मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

बारा–पर्साका औद्योगिक करिडोरमा अघोषित लोडसेडिङ

शनिबार, ३० पुस २०७९, १५ : २५
शनिबार, ३० पुस २०७९

बारा । छिमेकी मुलुक भारतले नियमित रूपमा दिँदै आएको विद्युत् कटौती गरेपछि बारा–पर्सा औद्योगिक करिडोरमा अघोषित रूपमा दैनिक  ८ देखि १० घण्टा लोडसेडिङ सुरु भएको छ । गत वर्ष हिउँदमा भारतबाट ८ सय मेगावाट सम्म विद्युत् आयात भए पनि यस वर्ष कटौती गरेर ३ सय मेगावाट मात्रै विद्युत् दिँदै आएको नेपाल विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रले जनाएको छ ।

‘हिउँद’मा हामीले पहिला ८ सय मेगावाटसम्म बिजुली खरिद गरेर देशभरको सबै मागहरू पुरा गर्थ्यौँ, अहिले भारतले ३ सय मेगावाट पनि दिन मान्दैन’ विद्युत् प्राधिकरण सिमरा शाखा प्रमुख रामु श्रेष्ठले भने ‘अहिले हामीलाई भारतले ४ सय मेगावाट मात्रै विद्युत् दियो भने देशभर पर्याप्त हुन्छ, तर कहिले त ३ सय मेगावाट सय मेगावाटमा झारिदिन्छ’  भारतीय विद्युत् नेपालको वीरगञ्ज,बुटवल, विराटनगर र ढल्केबरको बाटो हुँदै भित्रिन्छ ।

पछिल्लो समय आन्तरिक उत्पादन पनि घट्नु र छिमेकी मुलुक भारतबाट ल्याउँदै गरेको विद्युत् पनि कटौती भएपछि बारा–पर्सा औद्योगिक करिडोरमा बिहान–बेलुका विद्युत् कटौती भएको प्राधिकरण सिमरा शाखाले जनाएको छ । ‘हामीले उद्योगहरूलाई बिहान बेलुका बत्तिमात्रै बाल्नु भनेका छौँ, मजदुरहरूलाई काममा नलगाऊ भनेका छौ’ सिमरा शाखाका अर्का एक अधिकारीले भने । बारा–पर्सा औद्योगिक करिडोरमा  सिमरा वितरण केन्द्र अन्तर्गत २ सय उद्योग र वीरगञ्ज वितरण केन्द्र अन्तर्गत ७ सय उद्योगहरू छन् । ती उद्योगहरूले मात्रै  दैनिक ३ सय मेगावाट खपत गर्ने गर्दछन् ।  

वर्षेनी हिउँद लागेपछि आन्तरिक उत्पादनले धान्न नसकेपछि मङ्सिरदेखि जेठ दोस्रो सातासम्म भारतबाट विद्युत् आयात गर्नुपर्दछ । वर्षा याम सुरु भएपछि भने मुलुकभित्रको आन्तरिक विद्युत् उत्पादनले थेग्न सक्दछ । अहिले नेपालमा आन्तरिक विद्युत् उत्पादन वर्षा याममा दैनिक २ हजार २ सय मेगावाट र हिउँदमा ७ देखि ८ सय मेगावाट विद्युत् उत्पादन हुने गर्दछ । ‘हिउँदमा विद्युत् उत्पादन ठ्याक्कै एक तिहाइले घट्छ, हामीलाई दैनिक १ हजार ५ सय मेगावाट विद्युत् आवश्यक पर्दछ’ प्राधिकरण सिमरा शाखाका प्रमुख श्रेष्ठले भने । यता वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले अहिले उद्योगहरूमा दैनिक ८ देखि १० घण्टा लोडसेडिङ भइरहेको बताएका छन्  ।

‘गत वर्ष हिउँदमा अवस्था सामान्य थियो,यसपटक धेरै समस्या भएको छ, बैंकको ब्याजले उद्योगीहरू मारमा छन्, उत्पादन पनि आधा घटेको छ, यही अवस्थामा भारतबाट नियमित आइरहेको विद्युत् पनि कटौती भएको छ, डिजेलबाट उद्योग सञ्चालन गर्न सक्ने अवस्था छैन’ वरिष्ठ उपाध्यक्ष अग्रवालले भने । बारा पर्सा औद्योगिक करिडोरमा निमार्णजन्य र खाद्य उद्योगहरू साना ठुला गरेर करिब ९ सयको सङ्ख्यामा रहेका छन् ।

जसमध्ये झण्डै सयको हाराहारीमा सिमेन्ट उद्योगहरू रहेका छन् । वरिष्ठ उपाध्यक्ष अग्रवालले  अघोषित रूपमा हुने विद्युत् कटौतीले सबैभन्दा ठुलो मारमा सिमेन्ट उद्योगहरू रहेको बताएका छन् ।

 शालिमार सिमेन्ट कम्पनिका प्रशासन प्रमुख गिरीधारी अग्रवालले उत्पादन विगतको तुलनामा ९० प्रतिशतले घटेकोले विद्युत् खपत पुरै घटेको बताएका छन् । ‘हामीकहाँ“ प्लान्ट नै बन्द हुने अवस्थामा छ, विगतको तुलनामा १० प्रतिशत मात्रै उत्पादन भएकाले लोडसेडिङले भए/नभएको त्यति सरोकार छैन’ प्रशासन प्रमुख अग्रवालले भने । बैंकको ब्याजदर बढ्नु, सिमेन्ट उद्योगहरूको उत्पादन ह्वात्तै घट्दा साना उद्योगहरूमा विद्युत् खपत समेत घटेको प्राधिकरणले जनाएको छ ।

विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मनिन्द्र ठाकुरले छिमेकी मुलुक भारतमा विद्युत्को पावर प्लान्टमा समस्या भएकोले नेपालमा पर्याप्त विद्युत् आयात गर्न नसकिएको जानकारी दिए । ‘अहिले भइरहेको विद्युत् कटौतीलाई लोडसेडिङ भन्न मिल्दैन, भारतबाट विद्युत् आउने प्लान्टमा समस्या भएर हो, केही दिनभित्र यो समाधान हुन्छ’ प्राधिकरण प्रदेश प्रमुख ठाकुरले भने ।

पछिल्लो समय सरकारको नेतृत्व हेरफेर, राजनीतिमा तहमा भारत विरोधी गतिविधि सुरु हुनासाथ त्यसको प्रत्यक्ष असर विद्युत् आयातमा  समेत पर्ने गरेको छ प्राधिकरण श्रोतले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप