स्वच्छ, निष्पक्ष र भयरहित चुनावका लागि नेपाल प्रहरीको भूमिका प्रशंसायोग्य : प्रधानमन्त्री
जेठ १९, काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो चरणको स्थानीय तहको चुनाव पनि स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले भूमिका खेल्ने अपेक्षा गरेको बताएका छन् । प्रहरी निरीक्षक आधारभूत तालिम १६५ औं समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न निर्वाचन महत्वपूर्ण आधारशीला हो । यस कुरालाई मध्यनजर गरी सरकारले स्थानीय तहको पहिलो चरणको निर्वाचन व्यापक जनसहभागितामा सम्पन्न गरिसकेको छ भने दोस्रो चरणको निर्वाचन व्यापक जनसहभागितामा उत्सवकै रुपमा सम्पन्न गर्ने तयारी भइसकेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै स्थानीय तहको दोश्रो चरण तथा प्रदेश र संघका निर्वाचनहरुमा समेत यस्तै भूमिकाको अपेक्षा गर्दछु । ’
प्रहरी निरीक्षक आधारभूत तालिम १६५ औं समूहको दीक्षान्त समारोह सम्माननीय प्रधानमन्त्रीज्यूको मन्तव्य
माननीय उपप्रधान एवं गृहमन्त्री ज्यू महान्यायाधिवक्ता ज्यू, प्रधानसेनापति ज्यू, गृह सचिव ज्यू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु, त्रिभूवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन तथा अन्य पदाधिकारीहरु, सम्पूर्ण राष्ट्रसेवकहरु, आज दीक्षित हुनुहुने सम्पूर्ण प्रहरी अधिकृत र परिवारजन, कार्यक्रममा उपस्थित दिदीबहिनी तथा दाजुभाइहरु, सञ्चारकर्मी मित्रहरु । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज, काठमाडौंमा सञ्चालित प्रहरी निरीक्षक आधारभूत तालिम १६५ औं समूहको दीक्षान्त समारोहमा प्रमुख अतिथिको रुपमा उपस्थित भई आफ्ना केही भनाइहरु राख्न पाउँदा खुशी लागेको छ । यसका लागि म राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक तथा प्रतिष्ठान परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु । सर्वप्रथम, आज दीक्षित हुनुहुने प्रहरी अधिकृतहरुलाई १९ महिनाको निरन्तर तथा अथक प्रयास, दृढ समर्पण, लगन र मेहेनतपश्चात् प्रहरी निरीक्षक तालिम सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा हार्दिक बधाई दिदैँ कार्यक्षेत्र र व्यक्तिगत जीवनमा सदैव सफलताको शुभकामना व्यक्त गर्दछु । यस विशिष्ट समारोहमा तपाईहरुबाट भर्खरै प्रदर्शन गरिएको अत्यन्त फूर्तिलो र व्यवसायिकता झल्काउने कवाजका लागि धन्यवाद दिन चाहन्छु । राष्ट्र र जनताको सेवाका लागि आफ्नो सुयोग्य सन्तान नेपाल प्रहरीमा प्रवेश गराउने दीक्षित प्रहरी निरीक्षकका परिवारजनहरुमा नेपाल सरकार र मेरो व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद र आभार प्रकट गर्दछु । समग्र राज्यको सूरक्षा र सञ्चालनमा आन्तरिक सूरक्षाको महत्वपूर्ण र गहन जिम्मेवारी सरकारले नेपाल प्रहरीलाई दिएको छ । त्यसैले नेपाल प्रहरी कानून कार्यान्वयन तथा सरकारको कार्यकारीणी अधिकारको कार्यान्वयनमा अग्रपंतिमा रहेको हुन्छ । यो कानूनको आँखा पनि हो, जसले सबै ठाउँमा निगरानी राख्दछ, यस अर्थमा यसलाई Iron hand of government पनि भन्ने गरिन्छ । नेपाल प्रहरीको इतिहास भन्नु नै त्याग, समर्पण, कर्तव्यनिष्ठ, बलिदान एवम् “सत्य सेवा सुरक्षणम्” प्रतिको प्रतिवद्धता हो । शान्ति सूरक्षा अमनचयन भनेको प्रतिदिन मात्र नभई प्रतिघडीको महत्वपूर्ण विषय हो । यस अति गरिमामय तथा संवेदनशील विषयको कार्यभार नेपाल प्रहरीलाई राज्यले सुम्पिएको छ । दीक्षित हुन लाग्नुभएका अधिकृतहरु यी सबै विषयहरुसँग परिचित मात्र हैन, अभ्यस्त पनि भएको हुनुपर्दछ । प्रहरीले समाजमा शान्ति सुव्यवस्था कायम राख्न आवश्यक पर्ने ज्ञान, सीप र दक्षता अभिवृद्धिका लागि हालका दिनमा प्रहरी निरीक्षक आधारभूत तालिमलाई आधुनिकीकरण तथा अन्तरराष्ट्रिय रुपमा समेत शैक्षिक (प्राज्ञिक) पहिचान दिलाउन उदेश्यले त्रिभूवन विश्वविद्यालयसँगको सम्बन्धनमा पि.जी. डिप्लोमा कार्यक्रम सञ्चालन गराई तालिममा व्यवसायिक बनाएको जानकारी पाउँदा अझ खुसी लागेको छ । यसबाट परिवर्तित जटिल सामाजिक परिवेशका चुनौतीहरु सामना गर्न तपाईहरु सैद्धान्तिक तथा व्यवहारिक रुपमा सफल, सबल र सक्षम बन्नुभएको छ भन्ने विश्वास मैले लिएको छु । नागरिकको सेवामा समर्पित संगठन भएको कारण नागरिकप्रति सदैव उत्तरदायी र जिम्मेवार रहनैपर्दछ । यसका लागि प्रत्येकले आफूलाई अझै बढी जनमुखी, जनउत्तरदायी र व्यवसायिक रुपमा सेवा प्रवाह गर्न आफूलाई तयार राख्न समेत यस अवसरमा म तपाईहरुलाई निर्देशित गर्न चाहन्छु । समय र प्रविधिको विकास सँगसँगै अपराधको क्षेत्रमा समेत नयाँ नयाँ चुनौति र जटिलताहरु थपिएका छन् । त्यस्ता किसिमका चुनौतिहरुलाई व्यवसायिक र प्रभावकारी रुपमा सामना गर्न हामीमा अझ परिष्कृत ज्ञान, सीप साथै दायित्वबोध र निरन्तर लगावको खाँचो पर्दछ । तसर्थ, तपाईहरु कार्यक्षेत्रमा खटिँदा पनि आफ्नो कर्तव्य र जिम्मेवारीप्रति नयाँपनसहित सदैव संवेदनशील रहन आग्रह गर्दछु । मुलूक संघीय संरचनामा प्रवेश गरिसकेको छ । यो सन्दर्भमा मुलुकभर आवश्यक पर्ने प्रहरी जनशक्तिको उत्पादन तथा विकास गर्ने केन्द्रीय प्रशिक्षण संस्थाको रुपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको विकास गर्दै थप पूर्वाधार तथा स्तरवृद्धि गर्नु आजको आवश्यकता हो । यसमा सरकार सधैं सकारात्मक छ । सुरक्षा व्यवस्था सुदृढ बनाउन प्रहरीमा संख्या वृद्धि भन्दा गुणात्मक विकासमा जोड दिनु बढी महत्वपूर्ण छ । संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न निर्वाचन महत्वपूर्ण आधारशीला हो । यस कुरालाई मध्यनजर गरी सरकारले स्थानीय तहको पहिलो चरणको निर्वाचन व्यापक जनसहभागितामा सम्पन्न गरिसकेको छ भने दोस्रो चरणको निर्वाचन व्यापक जनसहभागितामा उत्सवकै रुपमा सम्पन्न गर्ने तयारी भइसकेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै स्थानीय तहको दोश्रो चरण तथा प्रदेश र संघका निर्वाचनहरुमा समेत यस्तै भूमिकाको अपेक्षा गर्दछु । दीक्षित हुन लाग्नुभएका अधिकृतहरुले पनि स्थानीय तहको निर्वाचन सम्पन्न गराउने चुनौतीपूर्ण अवसर प्राप्त गर्नुभएको छ, जुन अवसर राष्ट्र र व्यक्तिगत जीवनका लागि समेत महत्वपूर्ण छ । लोकतन्त्रसँगै आम नागरिकमा राज्यप्रतिको माग र आकांक्षाहरु बढेर गएका छन् भने अर्कोतर्फ केही आपराधिक र गैरराजनीतिक तत्वहरु यसै अवसरलाई उपयोग गरी अवाञ्छित क्रियाकलाप सञ्चालन गर्ने दुष्प्रयास गरिरहेका छन् । दीक्षित भई जान लाग्नुभएका तपाईहरुले आफ्नो कार्य क्षेत्रमा आफूलाई प्राप्त ज्ञान, कौशल र सीपको सही र उचित सदुपयोग गरी यस्ता अवाञ्छित क्रियाकलापलाई नियन्त्रण गर्नुहुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान व्यवसायिक तथा कुशल जनशक्ति उत्पादनमा अहोरात्र क्रियाशील संस्था हो । यसै परिप्रेक्ष्यमा प्रतिष्ठानलाई अझ समृद्ध र विकसित तुल्याई दक्षिण एशियाकै Neutral Venue का रुपमा विकास गर्नुपर्ने आवश्यकता हामीसामू छ । प्रतिष्ठानलाई सोअनुरुप अगाडि बढाउन आवश्यक पर्ने सहयोग गर्न सरकार प्रतिवद्ध छ । अन्त्यमा, प्रहरी अधिकृतहरुलाई पुनः बधाई दिँदै तपाईहरुको उज्वल भविष्य, उत्तरोत्तर प्रगति एवं सफलताको कामना गर्दछु । यस प्रतिष्ठानको आदर्श वाक्य “ज्ञान, कर्म, कौशल’ अनुरुप प्रशिक्षण दिई नेपाल प्रहरीको सूयोग्य, कर्मठ, इमान्दार, कर्तव्यनिष्ट र अनुशासित अधिकृतहरु उत्पादन गर्नुभएकोमा प्रतिष्ठानका कार्यकारी निर्देशक लगायत सम्पूर्ण अधिकृत, तथा अन्य सम्बद्ध सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु, धन्यवाद । १९ जेठ, २०७४
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण