बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

सेवाग्राही ठग्न दलेहरुको ठूलो संजाल बन्दै मालपोत कार्यालय

बिहीबार, २३ वैशाख २०७३, ०७ : ५६
बिहीबार, २३ वैशाख २०७३

बर्दिबास–महोत्तरीको बिजलपुरा–९ का २५ वर्षीय राम विलाश पासमान आमालाई साथमा लिएर बुधबार बिहान १० बजे मालपोत कार्यालय बर्दिबासमा आए । उनी खुसी थिए । किन भने १ वर्ष पहिला मालपोत कार्यालयको सेवा लिन जलेश्वर जानुपथ्र्यो ।

करिब ३२ किलोमिटर टाढा जानु पथ्र्यो । तर, २०७२ साल साउन १ गतेबाट जलेश्वरबाट पाउने सेवा घरभन्दा १० किमि नजिकै अहिले पाइन्छ । समय र खर्च बचत भएकोमा उनी दंग थिए । जग्गा दृष्टिबन्धक राख्ने कामसहित पासमान आमालाई लिएर आएका थिए ।

दृष्टिबन्ध कागज लिख्त गराउन लेखापढी व्यवसायी संघ बर्दिबासका एक जना सदस्य गंगाराम आले मगरसँग पासमानको भेट भयो । मगरले उनलाई आफ्नो चंगुलमा फसाईंहाले । पासमानलाई लिख्त गरेको दर रेटको बारेमा केही थाहा भएन । वरिपरि लिख्त गरेको दररेटको जानकारी दिने कुनै सूचना पाटी पनि थिएन । काम गराउँदै गर्दा दिउँसो साँढे १२ बजे पासमानको पत्रकारसग भेट भयो । लिख्तको दररेटबारे पत्रकारले सबै कुरा सुनाएपछि पासमानले आफूलाई लेखनदास मगरबाट ठगिएको थाहा पाए ।

लेखापढी व्यवसायी संघ बर्दिबासका अध्यक्ष जयनारायण शर्माका अनुसार, एउटा लिख्त गरे बापत व्यवसायीले ५ सय रुपैयाँ मात्र लिन पाउने छ । तर, आलेले पासमानसँग एउटा लिख्त गरेकोमा १ हजार रुपैयाँ लिएको खुलासा भयो ।

‘मालपोतका कर्मचारी र लेखापढी व्यवसायीहरुबीच नङ र मासुको सम्बन्ध हुन्छ’ लेखनदास मगरले भने, ‘कर्मचारीलाई रिझाएन भने काम ढिलो हुन्छ । काम हुँदै बन्दै जान्छ, हामी कर्मचारीहरुलाई कहिले काहिँ खुसी भएर केही रकम दिन्छौ ।’ क्षेत्रिसंघले एउटा लिखत गरे बापत १ हजार लिन पाउने आफूहरुलाई निर्देशन आएको मगरले दावी गरेका छन् । तर मगरसँग १ हजार लिन पाइने भन्नेबारे कुनै लिखित प्रमाण छैन् । भगवानदेखि भक्तजनहरु प्रसन्न भएपछि जलफू, लडु र भेटी चढाए जस्तै मालपोत कार्यालय बर्दिबासका कर्मचारीहरुले छिटोछिटो लेखापढी व्यवसायीहरुले लगेको काम गरिदिदाँ उनीहरुले आफ्ना मालिक कर्मचारीहरुलाई सेवाग्राहीलाई ठगेर भेटि चढाउने गरेका छन् । लेखापढी व्यवसायीहरुले सेवाग्राहीसँग लिख्तको दररेट भन्दा कयौं गुणबढी रकम ठगी गरेर कर्मचारीहरुलाई भेटी चढाउने गरेको खुलासा भएको छ । जसको कारणले लेखनदास र कर्मचारीहरु मालामाल भएका छन् भने सेवाग्राही ठगिने क्रम बढेको छ । लेखापढी व्यवसायी संघ बर्दिबासका अर्का लेखनदास मधु ढकालले स्पष्ट रुपमा कर्मचारीहरुले आफूहरुसँग रकम लिने गरेको बएका छन् । उनी भन्छन्, ‘मोठ र रजेष्ट्रेसन फाँटमा रकम बुझाउनुपर्छ । पैसा दिँदा छिटो काम हुन्छ । नदिँदा कामै हुँदैन छिट्टो, के गर्ने ?’ लेखनदास र मालपोत कार्यालयका कर्मचारी मिलेर जग्गा सम्बन्धी कामकाजमा चलखेल गर्ने गरेको नयाँ शक्ति अभियान नेपालका बर्दिबास नगरका अध्यक्ष लिलाहरी खतिवडाले बताए । उनले भने, ‘बर्दिबासमा जलेश्वर मालपोत कार्यालयबाट आउन नसकेका काजजातको काम कर्मचारी र लेखनदासहरु मिलेर २० हजारसम्म सेवाग्राहीसँग रकम लिएर जलेश्वरको कागजात बर्दिबास मगाएर यहाँ काम गरिएको छ ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मध्यमाञ्चलको सम्पर्क कार्यालय बर्दिबासको आँखा अगाडि जनताहरुले अब कहिलेसम्म यसरी ठगिनुपर्छ हो ? उनले प्रश्न गरेका छन् । लेखापढी व्यवसायी संघ बर्दिबास मालपोत कार्यालयका कर्मचारीहरुसँग मिलेर सेवाग्राहीलाई ठगि गरेर घुस खाने गरेका छन् । लेखनदासहरुले पाँच सयमा हुने लिखतको १ हजारदेखि ५ हजारसम्म लिने गरेको स्रोतले जनाएको छ । लेखापढी व्यवसायीहरुले एउटा लिख्तको पाँच सय रुपैयाँ छुट्टयाएर बाँकी बसेको रकम मालपोत कर्मचारीहरुसँग मिलेर भाग लगाउने गरेका लिख्त गर्ने एक जनाले नाम नबताउने शर्तमा बताएका छन् । मालपोत कार्यालय बर्दिबासका प्रमुख मालपोत अधिकृत देवनाथ पोखरेलले कर्मचारीलाई छानबिन गरि दोषी देखिएकालाई कारवाही गरिने बताएका छन् । मालपोत कार्यालयमा सेवा लिन पुगेका सेवाग्राही ठगिने गरेको गुनासो आएको भन्दै एकीकृत सेवा केन्द्र बर्दिबासका प्रमुख विमल भट्टराइले आफू यस बिषयमा गम्भिर भएर छानबिन गर्ने बताएका छन् । कर्मचारी र लेखापढी व्यवसायीहरुले स्थानीय संरक्षण पाएको मालपोत कार्यालय बर्दिबास स्रोतले जनाएको छ । सेवाग्राही ठग्न दलेहरुको ठूलो संजाल मालपोत कार्यालय वरिपरी झुमिएर बस्ने गर्छ । सेवाग्राहीरु दलेबाट ठगिएको थाहै पाउँदैनन् । तर, उनीहरु ठगिसकिएका हुन्छन् । बर्दिबासमा मालपोत कार्यालय सुरुवात भएको १० महिनाको अवधिमा २०७३ वैशाख २२ गते सम्ममा १ हजार ६७० वटा लिख्त सम्बन्धि कामकाज भएको छ । सेवा लिन पुगेका सयौं जनताहरुसँग हजारौं होइन, लाखौं रकम लेखापढी व्यवसायी र कर्मचारीहरुले ठगि गरेको अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप