बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

काठमाडौंको कर्णालीको कथा : भीआईपीको चुनाव क्षेत्रमा यस्तो छ बाटोको दुर्दशा (भिडियोसहित)

सोमबार, ११ पुस २०७३, १६ : २८
सोमबार, ११ पुस २०७३

काठमाडौं – काठमाडौंमा पनि कणार्ली छ भन्दा धेरैलाई अचम्म लाग्ला । तर काठमाडौंमा सुदुर पश्चिमाञ्चलको जस्तै कर्णाली नदी नभएपनि विकास निमार्णको दृष्ट्रिकोणले हेर्दा कर्णालीकै झझल्को दिने दुर्गम बस्ती पनि छन् । जहाँ अझै राम्ररी बिकासको जग बस्न सकेको छैन ।

विकासका आधारभूत पूर्वाधार सडक, सञ्चार, शिक्षा, स्वास्थ्य लगायतका मानकहरुको अवस्थालाई हेर्दा अझै पनि काठमाडौंमा कर्णालीको झझल्को मेट्न सकिने थुप्रै ग्रामिण बस्ति छन् । तीनै बस्ती मध्ये एक हो काठमाडौंको शंखरापुर नगरपालिका अन्र्तगतका लप्सेफेदी र नाङ्लेभारे ।

गत बर्षमा शंखरापुर नगरपालिका घोषित काठमाडौंको तत्कालीन गाविस लप्सेफेदी र नाङ्लेभारेका सडक प्रयोग गर्दा जो कसैले कुनै दुर्गम जिल्लाको सबैले सहजै अनुमान गर्न सक्छन् ।

चुनाव जित्नेहरु बने प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्म

यो काठमाडौंको त्यो ठाँउ हो, जहाँबाट तत्कालीन एमाले महासचिव मदन भण्डारी, वर्तमान राष्ट्रपति विद्या भण्डारी, तत्कालीन एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री मनमोहन अधिकारी, एमाले नेताहरु प्रदीप नेपाल, नारायण ढकाल हुँदै एमालेका पूर्व महासचिव एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालसम्म निर्वाचित भएका थिए ।

२०४८ सालदेखि २०७० सम्म भएका निर्वाचनमा २ वटा वाहेक सवै निर्वाचन नेकपा एमालेले जितेको थियो ।

यतिबेला स्थानीयहरु प्रश्न गरिरहेका छन्–“यहाँबाट चुनाव जित्नेहरु प्रधानमन्त्री देखि राष्ट्रपतिसम्म भए, तर यो बाटो किन परिवर्तन भएन ?”

स्थानीय शंकर ढकालले भने–२०४८ सालदेखि एमालेले एकछत्र राज गरेको क्षेत्र हो हो, यहाँबाट पूर्व प्रधानमन्त्री माधव नेपाल विजयी भएर जाँदा यो बाटोमा केही परिवर्तन होला भन्ने आशा राखेका थिँयौं तर केही भएन । मैले यहाँको रौतहटको केही क्षेत्रको पनि भ्रमण गरेको छु, उहाँले त्यहाँ जसरी विकास गर्नुभएको छ, यो क्षेत्रलाई भने फर्केर पनि हेर्नुभएन ।”

सिन्धुपाल्चोक जोड्ने बैकल्पिक मार्ग : कतै पहिरो, कतै भिरालो

काठमाडौंबाट सिन्धुपाल्चोकको मेलम्ची जाने बैकल्पिक मार्गको रुपमा शूरु भएपनि काठमाडौंको जर्सिङ पौवादेखि सिन्धुपाल्चाकको इन्द्रावती नदी छेउ फड्केश्वरसम्मको बाटो निकै नाजुक अवस्था छ ।

ठाँउ–ठाँउमा पहिरोको जोखिम छ भने कर्त भिरालो र साँघरो बाटोको कारण जुनसुकै बेला सबारी दुर्घटनाको जोखिम रहेको छ ।

यो सडकमा सिन्धुपाल्चोकको मेलम्ची आसपासका विभिन्न स्थानबाट काठमाडौंको जोरपाटीसम्म आमा हेल्मो यातायातका बसहरु सञ्चालन भइरहेका छन् ।

साँखुदेखि १५ किलोमिटर सम्म काठमाडौं र त्यसपछि सिन्धुपाल्चोक छुने यो सडकखण्डको नाम नेकपा एमालेले मनमोहन मार्ग भनेर घोषणा समेत गरेको छ ।

स्थानीयबासी शंकर ढकाल भन्छन्–“लगातार रुपमा एउटै पार्टीले एकछत्र राज गर्दा पनि विकासको काम अघि नबढ्नु दुखको कुरा हो । पछि रुकुम–रोल्पातिरबाट माओबादीका झक्कु सुवेदी आएर पनि जिते । तर जसले जितेपनि यहाँको विकास निर्माणको कामले भने हार खायो ।”

प्रधानमन्त्री छँदा एमाले बरिष्ठ नेता माधव कुमार नेपालले काठमाडौंका भएको एक कार्यक्रममा साँखु देखि सिन्धुपाल्चोकको चौतरासम्म जोड्ने सडक लागि ३१ करोड रुपैँया छुट्टाएको बताएका थिए । तर १० बर्ष अघिको बाटो र अहिलेको बाटोमा कुनै सुधार नभएको भन्दै स्थानीय बासी गुनासो गर्छन् ।

यो क्षेत्रबाट चुनाव जित्ने यी हुने भीआपी तथा नेताहरु –२०४८ सालमा भएको चुनावमा तत्कालीन एमाले महासचिव मदन भण्डारी निर्वाचित –२०५० साल माघमा भएको उपनिर्वाचनमा बर्तमान राष्ट्रपति बिद्यादेवी भण्डारी निर्वाचित –२०५१ सालमा मध्यावधी घोषणा पछि तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारी निर्वाचित –मनमोहन अधिकारीले दुई ठाँउमा चुनाव जितेका कारण काठमाडौं क्षेत्र नं १ छोडेपछि भएको उपचुनावमा एमाले नेता नारायण ढकाल निर्वाचित –२०५६ सालमा भएको चुनावमा नेकपा एमालेका नेता प्रदीप नेपाल निर्वाचित –२०६४ मा तत्कालीन नेकपा माआबादीका झक्कु प्रसाद सुवेदी निर्वाचित –२०७० मा नेकपा एमाले बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल बिजयी –२०७१ मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका नेता दीपक प्रसाद कुँईकेल निर्वाचित

कालोपत्रे छ महिना पनि टिकेन

झन्डै २ बर्ष अघि ग्रामीण पुनर्निमाण तथा पुनस्र्थापन परियोजनाले लप्सेफेदी गाविसको जरसिंहपौवादेखि सिन्धुपाल्चोकको फट्केश्वरसम्म सडकको विभिन्न खण्ठमा कालोपत्रे गरेको थियो ।

जरसिंहपौवादेखि फट्केश्वरसम्म १३ किलोमिटर सडक कालोपत्रे गरिएपनि छ महिनासम्म टिक्न सकेन । यतिबेला कालोपत्रे गरेको सडकको भाग भेट्न समेत मुस्किल पर्ने गरेको छ ।

१३ किमी सडक कालोपत्रे गर्नका लागि झन्डै १० करोड बढी खर्च भएको थियो भने झन्डै ८ किलोमिटर कालोपत्रे गरेर बाँकी सडक अलपत्र पारिएको थियो । ठेकेदार कम्पनी, जिल्ला विकास समितिका कर्मचारी र राजनीतिक दलका कार्यकर्ताको मिलोमतोका कारण सडक गुणस्तर बन्न नसकेको स्थानीयबासीले गुनासो गरे ।

जिल्ला विकास समितिले पनि हरेक बर्ष झै यो बाटोको नाममा बजेट विनियोजन गरेपनि कहाँ कसरी खर्च हुन्छ, केही थाहा नहुने स्थानीयहरु बताँउछन् ।

शंखरापुर नगरपालिका १ का स्थानीय भरतमान श्रेष्ठले भने–“एकचोटी जहर्सिङपौवा देखि सिन्धुपाल्चोकको फड्केश्वरसम्म पिच गरेको जस्तो ग¥यो, अहिले त त्यो पीच पनि कहाँ छ भेट्टाउन मुस्किल पर्छ ।”

राजनीतिक खिचातानी र एउटा पार्टीले काम गर्न खोज्दा अर्को पार्टीले खुट्टा तान्ने प्रवृति हावी हुँदा विकासको काम पछि परेको उनले बताए ।

शंखरापुरकै अर्का स्थानीय बाबुराम दंगालले भने–“एकथरी पार्टीले यो बाटोको नाम मनमोहोन मार्ग राखेर पी वान योजनामा पारिएको र चीनको ल्हासासम्म बाटो पु¥याउने हल्ला गर्छ तर बाटो यति जोखिमपूर्ण छ कि जुनसुकै बेला सबारी दुर्घटनामा पर्न सक्ने अवस्था छ । राजनीतिक पार्टीहरुले यो बाटोको विषयलाई लिएर हल्ला धेरै गरे, काम पटक्कै गरेनन् ।”

गत बर्ष पौष १९ गते यही सडक खण्डको ग्राभेलका लागि ठेकेदार कम्पनीलाई ३२ लाख ४४ हजार भूक्तानी दिने बेला २ लाख घुस लिएको अभियोगमा जिल्ला प्राविधिक कार्यालय काठमाडौंका सब इन्जिनियर शरद कुमार श्रेष्ठलाई अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।

जिल्ला विकास समिति काठमाडौंले हरेक बर्ष बाटो सुधारका लागि बजेट विनियोजन गरेपनि सदुपयोग नहुने गरेको स्थानीय नवराज ढकाल बताँउछन् ।

खुट्टा तान्ने प्रवृतिले काम गर्न गाह्रो भयो  सांसद दीपक कुँईकेल

काठमाडौंको सोही क्षेत्रबाट पहिलो पटक स्थानीय सांसदका रुपमा निर्वाचित भएका दीपकप्रसाद कुँईकेल भन्छन् ।

–त्यो बाटोमा मैले पनि धेरै पटक यात्रा गरेको छु । काठमाडौंको ठाँउमा यस्तो कच्ची र कमजोर बाटो हुनु राम्रो कुरा हैन् ।

–केही गरौँ भनेर लागिपर्दा अरु पार्टीले काम बिगारीदिने, बाटो बनाएर अर्काले जस पाउने भयो भन्ने भय हुँदोरहेछ बिपक्षी दलका साथीहरुलाई ।

–म साँसद भएर आएपछि यो सिन्धुपाल्चोक सँग जोड्ने यो बाटोलाई कसरी पक्की बनाँउन सकिन्छ भनेर दौडधुप गरिरहेको छु ।

–सोचे अनुसार मैले पनि काम गर्न नसकेको ठीक हो, यो बाटो बनाउन मैले केही न केही गरिरहेको छु ।

–मैले थालेको प्रक्रिया पूरा भएर बाटो बनेपछि मैले गरेको कामबारे जनताले थाहा पाउनेछन् ।

हेर्नुहोस भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप