बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

कांग्रेसले बामपन्थी फुटाउन खोज्यो : प्रदिप ज्ञवाली

बिहीबार, २३ वैशाख २०७३, २० : ३७
बिहीबार, २३ वैशाख २०७३

काठमाडौं–नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन गर्ने कांग्रेसको प्रस्ताव सहमतिको सरकार गठनको लागि नभई बामपन्थी गठबन्धनलाई फुटाएर फेरि आफूले राज गर्ने उद्देश्यले फालिएको कार्ड भएको बताएका छन् ।

रिपोर्टर्स क्लबले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘पछिल्ला राजनीतिक घटनाक्रम नाटकीय, रहस्यपूर्ण र आश्चर्यजनक छन । यो सहमति बनाउने भन्दा पनि मुलुकमा अस्थिरता ल्याउने योजना हो । नेपालको सार्वभौमसत्ताको प्रयोग गरेको नरुचाउनेहरु अस्थिरतातिर धकेल्न क्रियाशिल थिए त्यसैको परिणाम हो यो घटना ।’

सचिव ज्ञवालीले अहिलेको र त्यसपछि बन्ने सरकारलाई असफल बनाएर नेपालमा दलहरु असफल भए भन्ने सन्देश फैलाएर बिना दलको कुनै व्यक्ति खडा गरी संविधान कार्यान्वयन गर्न नदिने खेल भईरहेको भन्दै प्रचण्डको नेतृत्वको कुरा कांग्रेसले सहमतिको लागि नभई बामपन्थीलाई कमजोर बनाउन फ्याँकेको कार्ड भएको दावी गरे ।

उनले प्रचण्डप्रति लक्षित गर्दै प्रश्न गरे, ‘क्याबिनेट र उच्चस्तरीय राजनीतिक संयन्त्रमा छलफल नगर्ने अनि अचानक रहस्यपूर्ण रुपमा सरकारले केही गर्न सकेन भनेर यस्तो प्रस्ताव ल्याउने ? एमालेलाई छिर्के हानेर होईन छलफल गरेर निर्णय गर्न सकिन्छ ।’

ज्ञवालीले मधेसीसहित राष्ट्रिय सहमतिको आधार तय गर्ने हो भने सहमतिको सरकार गठनमा एमाले बाधक नबन्ने स्पष्ट पार्दे अहिले सरकार ढाल्ने र बनाउने खेलले संविधान कार्यान्वयन हुन नसक्ने ठोकुवा गरे ।

उनले एमाओवादीले द्वन्द्वकालिन मुद्दा अदालतबाट ब्यूँतिएको र आफूहरुले पनि सरकारको नेतृत्व गर्न पाउनुपर्ने माग गरेको जानकारी दिँदै सरकार समग्र राजनीतिलाई सत्य निरुपणको दिशामा लिएर जाने र प्रचण्डको नेतृत्वमा समेत सरकार गठनको विषयमा छलफल गर्ने सहमति भएको जानकारी दिए ।

ज्ञवालीले भने, ‘प्रचण्डको नेतृत्वमा सहमतिको सरकार बन्ने भयो भने हामी तयार छौं । बजेट र नीति तथा कार्यक्रमपछि प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने पनि अर्को विकल्प छ त्यसमा हामी छलफलमै छौं । बजेट र नीति तथा कार्यक्रम यही सरकारले ल्याउँछ । २२ वर्ष पहिला एमालेलाई बजेट ल्याउन नदिने खेल भयो अहिले पनि त्यस्तै खेल भईरहेको छ ।’

उनले संविधानमा संसद् विघठनको व्यवस्था नभएको र एमाले त्यसको पक्षमा समेत नरहेको स्पष्ट पार्दै गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र बाबुराम भट्टराईले संसद विघटन गर्दाको दुष्परिणामको विषयमा आफूहरु जानकार रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप