बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

पशुमा कृत्रिम गर्भाधानको सेवा सहज बन्दै

मङ्गलबार, १२ पुस २०७३, ०८ : ३९
मङ्गलबार, १२ पुस २०७३
धनगढी - निजी क्षेत्रका प्राविधिकले समेत गाईलगायतका अन्य पशु चौपायामा कृत्रिम गर्भाधानको सेवा दिन थालेपछि कैलाली जिल्लाका पशुपालक किसानलाई सेवा लिन सहज भएको छ । गर्भाधानको सेवा आफ्नै गाउँ ठाउँमा पाउँदा पहिलेको भन्दा सेवा पाउन सहज भएको स्थानीय कृषक रामेश भट्टले सन्तुष्टी व्यक्त गरे । जिल्ला पशुसेवा कार्यालयको समन्वयमा निजी क्षेत्रका प्राविधिकले समेत न्यूनतम सेवा शुल्क लिई कृत्रिम गर्भा गराइरहेको जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक केशवदत्त जोशीले बताए । उनले भने –कृत्रिम गर्भाधान गर्दा चाहिने विर्य र अन्य उपकरण पशुसेवा कार्यालयले निजी प्राविधिकलाई पनि उपलब्ध गराउँदै आएको छ । यसबाहेक प्राविधिकलाई आवश्यक तालिमसमेत प्रदान गरिएको छ । कृत्रिम गर्भाधानको सेवा जिल्लामा पशुसेवा कार्यालयका अतिरिक्त पशुसेवा केन्द्र र पशु प्रजनन केन्द्रमार्फत उपलब्ध हुँदै आएकामा पछिल्लो एक वर्षदेखि निजी क्षेत्रका प्राविधिकमार्फतसमेत ठाउँ ठाउँमा सेवा उपलब्ध गाराउन थालिएको हो । हाल जिल्ला पशुसेवा कार्यालय र निजी प्रविधिकबाट गरी जिल्लाका ३२ ठाउँबाट यो सेवा उपलब्ध भइरहेको छ । गाईभैँसी र बाख्रामा कृत्रिम गर्भाधानको सेवा उपलब्ध भएकामा आगामी दिनमा बङ्गुरमा पनि यो सेवा उपलब्ध गराउन लागिएको छ । पशुसेवा कार्यालयको तथ्याङ्कका अनुसार, गत वर्ष चार हजार ४५५ गाई, एक हजार १४४ भैँसी र १४९ बाख्रामा कृत्रिम गर्भाधान गरिएकामा चालु वर्षको पहिलो चौमासिक अवधिमा मात्रै एक हजार ७०५ गाई ६९९ भैँसी र २३८ बाख्रामा कृत्रिम गर्भाधान गरिएको छ । यो सेवाको उपलब्धतासँगै जिल्लामा उन्नत जातका जर्सी र होलिस्टन जातका गाईको सङ्ख्या बढ्दै गएका छन् । विसं २०४९ बाट जिल्लामा कृत्रिम गर्भाधान सेवा सुरु गरिएकामा हालसम्म झन्डै ६० हजार पशुमा गर्भाधान गरिसकिएको पशु चिकित्सक जोशीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप