बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी

बिहीबार, ३२ असार २०८३, ०० : ३२
बिहीबार, ३२ असार २०८३

सारांश

  • कैलालीको टीकापुर अस्पतालमा फिजियोथेरापिस्ट अनिलकुमार तिवारीले प्रयोगशाला इन्चार्ज उमेशप्रसाद बजगाईँमाथि कुटपिट गरेको घटनाबारे छानबिन उपसमितिले व्यक्तिगत तिक्ततालाई घटनाको कारण मानेको छ ।
  • प्रहरी हिरासतमा रहेका आरोपित तिवारीको बयान लिन नसकिएको र घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको उपसमितिले जनाएको छ ।
  • अस्पतालले घटनाका कारण नियमित स्वास्थ्य सेवा प्रभावित नभएको भन्दै सेवाग्राहीलाई ढुक्क भएर सेवा लिन आग्रह गरेको छ ।

धनगढी । कैलालीको टीकापुर अस्पतालमा फिजियोथेरापिस्ट अनिलकुमार तिवारीले प्रयोगशाला इन्चार्ज उमेशप्रसाद बजगाईँमाथि कुटपिट गरेको घटनाबारे गठित छानबिन उपसमितिले आफ्नो प्रतिवेदन अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमक्ष बुझाएको छ ।

अस्पताल व्यवस्थापन समितिका सदस्य सुरेश रिमालको संयोजकत्वमा गठित उपसमितिले घटनाको अध्ययनपछि तयार गरेको प्रतिवेदनमा कुटपिट आरोपित तिवारी प्रहरी हिरासतमा रहेकाले उनको बयान लिन सम्भव नभएको उल्लेख गरेको छ । यता, प्रयोगशाला इन्चार्ज बजगाईँले अस्पताल प्रशासनमार्फत दिएको लिखित बयानमा प्रशासन शाखामा भएको विवादका क्रममा तिवारीले एक्कासि आफूमाथि हातपात गरेको बताएका छन् ।

तर, उपसमितिले प्रशासन शाखामा भएको भनिएको विवादबारे आवश्यक बुझाइ गर्दा त्यस्तो अवस्था पुष्टि नभएको जनाएको छ । प्रतिवेदनमा दुवै कर्मचारीबिच लामो समयदेखिको व्यक्तिगत तिक्तताले घटना निम्तिएको प्रारम्भिक निष्कर्ष निकालिएको उल्लेख छ ।

उपसमितिका संयोजक सुरेश रिमालका अनुसार घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको छ । साथै, नेपाल प्रहरीले पनि घटनाबारे अनुसन्धान अघि बढाइरहेकाले दुवै पक्षको बयान र अनुसन्धान प्रतिवेदनपछि वास्तविक अवस्था थप स्पष्ट हुने जनाइएको छ ।

उपसमितिले अस्पतालका सम्पूर्ण कर्मचारीलाई मर्यादित, अनुशासित र कर्तव्यनिष्ठ भएर काम गर्न, सेवाग्राही तथा सरोकारवालाबाट प्राप्त गुनासा र सुझावलाई गम्भीरतापूर्वक सम्बोधन गर्न तथा अस्पतालको प्रतिष्ठामा आँच पुग्ने कुनै पनि गतिविधि नगर्न सुझाव दिएको छ ।

घटनाका कारण अस्पतालको नियमित स्वास्थ्य सेवा प्रभावित नभएको भन्दै सेवाग्राहीलाई ढुक्क भएर सेवा लिन अस्पतालले आग्रह गरेको छ।

यता, सहकर्मीमाथि कुटपिट आरोपमा प्रहरी हिरासतमा रहेका करार सेवाका फिजियोथेरापिस्ट अनिलकुमार तिवारीको करार अवधि असार ३२ गते समाप्त हुने भएको छ। यसैबिच, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रेमकुमार राई हाल बिदामा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप