शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
राजनीति

‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’

मधेसवादी दलका नेता एवं स्थानीय बुद्धिजीवी भन्छन्- रास्वपाको प्रदेश सभा खारेजीको एजेण्डामा मलजल थप्ने काम भयो
शुक्रबार, ०१ साउन २०८३, १८ : ००
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • प्रदेशहरूमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन संकटमा परेको छ, केही प्रदेशमा भत्किसकेको छ भने केहीमा केन्द्रको निर्देशन कुरेर बसेको छ ।
  • मधेसवादी दल, बुद्धिजीवी र नागरिक समाजका अगुवाले प्रदेशमा सत्ता समीकरण परिवर्तन गरी आफ्नो स्वार्थ अनुकूल सरकार गठन हुनुलाई सत्ता स्वार्थको चरम नमुना मानेका छन् ।
  • उनीहरूले सत्तारुढ दल रास्वपाले प्रदेश सभा खारेजीको एजेण्डा उठाइरहेका बेला पुराना दलहरूले सत्ताको उही फोहरी खेललाई निरन्तरता दिँदा रास्वपाको एजेण्डामा झनै मलजल गर्ने टिप्पणी गरेका छन् ।

जनकपुरधाम । जेनजी आन्दोलन अघिसम्म केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन थियो । प्रदेशहरुमा पनि साेही गठबन्धनले सत्ता हातमा लियो । जेनजी आन्दोलनले सङ्घमा गठबन्धन सरकार त ढल्यो, तर प्रदेशमा साेही गठबन्धनले  निरन्तरता पाइरहेको थियो ।

अहिले सबैजसो प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सङ्कटमा परेको छ । केही प्रदेशमा सो गठबन्धन भत्किसकेको छ भने केहीमा केन्द्रको निर्देशन कुरेर बसेको अवस्था छ ।  

आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गराउनु पर्ने अवस्था छ । प्रदेश सभाको कार्यकाल ०८४ मंसिरसम्म रहे पनि स्थानीय तहको निर्वाचनसँगै प्रदेश सभाको निर्वाचन गराउने विकल्पमाथि पनि छलफल चलिरहेको अवस्था छ । यही अवस्थामा यसरी प्रदेशमा सत्ता समीकरण परिवर्तन गरी आफ्नो स्वार्थ अनुकूल सरकार गठन हुनुलाई मधेसवादी दल, बुद्धिजीवी, नागरिक समाजका अगुवाले सत्ता स्वार्थको चरम नमुनाका रुपमा व्याख्या गर्न थालेका छन् ।

 उनीहरुले सत्तारुढ  दल रास्वपाले प्रदेश सभा खारेजीको एजेण्डा उठाइरहेका बेला पुराना दलहरुले सत्ताको उही फोहरी खेललाई निरन्तरता दिँदा रास्वपाको एजेण्डामा झनै मलजल गर्ने टिप्पणी गरेका छन् ।

नेपाली कांग्रेसका मधेस प्रदेशका नेता परमेश्वर साहले सरकार परिवर्तन हुनु स्वाभाविक भए पनि अहिले जसरी सरकारहरु फेर्ने काम भइरहेको छ, यसले जनतालाई झनै निराश बनाएको बताए । उनले भने, ‘प्रदेशहरुमा कुनै दलको बहुमत नहुँदा यस्तो अस्थिरता निम्तिएको हो । बहुमत भएको भए यो अवस्था आउँदैनथ्यो ।'

संसदीय अभ्यासमा बहुमतकाे खेल भइरहने बताउँदै उनले मधेसी जनताको ठुलो बलिदानीपछि आएको सड्घीयतालाई बलियो बनाउने भूमिकामा सबै लाग्नुपर्नेमा जोड दिए । उनले भने, ‘सङ्घीयता ल्याउन मधेसले ठुलो बलिदानी दिएको छ, कुनै दल विशेषले खारेज गर्ने एजेण्डा ल्याउँदैमा त्यो खारेज हुन सक्दैन ।'

जनता समाजवादी पार्टीका मधेस प्रदेश अध्यक्ष बालकिशोर यादवले कांग्रेस र एमालेबिचको गठबन्धन उनीहरुकै कारण सङ्कटमा पर्दैमा सरकार नै भ्याकुममा राख्न नमिल्ने बताए । उनले ठुला पार्टीकै कारण प्रदेशको राजनीतिक अवस्था बिग्रिएको धारणा राखे ।

यादवले राजनीतिमा 'एडभेन्चर' गर्न नहुने बताउँदै पुराना पार्टीहरुकै कारण जनता झनै निराश हुन पुगेको बताए ।

रास्वपाले प्रदेश सभा खारेजीको मुद्दा आफ्नो स्वार्थको लागि मात्र बोलेको भन्दै उनले मधेसमा आफ्नो दल ठुलो पार्टी रहे पनि प्रतिपक्षको भूमिकाबाट आफ्नो कर्तव्य पूरा गरिहेको उनले प्रस्ट पारे ।

नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र राईले कांग्रेस, एमाले र माओवादीको राजनीति जनताका लागि नभएर सत्ता केन्द्रित भएकै कारण देश अहिले यो अवस्थामा पुगेको गुनासो गरे । उनले भने, ‘पुराना पार्टीले केही गर्न सकेनन् । अहिले बालेनले देशको नेतृत्व गरिरहेका छन् । जनताले दिएको म्यान्डेट अनुसार उसले काम गर्नुपर्छ ।’

पुराना पार्टीप्रति वितृष्णा राख्दै उनले सङ्घीय सत्ताबाट विमुख भएका कांग्रेस, एमालेले केन्द्रमा आफ्नो अनुकूल सरकार बनाउने र गिराउने खेल अहिले प्रदेशहरुमा गर्न खोजेको आरोप लगाए ।

एमालेका स्थानीय नेता बाबुसाहेब यावले पद लोलुपताकै कारण देश अहिले यो अवस्थामा पुगेको बताए । उनले भने, ‘केन्द्रकै नेताहरुका कारण संगठन बदनाम त छँदैछ, सामान्य कार्यकर्ता समेत बदनाम हुन पुगेका छन् ।'

उनले मन्त्री बनाउने अनि कामै गर्न नदिई २, ४ दिनमै मन्त्रीमण्डल अदलबदल गरिनुले सङ्घीयतामाथि झनै निराशा फैलाउने काम गरेको बताए । कांग्रेसका कारण अहिले प्रदेश सरकार परिवर्तन हुन पुगेको आरोप लगाउँदै उनले अब पनि यी पार्टीहरु नसच्चिने हो भने केन्द्रबाट सत्ताच्यूत भएजस्तै अबको निर्वाचनपछि प्रदेशबाट पनि बढारिने दाबी गरे ।

यता मधेसका बुद्धिजीवी, पेसाकर्मी एवं नागरिक समाजका अगुवाले आफ्नो स्वार्थ अनुरुप बारम्बार सरकार ढाल्ने र बनाउने खेलमा पुराना पार्टी लिप्त भइरहेको भन्दै यसले जनतामा झनै नकारात्मक असर पर्न थालेको बताए ।

जनकपुर–१० का बुद्धिजीवी डा. प्रा.  शैलेन्द नारायण मल्लिकले दलहरुले जहिले पनि शक्तिमै रहिरहने चाहना प्रकट गरिराख्नुले प्रदेशहरुमा यस्ता समस्या देखिन थालेको बताए । उनले भने, 'रास्वपाले  संघमा पार्टीका कारण नभई एक जना व्यक्तिको कामको लोकप्रियताले दुईतिहाइ सम्मको जनमत पायो । यसबाट पुराना दलले सिक्नुपर्ने हो ।'

काठमाडौंको मेयर हुँदा बालेनले सहरको विकासका लागि गरेको काम हेरेरै जनताले उनलाई प्रधानमन्त्री बनाउन रास्वपालाई देशभरबाट मत दिएको मल्लिकको भनाइ छ । 'सत्ता र शक्ति खोजिराख्ने र त्यसको हालीमुहालीको चाहना पुराना पार्टीहरुले नबदल्ने हो भने भारतमा कांग्रेस लगायतका अन्य पार्टी जसरी लोप हुने अवस्थामा पुगे, त्यस्तै हविगत यिनीहरुको पनि नआउला भन्न सकिँदैन,' उनले भने ।

स्थानीय समाजसेवी नवलकिशोर कर्णले पुराना दलहरुकै कारण सङ्घीयताप्रति नागरिकको धारणा परिवर्तन हुँदै गएको बताए । पुराना दलहरुले जहिले पनि सत्ताकै राजनीतिमा जोड दिँदै आएको अवस्थामा प्रदेश सभा खारेजीको एजेण्डालाई स्थापित गर्न मलजल हुने गरी अहिले फेरि एक पटक सरकार परिवर्तनकाे पहल गरेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप