सुधन गुरुङलाई उपसभापति बनाउन रवि लामिछाने सकारात्मक
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति विस्तारको तयारी गरेको छ, जसमा पदाधिकारी र सदस्य मनोनयन गरिनेछ।
- पार्टीको विधानअनुसार सभापतिलाई ५१ जना केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार छ, तर एकता प्रक्रियामा रहेका सबै पक्षलाई मिलाएर मनोनयन गर्न थप गृहकार्य आवश्यक छ।
- उपसभापतिमा गृहमन्त्री सुधन गुरुङको सम्भावना बलियो देखिएको छ, जसलाई सभापति रवि लामिछाने सकारात्मक रूपमा हेरिरहेका छन्।
काठमाडौँ । महाधिवेशन भएको एक महिनापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाँकी केन्द्रीय सदस्य र पदाधिकारी मनोनीत गर्ने तयारी गरेको छ। बुधबार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय समितिको दोस्रो बैठकले केन्द्रीय सदस्य र पदाधिकारी मनोनीत गर्ने तयारी गरेको हो।
महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको बैठकको कार्यसूचीमा महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिहरूको तर्जुमा तथा परिमार्जन, साङ्गठनिक व्यवस्थापन तथा मनोनयन, आगामी अभियान तथा कार्यक्रम सञ्चालन र विविध विषय समावेश छन्।
रास्वपाको विधानअनुसार ५१ जना केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार सभापतिलाई छ। तर बुधबारको बैठकबाट केन्द्रीय समितिले पूर्णता नपाउने महामन्त्री आचार्यले जानकारी दिए।
‘यो केन्द्रीय समिति बैठकले सबै केन्द्रीय सदस्य मनोनीत गर्ने सम्भावना कम छ। एकता प्रक्रियामा आएका सबै पक्षलाई मिलाएर मनोनीत गर्नुपर्ने छ। त्यसका लागि थप गृहकार्य आवश्यक छ। बैठकले केही पदाधिकारी र सदस्य मनोनीत गर्छ होला,’ रातोपाटीसँग आचार्यले भने।
महाधिवेशनले संशोधनसहित पारित गरेको विधानमा १८ जना पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ। असार ७ देखि १२ गतेसम्म चितवनमा भएको प्रथम महाधिवेशनले सभापतिसहित सात पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य निर्वाचित गरेको थियो। बाँकी ५१ जना मनोनीत हुन बाँकी छन्। रास्वपाले वरिष्ठ नेतालाई पदाधिकारीमा राखेको छैन। एक उपसभापति, एक महामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, दुई सहमहामन्त्री, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष मनोनीत हुन बाँकी छ। रास्वपामा पदाधिकारी बन्न केन्द्रीय सदस्य अनिवार्य हुनुपर्छ। त्यसकारण बैठकले पहिले केन्द्रीय सदस्य मनोनीत गरेर पदाधिकारी बनाउनुपर्ने छ।
महाधिवेशनमा प्रतिनिधिको प्रत्यक्ष मतदानबाट सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले र सोविता गौतम निर्वाचित भएका छन्। महामन्त्रीमा विपिन आचार्य तथा तीन सहमहामन्त्रीमा असिम शाह, हरि ढकाल र निशा डाँगी निर्वाचित भएका छन्।
रास्वपाका एक नेताका अनुसार प्रधानमन्त्री रहेका बालेन्द्र शाह समूहले नामावली उपलब्ध नगराउँदा केन्द्रीय समिति विस्तारमा ढिलाइ भएको हो।
‘हामी आफूलाई स्मार्ट पार्टी दाबी गरे पनि सबै पक्षलाई मिलाउन खोज्दा समय लाग्दोरहेछ। प्रथम महाधिवेशन एकताको महाधिवेशन पनि भएकाले समय लिएर नै काम गर्न खोजिएको हो,’ ती नेताले भने, ‘बालेनलगायत एकता प्रक्रियाबाट नामावली आइसकेको छैन। उताबाट सूची आएपछि भूगोल, समावेशी र कार्यक्षमता हेरेर केन्द्रीय समितिलाई छिट्टै पूर्णता दिनेछौँ।’
स्रोतका अनुसार मनोनीत केन्द्रीय सदस्यहरूमध्ये ६०–४० को सहमतिको प्रयास भएको छ। बालेन समूहले ५०–५० को आधारमा केन्द्रीय सदस्य मनोनीत हुनुपर्ने अडान राखेको थियो। पदाधिकारी र केन्द्रीय सदस्य मनोनीत गर्ने विषयमा सभापति रवि र प्रधानमन्त्री बालेन निरन्तर छलफलमा रहेको स्रोतको दाबी छ। यद्यपि बालेन समूहले २० जना केन्द्रीय सदस्य पाउने गरी सहमति भएको बुझिएको छ। जेनजी, थारु समूहसहित सबै पक्षलाई समेट्ने जिम्मा बालेन समूहलाई दिएको स्रोतको भनाइ छ। वरिष्ठ नेताबाहेक एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक सहप्रवक्ता र दुई सहकोषाध्यक्षमा बालेन समूहको दाबी रहेको बुझिएको छ।
उपसभापतिमा सुधनको सम्भावना
वरिष्ठ नेतामा बालेन शाह नै निर्विकल्प रहेका छन्। विधानमा दुई वा दुईभन्दा बढी वरिष्ठ नेता रहने व्यवस्था भए पनि बालेनकै लागि विधान संशोधन भएको नेताहरूले बताएका छन्। यता एक उपसभापतिमा गृहमन्त्री रहेका सुधन गुरुङको सम्भावना बलियो रहेको बुझिएको छ। यस पदका लागि बालेनका विश्वासपात्र रहेका सुनिल लम्सालको पनि दाबी छ। भौतिक पूर्वाधार मन्त्री रहेका लम्सालभन्दा गुरुङलाई उपसभापति बनाउन सभापति रवि सकारात्मक रहेको स्रोतको दाबी छ।
‘पार्टी पंक्तिमा धेरैले सुधनलाई उपसभापति बनाउनुपर्ने सुझाव आएका छन्। उनलाई उपसभापति बनाउँदा पदाधिकारी समावेशी पनि हुन्छ। रवि र बालेनलाई एक ठाउँमा ल्याउन उनले नै रसायनको काम गरेकाले सुधन उपसभापति बन्ने सम्भावना बलियो छ। उनी भएमा रवि र बालेनको पनि असहमति रहँदैन,’ स्रोतले भन्यो।
महामन्त्रीमा भूपदेव र सुदीपको प्रतिस्पर्धा
बालेन समूहले पाउने एक महामन्त्रीमा निवर्तमान महामन्त्री भूपदेव शाह र केन्द्रीय सदस्य सुदीप ढकालबिच प्रतिस्पर्धा रहेको छ। बालेन काठमाडौँ महानगरपालिकाका मेयर हुँदा शाह स्वकीय सचिव थिए भने ढकाल सूचना प्रविधि तथा सुशासन सल्लाहकार थिए। शाह फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा अछाम–२ बाट पराजित भएपछि रास्वपाले व्यवस्थापनका लागि उनलाई महामन्त्री बनाएको थियो।
पार्टीले शाहकै लागि विधान संशोधन गरेर दुई महामन्त्री रहने व्यवस्था गरेको थियो। तर महाधिवेशनमा रवि पक्षलाई जिताउन भूमिका खेलेको भन्दै प्रधानमन्त्री बालेन शाह उनीसँग असन्तुष्ट रहेको बुझिएको छ। खासगरी बालेनका सल्लाहकार कुमार बेन र शाहबिच देखिएको द्वन्द्वका कारण उनी महामन्त्री बन्ने सम्भावना कमजोर रहेको बालेन निकट एक नेताको बुझाइ छ।
‘भूपदेव शाहको भूमिकालाई लिएर बालेनजी सन्तुष्ट देखिनुभएको छैन। महामन्त्रीमा सुदीप ढकाल नै आउने सम्भावना बलियो छ। तर अहिलेसम्म कसलाई महामन्त्री बनाउने भन्नेमा ठोस निर्णय भएको छैन,’ ती नेताले भने।
ती नेताका अनुसार यदि ढकाल महामन्त्री बन्न नचाहे सहमहामन्त्री बनेर संगठन विभाग प्रमुख बन्ने सम्भावना रहेको छ।
‘विधानतः सहमहामन्त्रीले संगठन विभाग प्रमुखको नेतृत्व लिने व्यवस्था छ। पहिला पनि मुकुल ढकाल महामन्त्री भएकाले सहमहामन्त्री रहेका कवीन्द्र बुर्लाकोटीलाई संगठन विभागको जिम्मेवारी दिएको हो। सुदीप महामन्त्री बन्नुभएन भने संगठन विभाग प्रमुख बन्ने सम्भावना छ,’ ती नेताले भने।
लिमा कोषाध्यक्ष नबस्ने
पार्टी प्रवक्तामा केन्द्रीय सदस्य प्रमोद न्यौपानेको सम्भावना बलियो रहेको छ। महामन्त्रीमा पराजित भएका निवर्तमान प्रवक्ता मनिष झाले सोही पदमा दोहोरिन अस्वीकार गरेकाले न्यौपानेको सम्भावना बलियो रहेको नेताहरूले बताएका छन्। यता निवर्तमान कोषाध्यक्ष लिमा अधिकारीले पनि सोही पदमा दोहोरिन अस्वीकार गरेकी छन्।
‘सभापतिले कोषाध्यक्ष बन्नुपर्छ भनेर भनिरहनुभएको छ। पहिला पार्टी सानो थियो। धेरै मेहनत गरियो। अब पार्टी ठूलो भएको छ। त्यही पदमा दोहोरिन भनेको छु। राजनीतिक पदमा भए स्वीकार्छु भनेको छु,’ अधिकारीले भनिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाको घोषणा कार्यान्वयन नहुँदै अस्ताए गोपालमान
-
फिल्म ‘फलानो ढिस्कानो’ निर्माण हुने, मुख्य भूमिकामा साइग्रेस
-
एकैदिन ४२ विपद्का घटना
-
कुलमान घिसिङ भन्छन्– सांसदहरूले आफ्नै तलबबाट स्वकीय राख्नुहोस्
-
गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही
-
चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण