शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

जनप्रतिनिधिका लागि कार्यकक्ष तयार गरिँदै

बिहीबार, १८ जेठ २०७४, १५ : ३८
बिहीबार, १८ जेठ २०७४

झापा, जेठ १८- आसन्न स्थानीय तहको निर्वाचनमा नेतृत्वमा सम्भाल्ने जनप्रतिनिधिका लागि झापाका गाउँपालिका तथा नगरपालिकामा कार्यकक्ष तयार गर्न लागिएको छ ।

जिल्लाका आठ नगरपालिका तथा सात गाउँपालिकाका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष, वडाध्यक्ष तथा अन्य कार्यसमितिका पदाधिकारीका लागि कार्यकक्ष तयार गर्न लागिएको सम्बन्धित गाउँपालिका तथा नगरपालिकाका कर्मचारीेले जनाएका छन् । भद्रपुर नगरपालिकाका इन्जिनियर योगेन्द्र श्रेष्ठले नगरपालिकामा प्रमुख–उपप्रमुखको कक्ष पहिलेदेखि नै रहेकाले रङ्रोगन र व्यवस्थापनको काम भइरहेको बताए । मन्त्रालयबाट वडा कार्यालयसहितको व्यवस्थापनका लागि रु ३२ लाख बजेट आएको छ भन्दै उनले भने – “द्रुत गतिमा काम भइरहेको छ ।”

अर्जुनधारा नगरपालिकाका अधिकृत राधाकृष्ण खतिवडाले वातानुकूलित, सिसी क्यामेरासहितको सुविधासम्पन्न कार्यकक्ष निर्माणको काम धमाधम भइरहेको बताए। उनले भने – “प्रमुख–उपप्रमुखसहित अन्य जनप्रतिनिधिका लागि बस्ने ठाउँको व्यवस्था भइरहेको छ ।”

कनकाई नगरपालिकाका अधिकृत खगेन्द्र गिरीले जनप्रतिनिधिका लागि सुविधा सम्पन्न कार्यकक्ष निर्माण भइरहेको बताए । उनले सरकारले तोकेका मापदण्डअनुरुपको कार्यकक्ष निर्माण स्थानीय तहको निर्वाचनअगावै सम्पन्न हुने जानकारी दिए ।

“काम सुरु गरेका छौँ, चाँडै सकिन्छ”, बिर्तामोड नगरपालिकाका अधिकृत खड्गबहादुर कार्कीले कार्यकक्षको व्यवस्थापनबारे जानकारी दिँदै भने – “निर्वाचित जनप्रतिनिधि आउनुअगावै काम सक्छौँ ।”

गौरादह गाउँपालिकामा पनि अध्यक्ष÷उपाध्यक्षसहितको जनप्रतिनिधिको कार्यालय व्यवस्थापनको काम धमाधम भइरहेको कार्यालय प्रमुख रवीन्द्र वस्तीले बताए । नौवटा वडा रहेको गौरादहमा पाँचवटा वडा कार्यालय भए पनि चारवटा अपुग भएकाले भाडामा लिएर काम अघि बढाइएको उनले जानकारी दिए ।

त्यस्तै, मेचीनगर नगरपालिका, दमक नगरपालिका, शिवसताक्षी नगरपालिका, गौरीगञ्ज गाउँपालिका, कमल, कचनवकल, बाह्रदशी, बुद्धशान्ति, झापा र हल्दिबारी गाउँपालिकामा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तोके बमोजिमको ढाँचामा कार्यकक्ष निर्माण भइरहेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप