ट्र्याक खुलेको ६० वर्षपछि स्तरोन्नति हुँदै कान्ति लोकपथ
मकवानपुर - ट्र्याक खुलेको ६० वर्षपछि कान्ति लोकपथ सडक विस्तार एवम् स्तरोन्नतिको काम सुरु भएको छ ।
विसं २०१३ मा ट्र्याक खुलेको एक लेनको यो सडकमा २०१६ सालदेखि सवारी सञ्चालन सुरु भएको थियो । ललितपुर र मकवानपुरको सीमास्थित बागमती नदीमा पुल नभएको र कच्ची धुले सडक भएकाले वर्षमा नौ महिनाजति मात्र यो सडकमा सवारी चल्थ्यो । नौ महिना पनि नियमित सवारी नचल्ने गरेको स्थानीयवासीको भनाइ छ ।
नेपाली सेनाले निर्माण गरेको यो राजमार्ग ६० वर्षसम्म ओझेलमा प¥यो । विसं २०५९ मा काठमाडौँ, हेटौँडा जोड्ने छोटो दुरीको यो मार्गलाई वैकल्पिक रुपमा विकास गर्न कोरियाली सरकारको सहयोगमा विस्तृत परियोजना प्रस्ताव तयार गरिएको थियो ।
ललितपुरको चाँपागाउँ दोबाटोबाट मकवानपुरको हेटौँडास्थित बुद्धचोकसम्म ९० किमी दुरीको यो मार्गलाई सरकारले आव २०६५÷६६ देखि कान्ति लोकपथ सडक योजना स्थापना गरी स्तरोन्नति सुरु गरेको हो ।
स्तरोन्नतिको काम सुरु भए पनि प्रभावकारी रुपमा काम हुन नसकेपछि व्यवस्थापिका–संसद्को विकास समितिले २०७१ मा यस मार्गलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभयो ।
समितिको निर्देशनमा प्राथमिकता प्राप्त योजनाका रुपमा सुरु भएको यो सडक विस्तार एवम् स्तरोन्नतिको अवलोकनका लागि सोमबार मन्त्री र सांसदको टोलीले अनुगमन गरेका छन् । अनुगमनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, समिति सभापति रवीन्द्र अधिकारी, समितिका सांसद, मन्त्रालयका सचिव धनबहादुर तामाङ र सडक विभाग एवम् योजनाका अधिकारी सम्मिलित समूहको सहभागिता थियो ।
अनुगमनपछि मन्त्री लेखकले आर्थिक, सामाजिक र सांस्कृतिक महत्व बोकेको कान्ति लोकपथ निर्माणमा रकमको अभाव हुन नदिने प्रतिबद्धता जनाए ।
“तोकिएको समयमा काम सक्न विभाग, योजना र निर्माण व्यवसायीले समन्वय गरी काम गर्नुस्, काममा कुनै बाधा व्यवधान आएमा मन्त्रालयले फुकाउनेछ”– स्तरोन्नति तोकिएकै समयमा सक्न निर्देशन दिँदै उनले भने ।
समिति सभापति अधिकारीले दक्षिणकाली, सिस्नेरी–भीमफेदी सडक साँघुरो र त्रिभुवन राजपथमा धेरै चाप हुने समस्यालाई समाधान गर्न कान्ति लोकपथ वैकल्पिक हुने भएकाले छिटो स्तरोन्नति सम्पन्न हुनुपर्ने बताए ।
“लोकपथ विसं २०७५ सम्म पूरा गर्न जिम्मेवार सबै निकायले तोकिएको काम गर्नुपर्छ, यसका लागि आवश्यक समन्वय गर्न समिति तयार छ, पूर्वी एवम् पश्चिम नेपाल र तराईलाई जोड्ने पनि यो मार्ग वैकल्पिक हुनसक्छ, यसले समृद्धिको ढोका खोल्नेछ”– उनले भने ।
विसं २०७५ सम्ममा उक्त मार्ग कालोपत्रे गरिसक्ने योजना छ । सडक दुई लेनमा चौडा गर्न मकवानपुरतर्फ करिब रु ८५ करोड र ललितपुरतर्फ रु एक अर्ब १० करोड खर्च लाग्ने लोकपथ योजनाले जनाएको छ ।
ललितपुरको चाँपागाउँ दोबाटोदेखि हेटौँडाको बुद्धचोकसम्म ९० किमी लम्बाई र तीनदेखि पाँच मिटर चौडाई रहेको यो लोकपथलाई विस्तार गरी ८ दशमलव ५ मिटर चौडा गर्ने कार्यक्रम रहेको योजना प्रमुख देवेन्द्र साहले बताए ।
“सडक विस्तार एवम् स्तरोन्नतिका लागि विद्युत् प्राधिकरणका पोल, नेपाल टेलिकमको तार र खानेपानीको पाइप हटाउन समस्या भएको छ, सडक एक लेनबाट दुई लेनमा विस्तार गर्न जग्गा प्राप्ति पनि समस्या बनेको छ”–उनले भने ।
बुद्धचोकदेखि ललितपुरको टीकाभैरव पुलसम्म ७९ किमी सडक चौँडा बनाउन कन्टेक प्रालि, एससिसी मोतिदान जेभी, महालक्ष्मी सिं एन्ड ब्रदर्स जेभी, कञ्चनजङ्गा गोल्डेन ग्रुप र हनुमान कन्स्ट्रक्सनलाई ठेक्का दिइएको छ । टीकाभैरव पुलदेखि चाँपागाउँ दोबाटोसम्म ११ किमी चाँैडा गर्ने कार्य सडक डिभिजन कार्यालय ललितपुरले गर्नेछ ।
लोकपथ स्तरोन्ततिका लागि सरकारले अघिल्ला आवमा रु पाँच÷पाँच करोड बजेट छुट्याउँदै आएकोमा चालुु आवमा रु ३९ करोड विनियोजन गरेको छ । यसअघि सरकारले यस योजनामा झन्डै रु ४७ करोड खर्च गरिसकेको छ ।
यो लोकपथलाई दक्षिणकाली, सिस्नेरी, भीमफेदी सडक खण्ड र त्रिभुवन राजपथको विकल्पका रुपमा विकास गर्न लागिएको हो । कान्ति लोकपथको ट्र्याक निर्माण भएको झन्डै ६० वर्षसम्म पनि सरकारको प्राथमिकतामा नपर्दा निर्माण कार्य अघि बढ्न नसकेपनि ढिलै काम सुरु हुँदा खुसी लागेको भट्टेडाँडा–५, छपेलीका फणिन्द्र बजगाइँ बताउँछन्।
लोकपथ निर्माण भएसँगै ललितपुरका दुर्गम दक्षिणपूर्वी भेग र मकवानपुरको उत्तरपूर्वी भेगका बासिन्दाको जीवनस्तरमा परिवर्तन आउने ललितपुर र मकवानपुरको सीमास्थित भट्टेडाँडा–९ काल्चेखोलाका स्थानीयवासी रामबहादुर थिङको भनाइ छ ।
सडक विस्तारसँगै ललितपुरका झाँक्रीभीर र काल्चेखोलालगायत स्थानमा पहिरो गएको छ । विस्तारमा चट्टानको पहाड आएका स्थानमा काम ढिला भएको योजनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण