शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

प्रम निर्वाचनको सूचना शुक्रबार सार्वजनिक गरिने

बिहीबार, १८ जेठ २०७४, २० : ५०
बिहीबार, १८ जेठ २०७४
काठमाडौँ, जेठ १८– व्यवस्थापिका–संसद् बैठकको अवरोध कायमै रहेकाले संसद् सचिवालयले शुक्रबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल गरी प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरेको छ । संविधानको प्रावधानानुसार सहमतीय आधारमा प्रधानमन्त्रीको चयन प्रक्रिया अगाडि नबढेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि बहुमतीय आधारमा प्रक्रिया अगाडि बढाउन आग्रह गरेको थियो । प्रधानमन्त्रीको निर्वाचन बहुमतीय प्रक्रियाबाट अघि बढाउने सम्बन्धी राष्ट्रपतिको पत्र संसद् सचिवालयमा आज प्राप्त भए पनि संसद् बैठक अवरुद्ध भएकाले विगतको अभ्यासानुसार उक्त पत्र संसद्मा जानकारी गराएर निर्वाचन प्रक्रिया अघि बढाउने कार्य पूरा हुन सकेन । यद्यपि संसद् बैठकमा जानकारी नगराई प्रधानमन्त्री निर्वाचनको सूचना सार्वजनिक गर्न सचिवालयलाई कुनै कानुनी बाधा नभएको सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए । सोही वियषमा छलफल गर्न शुक्रबार बिहान १० बजे सभामुख ओनसरी घर्तीले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएको छ । बैठकमा छलफल गरी सहमतिमा प्रधानमन्त्रीको निर्वाचन तालिका सार्वजनिक गरिने सचिवालयको तयारी रहेको उनले बताए । भरतपुर महानगरपालिकाको मतगणना जारी रहँदा मतपत्र च्यातिएको घटनाको विरोध गर्दै आएको नेकपा (एमाले)ले आज दोस्रो दिन पनि सदन अवरोध गरेको छ । संसद्को अर्को बैठक यही जेठ २१ गते बिहान ११ बजेका लागि तोकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही जेठ १० गते पदबाट राजीनामा दिएपछि राष्ट्रपति भण्डारीले जेठ ११ गते नेपालको संविधानको धारा २९८ को उपधारा ९२० बमोजिम व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सहमतिका आधारमा सात दिनभित्र प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्न आह्वान गरेको थियो । सरकारको नेतृत्व आलोपालो गर्ने नेपाली काँग्रेससँगको समझदारी अनुसार प्रधानमन्त्री दाहालले राजिनामा दिएको हो । सो समयावधिभित्र सहमतीय प्रक्रियाबाट प्रधानमन्त्रीको निर्वाचन हुन नसकेपछि आज राष्ट्रपति भण्डारीले बहुमतीय प्रक्रिया सुरु गर्न आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले जानकारी दिए । प्रवक्ता गौतमले भने – ‘वर्तमान सरकार कामचलाउ भइसकेको र सहमतिको सरकार बन्ने अवस्था पनि नभएकाले एउटै मात्र विकल्प भनेको बहुमतीय प्रक्रिया नै हो ।’ कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल गरेपछि सचिवालयले तीन दिनमा निर्वाचन प्रक्रिया सम्पन्न हुने गरी प्रधानमन्त्री निर्वाचन तालिका सार्वजनिक गर्ने तयारी गरेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप