शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

जनयुद्धमा पैदल कर्णाली चहारेका राजकुमार कर्णालीको तेस्रो मुख्यमन्त्री

क्रान्तिको राजनीतिबाट खारिएका शर्माको यस्तो छ राजनीतिक यात्रा
बुधबार, २७ पुस २०७९, १७ : १२
बुधबार, २७ पुस २०७९

सुर्खेत । स्कुल पढ्दा–पढ्दै राजनीतिमा होमिएका नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा (आर्ट) संसदीय राजनीतिको पहिलो प्रयासमै कर्णालीको मुख्यमन्त्री बन्न सफल भएका छन् । उनी बुधबार कर्णालीको तेस्रो मुख्यमन्त्री बनेका हुन् ।

रुकुम पश्चिम निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित शर्मालाई प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनी क्रान्तिको राजनीतिबाट खारिएका नेता हुन् ।

कर्णालीको पहिलो मुख्यमन्त्रीको रुपमा माओवादीकै महेन्द्रबहादुर शाही र दोस्रो मुख्यमन्त्री नेपाली कांग्रेसका जीवनबहादुर शाही बनेका थिए । प्रदेशसभाको पहिलो कार्यकालमा दुई मुख्यमन्त्री पाएको कर्णालीले गत मंसिर ४ मा सम्पन्न निर्वाचनपछि सुरु भएको दोस्रो कार्यकालको सुरुवातमा शर्मालाई तेस्रो मुख्यमन्त्रीका रुपमा पाएको हो ।

०२८ साल भदौ १८ गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका—१४ साक्चा, नुवाकोट (साबिक नुवाकोट गाविस) मा जन्मिएका शर्मा जिज्ञासु र क्रान्तिकारी स्वभावका थिए । २०४१ सालमा स्कुल पढ्दा–पढ्दै अनेरास्ववियूको राजनीतिमा होमिएका शर्माको राजनीतिक पृष्ठभूमि लामो र संघर्षशील छ ।

०४१ सालमा आफ्नै घरमा आयोजित विद्यार्थीको क्षेत्रीय सम्मेलनमा सहभागी बनेका उनी त्यसपछि निरंकुश राजतन्त्रको विरोध, जनयुद्धको तयारीका क्रममा ०५०÷५१ सालमा रूकुम रोल्पामा सञ्चालित ग्रामीण वर्ग संघर्षको थालनीकर्ता हुँदै जनयुद्धमा पूर्णकालीन कार्यकर्ता भएर राजनीतिमा होमिएका थिए ।

०४३ सालमा सदरमुकाम मुसिकोट पुगेर विद्यार्थीको इकाई कमिटी सदस्य भएर काम गरेका उनले ०४६ सालमा नेकपा (मशाल)को पार्टी सदस्यता प्राप्त गरे । त्यसपछि उनी ०४७ सालदेखि पूर्णकालीन रुपमा राजनीतिमा होमिएका हुन् ।

०४८ सालमै सर्वहारावादी श्रमिक संगठन, नेकपा (मसाल)को केही हिस्सा, नेकपा (मशाल) मिलेर नेपाल कम्युनिस्ट पार्टी एकता केन्द्र बन्यो । त्यो बेला खुला मोर्चाका रूपमा बाहिर जनमोर्चाका नाममा वैधानिक राजनीतिक गतिविधि गरिएको थियो ।

शर्माको अगुवाइमा त्यही समयमा जनसेवा तथा जनपरिचालन मार्फत विकास निर्माण, जनयुद्धको तयारी, जनयुद्धको आवश्यकता बारेमा जनजागरण, स्थानीय जालीफटाहा विरोधी जनसंघर्षका थुप्रै काम भएका थिए । ०५० सालमा महतको फुलबारी जङ्गलमा ४५ दिने सशस्त्र तालिम गरेर जनयुद्धका लागि फौजी आधार तयार गर्न शर्माको महत्वपूर्ण भूमिका रह्यो ।

जनयुद्धको आधार तयार गर्न रूकुममा सञ्चालित ग्रामीण वर्गसंघर्षका क्रममा भएका स्थानीय थुप्रै जनसंघर्षका कामको नेतृत्व लिँदै जनयुद्ध पूर्व नै पूर्णकालीन राजनीतिमा होमिएका शर्माले ०५२ फागुन १ गते रूकुमको राडी प्रहरी चौकी कब्जा गर्न नेतृत्वदायी भूमिका खलेका थिए । ०५३ पुसमा डोल्पाको त्रिवेणी चौकी आक्रमणमा सहभागी शर्माका लागि उक्त लडाइँ विशेष स्मरणीय छ । एउटा एसल्ट टिम (आक्रमणमा सहभागी मुख्य लडाकु टिम) को कमाण्ड गरी उक्त लडाइँमा सहभागी शर्माका लागि मुख्य कमाण्डर दौलतराम घर्ती (विजय घले) लाई गुमाउनुपरेका कारण पनी विशेष स्मरणीय रहेको थियो । जनयुद्धकै क्रममा उनको नाम ‘आर्ट’ रहन पुग्यो ।

जनयुद्धको विस्तारका लागि ०५४ सालदेखि साबिक कर्णालीमा सरूवा भएर उनले विभिन्न कमाण्डको नेतृत्व गरेका थिए । क्रममा उनले जुम्ला, कालिकोट, मुगु, डोल्पा, हुम्ला, दैलेख लगायका जिल्लामा विभिन्न समयमा जिल्ला सेक्रेटरी तथा जिल्ला इन्चार्जका रूपमा नेतृत्वदायी भूमिका खेल्दै कर्णालीमा जनयुद्धको विस्तार तथा आधार इलाका निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

जहाँ अप्ठ्यारो परिस्थिति सिर्जना हुन्छ, त्यही क्षेत्रमा शर्मालाई खटाइने गरिन्थ्यो । ०६१ सालमा दैलेखमा खटाइयो, जतिबेला दैलेखमा माओवादी विरूद्ध प्रतिकार अभियान चलाइएको थियो । शान्ति प्रक्रियासम्म उनले दैलेखमा नेतृत्व गरे । शान्ति प्रक्रियापछि थारुवान राज्य समितिको (दाङ–कञ्चनपुर) को प्रमुख भएर काम गरेको अनुभव शर्मासँग छ ।

‘जहाँ टेक्यो त्यहीँ उम्रिनुपर्छ’ भन्ने मान्यता राख्ने शर्माले ०६७ सालपछि नेवा राज्यमा रहेर काम गरे । जनयुद्धको क्रान्तिबाट खारिएका उनी माओवादीको केन्द्रीय प्रचार विभागमा समेत रहेर काम गरिसकेका छन् ।

उनी गणतान्त्रिक मञ्चको केन्द्रीय अध्यक्ष समेत भइसकेका छन् । ०७४ मा जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख भएर काम गरेका शर्मा ‘जनपरिचालन बिना समृद्धि आउँदैन’ भन्ने तर्क राख्दछन् ।

नेकपा माओवादी केन्द्र रुकुम पश्चिमको इञ्चार्जको भूमिका निर्वाह गरेका शर्मा पोलिटब्यूरो सदस्य हुँदै ०७८ मा पार्टीको कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी सम्हाल्न पुगे । हाल पार्टीको पोलिटब्यूरो सदस्य रहेका उनी ‘कर्णाली समृद्धि’ आफ्नो पहिलो एजेण्डा रहेको बताउँछन् ।

आफूले राजनीतिमा लाग्न प्रेरित गरेका र समकालीन राजनीतिक पृष्ठभूमि भएका थुप्रै सहकर्मीहरूले राज्य संचालनका थुप्रै अवसर प्राप्त गर्दा पनि अहिलेसम्म अवसर र सुविधाका पदमा उनी पुगेका थिएनन् । राज्यसत्ता परिवर्तनका लागि जनयुद्धका क्रममा सिङ्गै कर्णालीलाई पैदल चहारेका उनी पैदल यात्राकै क्रममा कर्णालीका दुरदराजका जनताको वास्तविक अवस्थालाई नजिकबाट चिने, बुझेको बताउँछन् ।

कर्णालीवासीको मुहारमा खुशी र सम्पन्नता ल्याउने अठोट उनको छ । उनी साहित्यमा पनि उत्तिकै प्रखर छन् । ‘लौ हिँड साथी हो नयाँ बाटो जाउँ, समाजवादी यात्रामा उठौँ अब गाउँ’ लगायतका समाजवादी गीत उनले रचना गरेका हुन् । शर्माहरुकै अगुवाइमा रुकुम पश्चिममा ‘समाजवादको यात्रा’ मोडेल तयार गरेर समृद्धिको मार्ग चित्र कोरिएको छ ।

‘कर्णाली बनाउने भिजन प्रस्ट छ’

शर्मा आफूसँग कर्णाली बनाउने भिजन प्रस्ट रहेको बताउँछन् । त्यसका लागि कर्णालीको साधन, स्रोत परिचालन र चिन्न सक्ने दक्ष जनशक्ति उत्पादनसहितको ‘एकीकृत कर्णाली विकास मोडेल’ बनाउनुपर्ने उनको तर्क छ ।

कर्णालीसँग ‘एकीकृत कर्णाली विकास मोडेल’ बिना कर्णाली अघि बढ्न नसक्ने उनको भनाइ छ । ‘आत्मनिर्भर कर्णाली चाहिएको छ, प्राकृतिक हिसाबले धनी हुँदाहुँदै पनि हामी परनिर्भर भयौँ, मगन्ते जस्तो भयौँ,’ शर्माले आफ्नो कर्णाली विकास मोडेल सुनाउँदै भने, ‘यहाँ पर्यटन छ, यार्सादेखि बहुमूल्य जडीबुटी छ भने भेरी र कर्णाली खेर गइरहेको छ ।’

साथै संघीयतालाई बलियो बनाउनका लागि अझै संघर्ष गर्नुपर्ने उनी बताउँछन् । प्रदेशलाई आत्मनिर्भर गराउनका लागि सबैभन्दा पहिला साझा अधिकार र एकल अधिकारका विषयमा कानुनी संघर्ष चाहिएको उनको भनाइ छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप