बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

बिहीबार, ३२ असार २०८३, ०९ : ५०
बिहीबार, ३२ असार २०८३

सारांश

  • बाढी पूर्वानुमान महाशाखाका अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली लगायतका ठूला नदीहरूको बहाव सतर्कता तह भन्दा तल छ।
  • साना नदीहरूमा भने आज बाढीको मध्यम जोखिम देखिएको छ, विशेषगरी पूर्वका ११ जिल्ला र मध्य नेपालका २४ जिल्लाहरूमा बहाव उल्लेख्य बढ्नेछ।
  • महाशाखाले आगामी दुई दिनसम्म पनि साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ।

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले बिहीबारका लागि जारी गरेको बाढी पूर्वानुमान बुलेटिन अनुसार आज बिहानको मापनमा कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तल नै रहेको छ। 

यसैगरी कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि अहिले सुरक्षित अवस्थामा अर्थात् सतर्कता तह भन्दा तल नै छ।

ठुला नदीहरूमा बहाव सामान्य रहे पनि स-साना नदीहरूमा भने आज बाढीको मध्यम जोखिम देखिएको छ। महाशाखाका अनुसार आज ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, उदयपुर र ओखलढुङ्गा भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्नेछ। 

यस्तै सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, रसुवा, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, पाल्पा, बाँके, बर्दिया र यस आसपासका जिल्ला भई बहने स-साना नदीहरूमा पनि बहाव उल्लेख्य बढ्ने अनुमान छ। यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको छ।

महाशाखाले आगामी दुई दिनको पूर्वानुमान पनि सार्वजनिक गरेको छ। जसअनुसार भोलि साउन १ गते र पर्सी साउन २ गते पनि सातै प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना छ। 

महाशाखाले सचेत गराउँदै भनेको छ, ‘ती नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।’ नदी तटीय क्षेत्रमा बस्ने बासिन्दालाई सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।

12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप