पातेटाकुरा खोलाको पुल निर्माण सम्पन्न
सारांश
- पातेटाकुरा खोलामा निर्माण सम्पन्न भएको पुल सञ्चालनमा आएको छ।
- पुलले तुलसीपुर र शान्तिनगरका दुई वडालाई जोडेको छ।
- निर्माण व्यवसायीलाई समयमै काम सम्पन्न गरेकोमा सम्मान गरिएको छ।
दाङ । गहतेखोला बाघमारे सडकखण्डको पातेटाकुरा खोलामा निर्माण गरिएको पुल सञ्चालनमा आएको छ ।
शान्तिनगर गाउँपालिका वडा नं ३ मा पर्ने पातेटाकुरामा निर्माण भएको उक्त पुल मङ्गलबारदेखि सञ्चालनमा आएको हो । लुम्बिनी प्रदेश सरकारको लगानीमा सडक पूर्वाधार विकास कार्याालय, दाङमार्फत उक्त पुल निर्माण भएको हो । उक्त पुलले तुलसीपुर उपमहानगरपालिका–१ र शान्तिनगर गाउँपालिका–३ लाई जोड्छ ।
पुल निर्माण नहुँदा आवतजावतमा निकै कठिनाइ हुने गरेको थियो । पुल बनेपछि उक्त समस्या हटेको शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतको भनाइ छ । “पुल नहुँदा बर्सातमा बाढीले छेक्ने गर्थ्यो,” उनले खुसी हुँदै भने, “खोलाले केहीलाई बगायो पनि, अब भने यो समस्या हटेर जाने भयो ।”
तोकिएको समयमै पुल निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सम्मान गरिएको छ । २०८१ असार १६ गते मोरङको प्रेमा कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिले कामको पुल निर्माणको जिम्मेवारी पाएको थियो । निर्माण व्यवसायीले यही असारमा काम सम्पन्न गर्ने गरी जिम्मा लिएको थियो । सम्झौताअनुरूप निर्माण सम्पन्न गरेकाले निर्माण व्यवसायीलाई सम्मान गरिएको तुलसीपुर उपमहानगरपालिका वडा नं १ का अध्यक्ष सापकोटाले जानकारी दिए।
कुल २० मिटर लम्बाइ र १० मिटर चौडाइको उक्त पुलको ठेक्का रकम मूल्य अभिवृद्धि करसहित रु चार करोड १० लाख ४४ हजार रहेको शान्तिनगर गाउँपालिका वडा नं ३ का अध्यक्ष मीनबहादुर केसीले जानकारी दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण