मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

बागमती मन्त्रिपरिषद्‍मा ८ नयाँ अनुहार, ३ जनाको दोस्रो इनिङ्स

बुधबार, ११ माघ २०७९, १५ : ४९
बुधबार, ११ माघ २०७९

मकवानपुर । बागमती प्रदेश सरकारमा बुधबार एकैदिन ८ मन्त्री नियुक्त भई पद तथा गोपनीयताको शपथ सम्पन्न भएको छ । सत्तारुढ गठबन्धनका ३ दलबाट बुधबार ८ जना मन्त्री बनेका हुन् । 

नेकपा माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारमा सो दलबाट ३, नेकपा एमालेबाट ३ र राप्रपाबाट २ जना मन्त्री नियुक्त भएका हुन् ।  

माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता सालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा यससँगै सो दलका मन्त्रीको संख्या ४ पुगेको छ भने एमालेका पनि ४ जना पुगेको छ । यस्तै राप्रपाका ३ जना मन्त्री बनेका छन् । यससँगै बागमती प्रदेश सरकारले पूर्णता पाएको छ । 

गत पुस २५ गते प्रदेशको मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेलले २६ गते शपथ ग्रहण गर्दै प्रदेशमा कायम रहेको १४ मन्त्रालयको संख्या घटाउने निर्णय गरेका थिए । सोही अनुसार प्रदेशका प्रमुख सचिव मुकुन्द्र निरौलाको संयोजकत्वमा मन्त्रालय घटाउन अध्ययनकार्यदल गठन गरेका भएको थियो । उक्त कार्यदलको सुझाव अनुसार मुख्यमन्त्री जम्कट्टेलले मंगलबार कुल सांसदको १० प्रतिशत हुने गरी प्रदेशमा ११ मन्त्रालय कायम गर्ने निर्णय गरेका थिए । ११ मन्त्रालय कायम गरेको भोलिपल्ट नै मुख्यमन्त्री जम्कट्टेलले मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा गंगा नारायण श्रेष्ठ, भौतिक पूर्वाधार विकासमन्त्रीमा युवराज दुलाल ‘शरद’, सामाजिक विकास मन्त्रीमा कुमारी मोक्तान, कृषि तथा पशुपन्छी विकास मन्त्रीमा केशवप्रसाद पोखरेल नियुक्त भएका छन् । यसैगरी श्रम रोजगार तथा यातायात मन्त्रीमा एकालाल श्रेष्ठ, स्वास्थ्य मन्त्रीमा रामेश्वर श्रेष्ठ, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री उद्धव थापा तथा  पर्यटन, उद्योग तथा सहकारी मन्त्रीमा डम्बर बहादुर तामाङ र वन तथा वातावरण मन्त्रीमा राजु विष्टले जिम्मेवारी पाएका छन् । यसअघि प्रदेशको मुख्यमन्त्रीमा जम्कट्टेल र आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जिम्मेवारी पाइसकेका छन् ।

b1

८ मन्त्रीको पहिलो सत्तारोहण

११ मन्त्रीमध्ये ८ जनाले पहिलो पटक प्रदेशमा सत्तारोहण गरेका छन् । जसमध्ये ७ जना प्रदेशसभाको पहिलो यात्रामा नै मन्त्री हुने अवसर पाए भने एक जना सांसदले दोस्रो पटकको संसद् यात्रामा मात्र मन्त्री बन्ने अवसर पाए ।

सांसद भएको पहिलो पटकमा नै मन्त्री बन्नेहरुमा एमालेका जगन्नाथ थपलिया, एकालाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ रहेका छन् भने माओवादी केन्द्रका गंगानारायण श्रेष्ठ र राप्रपाका उद्धव थापा, राजु विष्ट र डम्बर बहादुर तामाङ रहेका छन् । एमालेका केशवप्रसाद पोखरेल भने दोस्रो पटकको संसद् यात्रामा मन्त्री हुने अवसर पाएका हुन् ।

एमालेका थपलिया यसअघि तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकार थिए । उनले गत ४ मंसिरमा प्रदेशसभाको निर्वाचनमा चितवन क्षेत्र नम्बर–१ (क) बाट निर्वाचित भएका थिए ।

त्यस्तै एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ पनि पहिलो पटकको संसद् यात्रामा मन्त्री बनेका छन् । उनी मकवानपुर क्षेत्र नम्बर–१ –ख)बाट निर्वाचित भएका थिए । एमालेका रामेश्वर श्रेष्ठ पनि पहिलो प्रयासमा मन्त्री बनेका छन् । उनी ललितपुर क्षेत्र नम्बर–२ (क)बाट निर्वाचित सांसद हुन् ।

सिन्धुली क्षेत्र नम्बर–२ (ख)बाट निर्वाचित गंगानारायण श्रेष्ठ पनि पहिलो पटकमै मन्त्री बनेका छन् ।

राप्रपा बागमती प्रदेश संसदीय दलको नेता उद्धव थापा पनि पहिलो पटकको संसद् यात्रामा मन्त्री बनेका छन् भने धादिङबाट निर्वाचित डम्बर बहादुर तामाङ र काठमाडौंबाट निर्वाचित सांसद राजु विष्ट पनि मन्त्री बनेका छन् ।

b

सत्तामा ३ जनाको दोस्रो इनिङ्स

बागमती प्रदेश सरकारका मन्त्रीहरु मध्ये ३ जना दोस्रो इनिङ्सका लागि नियुक्त भएका छन् । संसद्को पहिलो कार्यकालमा तत्कालीन नेकपाको सरकार हुँदा आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका जम्कट्टेल हाल सरकारको नेतृत्व गरिरहेका छन् । उनी एमाले विभाजन पछि कांग्रेस र एकीकृत समाजवादीको गठबन्धन नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री रहेका थिए । उनी २०७४ र २०७९ मा सम्पन्न निर्वाचनमा धादिङ क्षेत्र नम्बर–१ (ख)बाट निर्वाचित भएका हुन् ।

त्यस्तै माओवादी केन्द्रबाट कुमारी मोक्तान पनि दोस्रो पटक मन्त्री नियुक्त भएकी छिन् । गत २०७८ कात्तिक ११ गते तत्कालीन कांग्रेस र एकीकृत समाजवादीको गठबन्धनबाट राजेन्द्र प्रसाद पाण्डे नेतृत्वको सरकारमा उनी सामाजिक विकास मन्त्रीको जिम्मेवारीमा रहेकी थिइन् । उनले वर्तमान मन्त्रिपरिषदमा पनि सोही मन्त्रालयको जिम्मेवारी पाएकी छिन् । उनी २०७४ र २०७९ को निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–२ (क)बाट निर्वाचित सांसद हुन् ।

त्यसै संसद्को पहिलो कार्यकालमा एकाएक सामाजिक विकास मन्त्री बनेका युवराज दुलाल ‘शरद’ पुनः मन्त्री बनेका छन् । तत्कालीन समयमा नेकपा नेतृत्वको सरकार कायम हुँदा मुख्यमन्त्री डोरमणि पौडेलले उनलाई सामाजिक विकास मन्त्री नियुक्त गरेका थिए । नेकपाको आधिकारिकता र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसयता माओवादी केन्द्र सत्ता साझेदार दलको रुपमा रहदाँसमेत उनी मन्त्री बनेन् । यस पटक भने उनी पुनः मन्त्री बनेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप