शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीको राजीनामापछि उपेन्द्र, महन्थ र गच्छदारको गोप्य बैठक

बिहीबार, ११ जेठ २०७४, १५ : १८
बिहीबार, ११ जेठ २०७४

काठमाडौ जेठ ११– चुनावमा जाने कि आन्दोलनमा जाने विषयमा ठोस निर्णय गर्न नसकिरहेको राष्ट्रिय जनता पार्टीले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र विजयकुमार गच्छदार अध्यक्ष रहेको नेपाल लोकतान्त्रिक फोरमसगँको छलफललाई तीब्रता दिएको छ ।

राजपा नेपालका नेताहरु उपेन्द्र यादव र विजयकुमार गच्छदारको निरन्तर संवादमा छन् । अहिले तीनै पक्षको बीचमा विजयकुमार गच्छदार ठाकुरको निवासमा छलफल भइरहेको छ । छलफलमा फोरम नेपालका उपेन्द्र यादव, राजपाका महन्थ ठाकुर र लोकतान्त्रिक फोरमका विजयकुमार गच्छदार सहभागि रहेको स्रोतले जनाएको छ ।

राजपाको जारी बैठक बीचैमा स्थगित गरी महन्थ ठाकुर उपेन्द्र यादव र विजयकुमार गच्छदारसँग छलफल गर्न पुगेका हुन् । आज राजपा नेपालले पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी थियो । जेठ १९ गतेसम्मका लागि पहिलो चरणको आन्दोलन घोषणा गर्ने तयारी राजपा नेपालले गरेको छ ।

आज विहानै राजेन्द्र महतो र उपेन्द्र यादवबीच एक घण्टा वार्ता भएको स्रोतले जनाएको छ । यसअघि पनि महतो र यादवबीच फोनमा पटक–पटक वार्ता भएको छ ।

महन्थ ठाकुर पनि यादवसँग निरन्तर फोन सम्पर्कमा छन् । ठाकुरले त विजयकुमार गच्छदारलाई दुई पटक भेटेर नै छलफल गरेका छन् ।

के विषयमा छलफल ?

राजपा नेपाल पक्षका नेताहरुले उपेन्द्र यादव र विजयकुमार गच्छदारलाई आन्दोलनमा ल्याउनका लागि छलफल भइरहेको दाबी गरेका छन् भने संघीय समाजवादी फोरम नेपाल र फोरम लोकतान्त्रिक पक्षका नेताहरुले अगामी दोस्रो चरणको चुनावमा तालमेल गर्नका लागि छलफल भइरहेको दावी गरेका छन् ।

फोरम नेपाल र लोकतान्त्रिक फोरम दोस्रो चरणको चुनावमा जाने निश्चित भइसकेको छ । यस अवस्थामा चुनावको विरुद्ध हुने आन्दोलनमा यी दुई दलले भाग लिने कुरा नहुने नेताहरु बताउँछन् । ‘सामान्य ऐक्यबद्धता जनाउन सकिने अवस्था आउन सक्छ तर चुनाव छाडेर आन्दोलनमा जाने सम्भावना हुँदैन,’ फोरम नेपालका एक नेताले रातोपाटीसँग कुरा गर्दै भने ।

तर राजपा नेपाल पक्षका नेताहरुले भने उपेन्द्र यादव र विजयकुमार गच्छदारले आफूहरुको आन्दोलनमा साथ दिने तयार भएको दावी गरेका छन् । अब कस्तो खालको आन्दोलन गर्ने त्यो विषयमा छलफलहरु भइरहेको उनीहरुको दावी छ ।

यद्यपि, राजपा नेपाल अफै आन्दोलनमा जाने कि नजाने अझै तय भइसकेको छैन । आन्दोलनमा जाने कि चुनावमा जाने विषयमा राजपा भित्रै मतान्तर रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप