बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

श्रीमान–श्रीमतीबीच झगडा : एउटै घरमा बेग्ला–बेग्लै चुलो

बिहीबार, २३ वैशाख २०७३, १० : ४७
बिहीबार, २३ वैशाख २०७३

गुल्मी – यो साता गुल्मी दजाकोटमा आगजनी भयो । गाँउमा धेरै घर जले । तर, त्यहीँका बासिन्दा ५३ बर्षका वलबहादुर दर्लामीको घर आगजनीबाट बच्यो । यस अर्थमा उनी भाग्यमानी छन् । तर, उनको मनमा बढी चिन्ता छ । उनका छिमेकीका घर जलेर खरानी भए । ती जलेका घर देखाउँदै उनले भने, ‘यो भन्दा वेसी मेरो मन जलेर खरानी–खरानी भएको छ ।’ वलबहादुरको मन कसरी भयो त खरानी ? उनको यो कथा–व्यथा बढो अनौठो छ । उनका बुवा ८० बर्ष बढीका भए । भित्र–बाहिर गर्न सक्ने अबस्थामा छैनन् । आमा थला परेकी छिन् । विस्तारामै दिशा–पिशाव गर्नुपर्ने अबस्था छ । यो अबस्थामा पुगेका बलबहादुरलाई श्रीमतिको चाहिँ सहयोग छैन । वलबहादुरको घरमा दुई वटा चुलो बल्छन् । घरको एउटा कोठामा श्रीमतिको चुलो छ । अर्को कोठामा श्रीमानको । घर एउटै भएपनि चुलो, दलान र आँगन बेग्ला बेग्लै छन् । श्रीमान श्रीमतीवीचमा दलान लिपपोत र आँगन सरसफाईमा सीमाङ्कन हुन्छ । भारत–पाकिस्तानको सीमा विवादजस्तो, एक इन्च तलमाथि नपारी बलबहादुर र उनकी श्रीमति दुवैले आ–आफ्नो क्षेत्रमा सफाई गर्छन् ।

श्रीमान–श्रीमतिवीच आपसमा बोलचाल हुँदैन । विहान श्रीमिति नउठ्दै बलबहादुर उठ्छन् । आफ्नो चुल्लो सल्काउँछन् । गाई–भैसीका लागि पानी तताउँछन् । ढोका अगाडि आफ्नो भागमा परेको दलानमा लिपपोत गर्छन् । आँगन सरसफाई गर्छन । नियमित काम सकेर खान पकाउन सुरु गर्छन् । खुल्ला दिशामुक्त गाविस वडागाउँमा उनको शौचालय खुल्ला स्थानमा छ । शौचालय बनाएका छन । तर, साईफन जोडेका राख्न सकेका छैनन । पहराको खोँचमा पुगेर दिशा–पिशाव गर्नुपर्ने बाध्यता छ । केही ढिला उठने उनकी श्रीमतिको पनि यस्तै रुटिङ छ । दजाकोटका वलबहादुरको घरमा भर्खरै यस्तो अबस्था आएको चाहिँ होइन । यो विगत सात बर्षदेखिको कथा–व्यथा हो । तर, गाउँमा आगजनी भएपछि श्रीमती आफन्तको घरमा गएर सघाएकी छिन् । यता घरमा उनको बलबहादुरकी श्रीमतीले आफु सुत्ने कोठामा तालाचावी लगाएर गएकी छिन् । आगजनी भएको पाँचौ दिन घरमा बलबहादुरले विहानको खानका रुपमा पिना (तोरीको तेल पेले पछिको कच्चा पदार्थ ) पकाई रहेका थिए । पिनामा नुन पानी हालेर पकाएपछि भात र तरकारी एकै ठाँउ हुने र यसले काम सजिलो हुने बलबहादुरको भनाई थियो । केहीवेरपछि बलबहादुर अलि खुले । खाना पकाउँदै गरेका बलबहादुरले आफ्नो कथा भन्न थाले । पीडा सुनाउन थाले । ‘२०६५ सालदेखि उसको र मेरो वोलचाल छैन् । धेरै पटक प्रहरी पनि गुहारी उसले । यहाँका समाजसेवीवीचमा पनि धेरै पटक छलफल–कचेरी बस्यो । तर, वरु म मर्छु तर त्यसलाई राख्दिनँ भनेर बसेको छु ।’ बलबहादुर ०६५ अगाडि लामो समय भारत गएका थिए काम गर्न । उनको आरोप के छ भने आफु भारत गएका बेला श्रीमतिले राम्रो गरिनन् । जव बलबहादुर गाँउ फर्के अनि श्रीमतिसँग खटपट भयो । बलबहादुरको गुनासो के रहेछ भने श्रीमतिबाट उनले माया ममता पाएनन् । बलबहादुरले भार जानु अगाडि र भारतबाट फर्कदा श्रीमतिमा धेरै परिवर्तन अएको बताए । यही कारण हो, यी दुईवीच सम्बन्ध विग्रियो र अलग–अलच चुलो बनाउने हमा पुग्यो । ‘भारतमा लामो समय मजदुरी गरेर यत्रो घर बनाएँ, दुई छोरा एक छोरी हुर्काएँ, पढाएँ’ उनले आँशु पुछ्दै भने । तर, अहिले बलबहादुरको पक्षमा होइन, छोराछोरी आमाको पक्षमा रहेको उनले सुनाए । उता उनकी श्रीमतीको पनि आफ्नै गुनासो छ । श्रीमानले हेला गरेपछि आफन्तको घरमा बस्न आएको बताईन् । उनले छोरा विदेश पठाउन आफन्तको घरमा राखेको पैसा घरसंगै जलेर नष्ट भएको उनले बताईन् । श्रीमान बलबहादुरले लगाएका आरोप गलत भएको उनको भनाई छ । आरोप गलत भएको र आफुले न्याय पाउन नसकेको उनको भनाई छ । गाँउका मानिसहरु बलबहादुरका श्रीमान–श्रीमतिवीचका कुरा बुझ्न नसकेको बताउँछन् । गाँउका मानिस यो विषयमा बाहिर केही टिप्पणी गर्दैनन् । शंकाले लंका जलाउँछ भन्ने उखान छ । यस्तै देखिएको छ बलबहादुरको जीवनमा पनि । बलबहादुर र उनकी श्रीमतीवीचको झगडा हेर्दा लाग्छ, ‘श्रीमान–श्रमतीवीचको झगडा परालको आगो’ भन्ने कथा सत्य छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप