकतिर स्थायी समितिको बैठक सकिने बित्तिकै एमाओवादीका शीर्ष नेताहरु प्रधानमन्त्रीले आह्वान गरेको सत्ता साझेदार दलहरुको बैठकमा सहभागी हुन बालुवाटार हिँडेका छन् । बैठक प्रधानमन्त्री निवासमा एमाओवादी बिनै बसिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप