सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सोमबार, ११ साउन २०८३, १६ : ४१
सोमबार, ११ साउन २०८३

सुर्खेत । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन आउनेहरूको भीड लाग्ने गरेको छ। स्थानीय राति २ः०० बजेदेखि खाली ग्यास सिलिन्डर लिएर ग्यास डिलरमा पुग्छन्। एक–दुई दिन कुरेर मात्र भरिएको सिलिन्डर लिएर फर्किन्छन्। पछिल्लो समय ग्यास अभाव देखिएपछि उपभोक्ताले सास्ती खेप्नुपरेको हो।

विगतजस्तो जतिबेला पनि सजिलै ग्यास पाउने अवस्था नभएको स्थानीय बताउँछन्। केहीसँग मात्र ग्यासको विकल्प भए पनि यहाँका अधिकांश नागरिक खाना पकाउने एलपी ग्यासमा निर्भर छन्। ग्रामीण क्षेत्रमा वैकल्पिक इन्धनको व्यवस्था भए पनि सहरी क्षेत्रमा सजिलै दाउरा, गुइँठा पाउने अवस्था छैन। यसअघि ग्यासमा निर्भर रहनेहरूले यसको अभावमा समस्या भोग्दै आउनुपरेको छ।

वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतका भविका चौधरीले ग्यास पाउँदा आनन्दको अनुभूति भएको सुनाइन्। “चार दिनसम्म लाइनमा बस्दा बेलाबेलामा सासै बन्द होला जस्तो हुन्थ्यो। चुलो नबलेकाले यसबीचमा चाउचाउ, बिस्कुट र चिउरा खाएर गुजारा चलाइयो। आज बल्लतल्ल ग्यास पाइयो। धेरै ठूलो युद्ध जितेजस्तो महसुस भएको छ। आजदेखि खाना पकाएर खान पाइने भइयो,” उनले भनिन्।

चौधरी प्रतिनिधि पात्र मात्र हुन्। उनीजस्तै अन्य स्थानीयले ग्यास नपाएर धेरै दिन भोकभोकै बस्नुपर्ने अवस्था सामना गर्नुपर्‍यो। यसबाट धेरैजसो विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र सहज पहुँच नभएका नागरिक प्रभावित भएका छन्।

पहुँच भएकाले विभिन्न स्रोतबाट ग्यास लिएर आफ्नो दैनिक चलाए पनि अशक्त, विद्यार्थी र ज्येष्ठ नागरिकले सास्ती खेप्नुपरेको वीरेन्द्रनगर नगरपालिका–९ का स्थानीय तीर्थबहादुर थापाले दुखेसो पोखे। उनले भने, “हामी आइतबार बिहान ५ः०० बजेदेखि खाली ग्यास लिएर भर्नका लागि लाइनमा बसेका छौँ, अझै पालो आएको छैन। बेलुका खाली सिलिन्डर लिएर घर फर्केपछि भोलिपल्ट फेरि लाइनमा बस्न आउँछौँ। राति खाली सिलिन्डर सुरक्षाका लागि पाँच सय जनाले प्रतिव्यक्ति रु २० तिर्ने गरेका छौँ। आज पनि ग्यास पाउने हो कि होइन थाहा छैन।”

यसैबीच, नेपाल आयल निगम सुर्खेतका प्रमुख दिपककुमार घिमिरेले साउन १ गतेदेखि १० गतेसम्म वीरेन्द्रनगरबाट १७ हजार खाना पकाउने एलपी ग्यास वितरण गरिएको जानकारी दिए। उनले भने, “यसअघि हरेक महिनामा २६ हजार ग्यास वितरण हुन्थ्यो। तर साउनको १० दिनभित्र १७ हजार एलपी ग्यास वितरण भएको छ। यो निकै ठूलो परिमाण हो। यस हिसाबले एक महिनामा ५१ हजार आवश्यक पर्ने देखिन्छ।”

प्रमुख घिमिरेका अनुसार सुर्खेतमा एलपी ग्यासको अभाव छैन। बरु अनधिकृत बिक्रेताले विभिन्न स्रोतबाट सङ्कलन गरी भण्डारण गरेर राखेको हुन सक्ने उनले आशङ्का व्यक्त गरे। सञ्चारकर्मीसहित सरोकार भएका निकायले यसबारे आवश्यक अध्ययन तथा अनुसन्धान गर्नुपर्नेमा उनले जोड दिए। “अभाव छैन, अभाव गराइएको छ। यसबाट आमनागरिक र पहुँच नभएका व्यक्ति मर्कामा परेका छन्,” उनले भने।

कालिकोट घर भई हाल सुर्खेतमा बस्दै आएका अपाङ्गता भएका व्यक्ति मनराज कठायतले दुई दिनसम्म ग्यास लिन जाँदा नपाएर खाली हात घर फर्कनुपरेको पीडा पोखे। अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र सुत्केरीलाई ग्यास वितरणमा प्राथमिकता नदिँदा पीडा हुने गरेको उनले बताए।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले लक्षित वर्गको सहजता र सबै उपभोक्ताको उपलब्धताका लागि प्रहरी प्रशासनको निगरानीमा ग्यास वितरण गरिँदै आएको बताए। ग्यास अभावका विषयमा के भएको हो भन्नेबारे अध्ययन भइरहेको उनले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप