मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गत आर्थिक वर्षमा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र

मङ्गलबार, १२ साउन २०८३, १२ : ०४
मङ्गलबार, १२ साउन २०८३

जनकपुरधाम । सडक डिभिजन कार्यालय जनकपुरधामले आर्थिक वर्ष २०८२/८३ मा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र सडक र छ वटा पुल निर्माण गरेको छ ।

सडक डिभिजन कार्यालय जनकपुरधामका प्रमुख इन्जिनियर दारोगा प्रसादका अनुसार आव २०८२/८३ मा धनुषामा ३० किमी र महोत्तरीमा १० किमी कालोपत्रे सडक निर्माण गरिएको छ ।

त्यस आवमा धनुषामा पाँच र महोत्तरीमा एउटा पुल निर्माण सम्पन्न गरिएको छ । धनुषाको जमुनी नदी, परशुराम तलाउ नजिक अमारी खोला, दूधमती खोला, बलुवा खोला र भुतहा खोलामा पुल निर्माण गरिएको प्रमुख प्रसादले जानकारी दिए । महोत्तरीको अंकुश खोलामा पनि सो आवमा पुल निर्माण गरिएको छ ।

यसैबीच धनुषा र महोत्तरी जिल्लामा निर्माणाधीन पुल तथा सडक योजना अलपत्र पार्ने ११ निर्माण कम्पनीमाथि सडक डिभिजन कार्यालय जनकपुरधाम धनुषाले कारबाही अघि बढाएको छ ।

ती जिल्लामा निर्माणाधीन सडक तथा पुलको निर्माणको ठेक्का लिई समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरी कम्पनीमाथि कारबाही अघि बढाएको सो कार्यालयले जनाएको छ ।

त्यस्तै जिल्लामा निर्माणाधीन केही पुल सीमा सुरक्षासम्बन्धी विषय, केहीमा ठेक्का रद्द, केही अदालती विवाद र सुस्त निर्माणका कारण काम अलपत्र परेका छन् ।

प्रमुख प्रसादका अनुसार जनकपुरधाम–जटही छ लेन सडकमा पर्ने जमुनी खोला, दूधमती खोला र बसही नदीमा निर्माणाधीन तीनवटै पुल अलपत्र पार्ने निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरी कारबाही प्रक्रिया अघि बढाइएको छ ।

कचुरी–नयाँटोल–कटरैत सडकको जल्लाद नदी पुल र दुहबी–हर्साहा सडकको दूधमती नदी पुल उच्च अदालतको आदेशसँग सम्बन्धित विषयका कारण निर्माण रोकिएको प्रमुख प्रसादले बताए ।

पुल निर्माणमा भएको ढिलाइका कारण वर्षायाममा आवागमनमा समस्या, जोखिमपूर्ण यात्रा र आर्थिक गतिविधिमा असर परेको स्थानीयको गुनासो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप