बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

गठबन्धन विवादः उपेन्द्र यादव संयोजक भएपछि तमलोपा असन्तुष्ट

शुक्रबार, २४ वैशाख २०७३, ११ : १३
शुक्रबार, २४ वैशाख २०७३

काठमाडौ –संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध सात दल र आदिवासी जनजातिसहितको दलले गठन गरेको संघीय गठबन्धनमा विवाद चर्कदैछ । गठन भएदेखि विवादमा रहँदै आएको गठबन्धनमा संयोजकका लागि विवाद उत्पन्न भएको हो ।

हिजो दुई बजे संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालयमा बसेको गठबन्धन बैठकमा महन्थ ठाकुर अध्यक्ष रहेको तराई मधेश लोकतान्त्रिक पार्टीको उपस्थिति थिएन । सो पार्टीको अनुपस्थितिमा नै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव गठबन्धनको संयोजक चयन भए । त्यसले गर्दा झन् विवाद चर्किएको छ । आज ११ बजेका लागि पुनः बैठक बोलाएको छ । सो बैठक पनि तमलोपाले बहिष्कार गर्ने बताइएको छ । बैठकको बारेमा उपेन्द्र यादवले तमलोपालाई जानकारी गराउँदा महन्थ ठाकुरका सहयोगी सतेन्द्र मिश्रले बैठकमा जानका लागि पार्टीका महासचिव गोविन्द चौधरी र केन्द्रीय सदस्य बीपी यादवलाई भनेका थिए । तर, बीपी यादवले दलका ठूला नेता ह्रदयश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ला हुँदा हुँदै आफू मात्र बैठकमा किन जाने भन्दै जवाफ दिएपछि मिश्रले उपाध्यक्ष ह्रदयश त्रिपाठीलाई फोन गरेका थिए । त्रिपाठी पनि जान तयार भएनन् । उपेन्द्र यादवले गठबन्धनमा मनोमानी गरिरहेको भन्दै त्रिपाठीले पार्टीका अन्य नेतालाई पनि गठबन्धनको बैठकमा नजान भनेको स्रोतले जनाएको छ । उपेन्द्र यादव गठबन्धनको संयोजक भएको कुरा पार्टीलाई जानकारीमा आएको छैन । सञ्चारमाध्यमबाट नै जानकारी पाएको र सो कुरा स्पष्ट नभएसम्म बैठकमा नजाने बीपी यादवले बताए ।

सरकार ढाल्नका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग कुरा गर्न जाँदा मधेशी मोर्चाको हैसियतमा जाने तर संघर्षको कुरा भयो भने गठबन्धनलाई अगाडि बढाउने यो दोहोर चरित्र हुनसक्दैन भनि तमलोपाले असन्तुष्टि जनाएको छ । गठबन्धनको संयोजक बन्नका लागि तमलोपाका अध्यक्ष महन्थ ठाकुरले पनि इच्छा देखाएका थिए । गठबन्धनका एक घटक तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले गठबन्धनको संयोजक एकजना हुने पर्ने भएकाले ठूला दलको हैसियतले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव संयोजक भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप