सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

भोलि बेलुकासम्म मुख्यमन्त्रीका लागि दाबी पेस गर्नुपर्ने, अहिलेसम्म छैन सुरसार

सोमबार, ११ साउन २०८३, १७ : ४६
सोमबार, ११ साउन २०८३

सारांश

  • कर्णाली प्रदेशमा मुख्यमन्त्रीका लागि मंगलबार बेलुका ५ बजेसम्म दाबी पेस गर्नुपर्ने समयसीमा तोकिएको छ ।
  • मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएसँगै प्रदेश सरकार नेतृत्वविहीन बनेको छ ।
  • केन्द्रमा भएको सत्ता समीकरण अनुसार कर्णालीमा नेकपालाई मुख्यमन्त्री भाग परेको छ, यद्यपि अहिलेसम्म औपचारिक संवाद सुरु भएको छैन ।

सुर्खेत । कर्णालीमा मंगलबार बेलुका ५ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेस गर्नुपर्ने समयसीमा छ ।

प्रदेश प्रमुख यज्ञराज जोशीले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाका सदस्यलाई साउन १२ गते साँझ ५ः०० बजेभित्र मुख्यमन्त्री पदको लागि दाबी पेस गर्न आह्वान गरेका छन् । 

शनिबार मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएसँगै सरकार यतिबेला नेतृत्वविहीन अवस्थामा छ । केन्द्रमा नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेबिच प्रदेशमा सत्ता समीकरण बनेको छ । कर्णालीमा नेकपालाई मुख्यमन्त्री भाग परेको अवस्था छ ।  

यद्यपि हालसम्म नेकपा र एमाले संसदीय दलका नेताबिच औपचारिक संवाद नै सुरु भएको छैन । आइतबार बिहानै नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही र एमाले संसदीय दलका नेता यामलाल कँडेल काठमाडौँ गएका छन् । 

उनीहरू मंगलबार बिहान मात्रै सुर्खेत फर्कनेछन् । काठमाडौँमा नेकपा संसदीय दल नेताले संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरिसकेका छन् । साथै, उनले एमाले अध्यक्ष केपी ओलीलाई भेटेर सुर्खेत फर्कने तयारी गरेको स्रोत बताउँछ । 

यो बीचमा त्यस्तो कुनै राजनीतिक घटना नभए शाही नै मुख्यमन्त्री बन्ने निश्चित छ । शाहीले तोकिएकै समयमा मुख्यमन्त्रीका लागि दाबी पेस गरिने बताएका छन् । यता एमालेले सबै कामकारबाहीको जिम्मेवारी दल नेता कँडेललाई दिएको छ । यद्यपि हालसम्म कँडेल र शाहीबिच औपचारिक संवाद भने हुन सकेको छैन । 

‘सामान्यतयः फोनमा हेलो, हाई जस्तो भए पनि औपचारिक संवाद भएको छैन,’ स्रोत भन्छ ।

कँडेल नेकपाकै कारण आफ्नो सत्ता अपमानजनक तरिकाले ढलेको भन्दै रिसाएका छन् । एमालेका केन्द्रीय सचिवसमेत रहेका कँडेलले ‘नेकपालाई केन्द्रमा कम्युनिस्टबीच समीकरणको चर्चा भइरहेको छ, अविश्वासको प्रस्ताव फिर्ता लिनुस्’ भन्दा पनि नेकपाले मानेको थिएन । 

सोही कारण उनले शनिबार पदबाट राजीनामा दिएका थिए । काठमाडौँ गएका उनले एमाले अध्यक्ष लगायत नेतालाई भेट गरिरहेको एमाले स्रोत बताउँछ । एमाले सांसद विनोदकुमार शाह भन्छन्, ‘नेकपाकै कारण राजीनामा दिनुपर्ने अवस्था आयो, तर माथिबाट लगत्तै नेकपालाई मुख्यमन्त्री बनाउने भनेर समझदारी भयो ।’ यो कुरा एमाले कर्णालीलाई राम्रो नलागेको उनले बताए । 

यद्यपि एमालेसँग सहकार्यको प्रस्ताव ल्याएर नेकपा कसरी आउँछ भन्नेमा भर पर्ने उनी बताउँछन् ।

नेकपा प्रदेश अध्यक्ष विमला केसी पनि नेकपाकै कारण राजीनामा दिनुपर्ने अवस्था आएकाले केही असहज भए पनि केन्द्रको निर्णय कार्यान्वयन गर्नुको विकल्प नरहेको बताउँछिन् । ‘अरू नेताबिच खासै समस्या छैन, एमाले दल नेतालाई अलि रिस उठ्नु स्वाभाविक हो,’ केसी भन्छिन्, ‘अब केन्द्रमा निर्णय भइसकेपछि नमानेर सुख छैन ।’ 

केसीले प्रदेशमा पार्टीमा दुवै दलका नेताबिच छलफल भइरहेको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप