संसदमा प्रधानमन्त्रीको सम्बोधनः संसद विघटन हुँदैन
बिहीबार, २३ वैशाख २०७३, १७ : ३५
काठमाडौं– संसद विघटन हुने भनि विभिन्न हल्ला चलिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको कुनै सम्भावना नरहेको बताएका छन् । आज व्यवस्थापिका संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद विघटन हुने भन्ने कुनै आधार नरहेको बताए ।
‘ संसद विघटन गर्दैछन् भन्ने पनि हल्ला चल्यो,’ ओलीले भने,‘ संसद भंग हुँदैन, संसदीय अभ्यासबाटै अघि बढ्छौ। तर्किने, उम्कने जस्केलाबाट हिड्ने तरिका म गर्दिनँ। संसदले मलाइ छानेको हो।’
ओलीले षयडन्त्र र धोकामा राष्ट्रिय सहमति नहुने बताउँदै अहिलेको आवश्यकता लोकतान्त्रिक संसदीय अभ्यास भएको बताए ।
उनले मनगढन्ते असन्तुष्टि र बिरोधहरू रहेको भन्दै उनले तिनीहरूलाई अन्त्य गर्ने संवाद र सहमतिबाट भएको बताए।
उनले अधिकारसम्पन्न संविधानसभामा सबै लोकतान्त्रिक प्रक्रिया पूरा गरेर संविधानका धारा पारित भएको उल्लेख गर्दै त्यसलाई हतारमा ल्याइयो भन्नाको कुनै अर्थ नभएको पनि स्पष्ट गरे । उनले संविधानपछि राष्ट्र प्रमुख, विधायिका प्रमुख र न्यायपालिका प्रमुख महिला व्यक्तित्व हुन सफल भएको र यसमा संविधानको भावना प्रतिविम्ब भएको बताए ।
उनले यो सरकार कुनै बाह्य पक्षले योजना गरेर नभई सार्वभौम संसद्ले बनाएकाले सरकार परिवर्तनबारे सांसदले गरेको टिप्पणीमा असहमति राखे ।
ओलीले राष्ट्रिय सहमति निर्माणका लागि आफू सरकार गठनपूर्वदेखि निरन्तर लागिरहेको र अहिले पनि त्यसका लागि तत्पर रहेको बताए । ओलीले मुलुक असुहाउँदो ढङ्गले गरिबीको चक्रमा परेकाले तीव्र आर्थिक विकास गर्न राष्ट्रिय सहमति आवश्यक भएको समेत स्पष्ट गरे ।
आफू र आफ्नो दल नेकपा एमाले ले सहमतिका लागि निरन्तर प्रयास गरेको बताउँदै उनले यसअघिको संसद् अधिवेशनमा पनि आफूले सहमतिका लागि आह्वान गरेको स्मरण गराए ।
प्रधानमन्त्री ओलीले प्रश्न गर्दै भने– “संविधान जारी पूर्व भएको भद्र सहमति किन पालना भएन ? के कारणले बिग्रियो ? यो लोकतान्त्रिक प्रणाली हो, यसमा प्रतिस्पर्धा र प्रतिपक्ष हुन्छ तर कहिलेकाहीँ विशेष स्थितिमा सबै एक ठाउँमा उभिनुपर्ने अवस्था आउँछ । संविधानको कार्यान्वयन र भूकम्पपछिको पुनःनिर्माणमा लाग्न राष्ट्रिय सहमति आवश्यक छ, त्यसमा आउन केले रोक्यो ?”
गत असोज ३ मा संविधान जारी भएपछिको व्यवस्थापिका–संसद्को दोस्रो अधिवेशनमा पहिलो सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्ना आग्रह र पूर्वाग्रहबाट लोकतन्त्रको आधारभूत पक्षलाई नबिर्सन सम्झाउँदै विभिन्न प्रकारका ‘कुरा फिटेर’ निष्कर्ष ननिस्कने र जनताका अधिकार सुरक्षित नगर्ने प्रयास उचित नहुने उल्लेख गरे ।
प्रतिपक्षमा बस्ने र राष्ट्रिय सहमति एकसाथ कसरी ?
उहाँले षड्यन्त्र र धोकाका जगमा राष्ट्रिय सहमति बन्न नसक्ने बताउँदै इमान्दारीका आधारमा सहमतिका लागि आह्वान गर्दै भने– “लोकतन्त्रमा प्रतिपक्ष हुन्छ भन्नु र राष्ट्रिय सहमति चाहिन्छ भन्नु नसुहाउने कुरा हो । विभिन्न मनोग्रन्थी र विरोधलाई अन्त्य गर्न अहिलेको अवस्थामा संवाद र सहमति आवश्यक छ ।”
संविधानमा असन्तुष्ट रहेका पक्षलाई बसेर छलफल गरी औचित्यका आधारमा देशलाई फाइदा पुग्ने गरी समाधान गर्न आफू स्पष्ट रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने– “नेपालमा स्थिरता, स्थायित्व र शान्ति खल्बल्याउने प्रयास भइरहेका छन् । संविधान चिरप्रतीक्षित जनआकाङ्क्षानुसार आएको हो । त्यसको कार्यान्वयन यस संसद्को काम हो । स्थिरता के गरेर हुन्छ ? अचम्म दृष्य र दौडबाट समाधान हुँदैन । सरकार हटाउनुपर्ने वास्तविक कारण के हो ? जनताले सही कुरा छुट्याउने गरी हेक्का राखेर बोल्न म आग्रह गर्न चाहन्छु । म प्रमुख प्रतिपक्षी दललाई आग्रह गर्छु, समस्याका लागि खुला छलफल गरौँ ।”
‘संविधान पुनर्लेखन हुँदैन’
सङ्घीयताको सीमाङ्कनबारे सहमति जुटाउन उच्चस्तरीय राजनीतिक समितिलाई पूर्णता दिन प्रधानमन्त्री ओलीले आग्रह गरे । संविधानका मौलिक हकका कार्यान्वयनका लागि सम्बन्धित कानुन तर्जुमा र विभिन्न संवैधानिक आयोग गठन गर्नुपर्छ भन्दै उनले संविधानमा पहिलो संशोधन गरेर समानुपातिक÷समावेशी व्यवस्था गरिएको बताए। “९० प्रतिशत जनप्रतिनिधिले बनाएको संविधानलाई संसद्मै बसेर धारे हात लाएर विरोध गर्न, यसको धज्जी उडाउन र खोइरो खन्न पाउने उदारता यही संविधानले दिएको छ तर संविधान पुनर्लेखनको अनावश्यक रट नलगाए हुन्छ । त्यो अधिकार संविधानसभालाई थियो । रुपान्तरित संसद्लाई छैन ।” ओलीले भने– “संविधानमा संसद्ले आवश्यकताअनुसार संशोधन मात्र गर्न सक्छ, त्यस कारण पुनर्लेखनको कुरा नगरौँ । त्यस्तो कुरा गर्ने र त्यसलाई उचाल्नेलाई मात्र सोध्न सक्छु, के त्यसो गर्न कसैले सक्छ ?”
उनले संविधान बमोजिम संसद्को दुई अधिवेशन बसेको, राष्ट्रपति÷उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुख÷उपसभामुखको निर्वाचन हुनु संविधानकै कार्यान्वयन भएको, गत फागुन १६ गते संविधानमा पहिलो संशोधन भएको र संविधानबमोजिम नयाँ कानुन निर्माणका क्रममा रहेको स्मरण गराए ।
संविधानमा असन्तुष्ट दल पनि प्रधानमन्त्रीको निर्वाचनदेखि संसद्मा लोकतान्त्रिक अभ्यासमा सहभागी भएको र संविधानको कार्यान्वयनमा लागेकाले धन्यवाद दिँदै उनले हालसम्मको संविधानको कार्यान्वयनबारे सरकारले गरेका कामबारे विवरण पेस गरे । उनले उच्चस्तरीय समिति गठन, न्यायाधीश, संवैधानिक पद र राजदूत नियुक्तिको सिफारिस गरी संसद्मा पठाइसकेको तथा संसद्मा तोकिएको समयमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुने अवगत गराए ।
‘
पुनःनिर्माण जारी
प्रधानमन्त्री ओलीले पुनःनिर्माणका लागि दातृ पक्षले गरेको प्रतिबद्धतानुसार रकम नआएको र सरकारको काममा भनिएजस्तो पुनःनिर्माणमा ढिलाइ नभएको जिकिर गर्दै यससम्बन्धी कानुन तर्जुमा र पदाधिकारी नियुक्ति तथा सर्भेक्षणमा अघिल्लो सरकारदेखिकै ढिलाइ भएको बताए । पुनःनिर्माणमा कुनै अनियमितता नभएको जिकिर गर्दै उनले निजी घर निर्माणको अनुदान र राष्ट्रिय सम्पदा पुनःनिर्माणको अभियान सञ्चालन गरिएको बताए ।
उनले सरकारको विरोधका लागि मात्र विरोध गरिएको टिप्पणी गर्दै भने– “साथीहरुले संसद्मा खडेरीको कुरा उठाए । सरकारलाई अप्ठ्यारो पार्छ कि भनेको राति पानी प¥यो ।” उनले आउँदो जेठभित्र सबै प्रभावितलाई छानामुनि ल्याउने र दुई वर्षभित्र सबै घर बनाइसक्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रधानमन्त्रीले भने–“अहिलेको सरकार उग्र र खोक्रो राष्ट्रवादमा विश्वास गर्र्दैन । राष्ट्रिय स्वार्थलाई रक्षा गर्छ । राष्ट्रको स्वाभिमानलाई तल झर्न दिँदैन । अब भारतसँगको सम्बन्ध सुमधुर भएको छ, चीन भ्रमण असाधारण रुपमा सफल भएको छ, आपसी समस्या देखिएमा कूटनीतिक रुपमा समाधान गरिनेछ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण