बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

पानी किन्दै घर बनाउँदै

बिहीबार, २३ वैशाख २०७३, १४ : ११
बिहीबार, २३ वैशाख २०७३

भक्तपुर – राजनीतिक दलहरु सत्ताको लागि सरकार बनाउने र गिराउने खेलमा मात्र व्यस्त हुँदा यता भूकम्पपिडित जनताले भने घर बनाउन पनि धेरै समस्या भोग्नु परिरहेको छ ।

विनाशकारी भूकम्प आएको एक वर्ष हुदाँ पनि नेपाल सरकारले उचित तरिकाले सर्वसाधरण जनताको पुर्नस्थापना गर्न सकिरहेको देखिँदैन् ।

भक्तपुर नगरपालिकाको प्राय सबै वडाका स्थानीयहरु अब सरकारको आसा गर्न छोडेर घर बनाउन थालेका छन् । तर, सबैको उही आर्थिक अवस्था हुँदैन्, हुनेले त बनाउलान् सरकारी मापदण्ड अनुसारको घर । तर, नहुनेले उही पुरानै शैलीको घर बनाउन थालेका छन् ।

कतिपयले त आधा भत्किएर आधा बाँकी घरलाई नै मर्मत गरेर बस्ने विचार गरेको समेत बताएका छन् ।

सिमेन्ट, रड, बालुवा, गिट्टी मात्र किनेर घर बनाउन सकिँदैन् त्यसको लागि दक्ष कामदार र पानी समेत चाहिन्छ । तर, भक्तपुरका स्थानीयलाई खानेपानीको त चरम अभाव छ घर बनाउने कसरी भन्ने चिन्ताले छाएको छ ।

भक्तपुर नगरपालिकाको वडा नं.–७ गोल्मढी टोलका तुल्सीराम किसीले आफैँले ऋण गरेर घर बनाउन थाले, तर उनलाई दक्ष कामदारदेखि पानीको समेत समस्या परेपछि अहिले तनावमा छन् ।

रातोपाटीसँग कुरा गर्दै किसिले भने, ‘घर बनाउन त थाले तर न कामदार पाइन्छ, न पानी’ ।

भूकम्पपिडित अहिले घर बनाउन १ हजार लिटर पानीको ६ सय रुपैयाँ तिरेर भएपनि काम चलाउने गरेका छन् ।

बजार क्षेत्रभित्र भएको थोरै जमिनमा इनार समेत बनाउँदा घर निमार्ण गर्न नै समस्या हुने र इनार बताएपनि सुख्खायाममा पानी नआएकाले समस्या भएको स्थानीयले बताए ।

तुल्सीराम जस्तै भक्तपुरका धेरै भूकम्पपिडित अहिले घर बनाउन राम्रो दक्ष कामदारकै अभाव भएको बताउँछन् ।

जिल्लामा भएका थोरै दक्ष कामदारले पनि मनलाग्दो ज्याला लिएपछि समस्या भएको अर्का भूकम्पपिडित श्यामसुन्दर किसिले बताए ।

कतिपय स्थानका पिडित जनता त्रिपालमुनी अझैँसम्म पनि कष्टकर दैनिकी गुर्जान बाध्य भएपनि मुख्य राजनीतिक दलहरुले त्यसतर्फ चासो नदेखाएकोमा जनता आक्रोशित भएका छन् ।

अन्य दलको सरकार हुँदा विरोध गर्ने, तर आफू सरकारमा पुग्दा केहीकाम नगर्ने मानसिकता सबै दलका नेतामा देखेर आजभोली नेपाली जनताले राजनीतिलाई फोहोरी खेलको रुपमा घृणा गर्न थालेका छन् ।

गत वर्ष आएको भूकम्पले भक्तपुरको सर्वसाधरको २८ हजार ६ सय ९१ घर पूर्ण  क्षती भएको छ । भक्तपुरमा अहिले पनि २४ अस्थायी शिविरमा ५ सय ९७ परिवारका ३ हजार ९५ जना विगत एक वर्षदेखि त्रिपालमुनी बस्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप