बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

एमालेसँग सहकार्य अन्त्य गर्ने कांग्रेसको निर्णयपछि लुम्बिनीमा राजनीतिक हलचल

बुधबार, ३१ असार २०८३, १९ : ३७
बुधबार, ३१ असार २०८३

बुटवल । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेशको राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ ।

कांग्रेसले आफ्ना मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने वा नयाँ सत्ता समीकरणमार्फत अघि बढ्ने भन्ने विषयमा आन्तरिक छलफल सुरु गरेको छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले एमालेसँगको सहकार्य अन्त्य हुने निश्चित भइसकेकाले अब सरकारको नेतृत्व गर्ने, नयाँ समीकरण बनाउने वा प्रतिपक्षमा बस्ने भन्ने विषयमा पार्टीभित्र छलफल भइरहेको बताए । उनले आवश्यक परे भोलि बिहान हुने विस्तृत बैठकपछि कांग्रेसका मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने निर्णय हुन सक्ने जानकारी रातोपाटीलाई दिए । 

लुम्बिनी प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले पनि कांग्रेसका मन्त्री तथा प्रदेशका प्रमुख नेताहरूलाई भोलि बिहान दाङमा बोलाइएको र त्यही बैठकबाट आगामी रणनीति तय गरिने बताए ।
हाल लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिम्सेना तथा वन तथा वातावरण मन्त्री देवकरण कलवार सहभागी छन् । 

आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले संसदीय दलका नेताले सरकारमा रहने वा बाहिरिने विषयमा छलफल गर्न दाङमा उपस्थित हुन निर्देशन दिएको बताए। का कार्कीका अनुसार उनीसहित सरोज थापा र जन्मजय तिम्सेना हाल काठमाडौंमा रहेकाले भोलि बिहान लुम्बिनी फर्कने तयारीमा छन् । 

कांग्रेसले प्रदेश सरकारहरूमा एमालेले देखाएको व्यवहार सन्तोषजनक नरहेको निष्कर्ष निकाल्दै सातै प्रदेशबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको हो । त्यसको प्रत्यक्ष प्रभाव लुम्बिनी प्रदेश सरकारमा पनि पर्ने देखिएको छ । 

नयाँ सत्ता समीकरणको अंकगणित

लुम्बिनी प्रदेश सभामा हाल ८३ सदस्य छन् । एमालेका २९ र कांग्रेसका २७ सांसद छन् । नेकपा  केन्द्रसँग १३ सांसद छन् । कांग्रेस र माओवादी केन्द्र मिल्दा ४० सांसद पुग्छन् । सरकार गठनका लागि आवश्यक ४२ मत पुर्‍याउन थप दुई सांसदको समर्थन आवश्यक पर्ने भएकाले जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी वा अन्य साना दलको भूमिकाले निर्णायक महत्त्व पाउने देखिएको छ । 

यद्यपि कांग्रेसले नयाँ सत्ता समीकरणको प्रयास गर्ने कि प्रतिपक्षमा बस्ने भन्ने विषयमा अझै औपचारिक निर्णय गरिसकेको छैन । भोलि दाङमा हुने बैठकलाई यस सन्दर्भमा महत्त्वपूर्ण रूपमा हेरिएको छ । उता नेकपाले पनि केन्द्रको राजनीतिक घटनाक्रमअनुसार प्रदेशमा रणनीति बनाउने संकेत दिएको छ । नेकपा नेता तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुदर्शन बरालले केही दिनअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुटवल आएका बेला प्रदेश सरकारबारे पार्टीले हतारो नगर्ने, तर आवश्यकता परे उपयुक्त निर्णय लिन निर्देशन दिएको बताए । 

बरालका अनुसार केन्द्रको नयाँ राजनीतिक समीकरणसँगै लुम्बिनीमा पनि माओवादीले नयाँ रणनीति तय गर्ने तयारी गरिरहेको छ । 

मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको १२ सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेसका पाँच मन्त्री सहभागी रहेकाले उनीहरू सरकारबाट बाहिरिए लुम्बिनी प्रदेश सरकारको वर्तमान संरचना र सत्ता समीकरणमा उल्लेखनीय परिवर्तन आउने निश्चित देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप