शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पहिलो प्रेमपत्र च्यातेर फलिदिएँ – गायिका माण्डबी

शुक्रबार, १९ जेठ २०७४, १२ : २२
शुक्रबार, १९ जेठ २०७४

‘सिम्पल–सिम्पल कान्छीको डिम्पल पर्ने गाला...’ ‘अन्दाज’ चलचित्रभित्र रहेको यो गीतले नेपाली साङ्गीतिक आकाशमा एउटा तरङ्ग नै पैदा गर्यो । यसै गीतबाट रातारात हिट भएकी गायिका हुन्–माण्डवी त्रिपाठी । हुन त त्रिपाठीले यस अगाडि पनि केही गीत गाएकी थिइन् । तर दीपक लिम्बूसँग गाएको यो गीतले उनलाई सङ्गीतिक उचाइ दियो । पछिल्लो समय लोक, लोकपप, आधुनिक, तीज होस् या फिल्मी सबै प्रकारको गीतमा उनको स्वर सुन्न पाइन्छ । देश विदेशका कार्यक्रममा पनि त्यतिकै ब्यस्त छिन् उनी । ‘भर्सटायल’ गायिकाको छविसमेत बनाएकी त्रिपाठीसँग महजोडीदेखि सामान्य कलाकारले संयोजना गरेको दर्जनौँ सङ्गीतिक टुरको अनुभव पनि छ । तर अमेरिकामा गाउने रहर उनको अझे अधुरो छ । जुन पूरा गर्ने कोसिसमा छिन् उनी । उनै गायिका माण्डबीसँग गरिएकाे कुराकानी:

सौन्दर्यमा कतिको सजक हुनुहुन्छ ? – पहिलेको भन्दा अहिले बढी सजक भएकी छु । त्यसो भन्दैमा धेरै समय लाएर मेकअप गर्ने होइन । १५, २० मिनेट लाग्छ । मोस्चरायज, फाउन्डेसन, गाजल, मस्कारा, आइस्याडो, रोललगायत मेकपका साधन प्रायः लगाउँछु ।

फिटनेसतिर कतिको ध्यान दिने गर्नुभएको छ ? –पछिल्लो समय त्यति ध्यान दिन भ्याएकी छैन । बच्चा भएपछि यो क्रम छुटेको हो । अहिले फिटनेसका लागि खानेकुरामा मेन्टेन गरिरहेकी छु । आब केही समयपछि एरोबिक जाने सोचाइ छ ।

फेसनप्रति कतिको रुचि छ ? –चलेका सबै खालका फेसन मनपर्छ । मनपरे पनि आफूलाई सुहाउने नसुहाउने विचार गर्नुपर्छ । त्यो विचार गरेर मात्र लगाउँछु । किनभने त्यो आफ्नो शरीरमा पनि फिट हुनुपर्यो । प्रायः कार्यक्रम होस् या अन्य पाइन्ट टिसर्ट धेरै लगाउँछु ।

गायनको पहिलो कमाइ केमा खर्च गर्नुभयो ? – त्यो कमाइ त्यति धेरै त थिएन । पहिलो कमाइ सदुपयोग गर्नुपर्छ भन्ने लागेर दिदीसँग बजार गएर दुवै जानाका लागि परफ्युम किनेर ल्याएका थियौँ ।

घुम्न मनपर्ने ठाउँ पनि होला नि ? – मलाई आफ्नो देश एकदमै सुन्दर लाग्छ । पोखरा पनि राम्रो लाग्छ । प्राकृतिक सौन्दर्यले भरिएको ठाउँ सबै घुम्न रमाइलो लाग्छ । त्यस्ता ठाउँहरु बेलाबेलामा घुम्ने गरेकी छु ।

पूरा नभएका सपना पनि होलान् हैन ? –मेरो विचारमा जिन्दगी नै सपना हो । त्यसैले छैन भनेर भन्न पनि सकिँदैन । एक सपना पूरा गर्यो भने अर्काे सपनादेखि हालिन्छ । सपना भएन भने अगाडि बढ्न सकिन्न । कार्यक्रमको सिलसिलामा विभिन्न देश पुगेकी छु । अब अमेरिका पुग्न बाँकी छ ।

पहिलो प्रेमपत्र कहिले, केमा आयो र कसले दियो ? –म स्कुल पढ्दै थिएँ । सँगै पढ्ने एक साथीले प्रेमपत्र कापीको पानामा लेखेर दिएका थिए । पत्र हात परेपछि धेरे डर लाग्यो । त्यो च्यातेर फलिदिएँ ।

मनपर्ने गीत तथा गायक नि ? गायक नारायण गोपाल मनपर्छ । गीत पनि उहाकै ‘तिम्रो जस्तो मुटु मेरो’ धेरै मनपर्छ ।

चराजस्तै स्वतन्त्र उड्ने अवसर मिल्यो भने ? – हा हा हा यस्तो अवसर मिल्यो भने गजबै हुन्छ । म आकाशमा उडेर चारैतिर हेर्छु । आफू अहिले पुग्न नसकेको ठाउँमा पुग्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप