शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शून्य समयमा सांसदले उठाए मल, बीउ र सडक निर्माणको समस्या

आइतबार, २२ माघ २०७९, १४ : ४५
आइतबार, २२ माघ २०७९

काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई मलखाद, बीउबिजनको सहज उपलब्धता, सडक निर्माण र भारतसँगको खुला सिमानाबाट सिर्जित समस्याप्रति विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । 

शून्य समयमा सांसद देवप्रसाद तिमिल्सिनाले पटकपटक किसानको समस्या नसुनेकोप्रति ध्यानाकर्षण गराए । उनले सरकारले किसानको पीडा नसुनेको बताए । 

सांसद वासुदेव घिमिरेले कृषिको आधुनिकीकरणका लागि कृषकसँग सम्बन्धित रहेको मलखादको व्यवस्थापन गर्नुपर्ने बताए । उनले मलखाद र बीउबिजनका लागि स्वदेशमै कलकारखाना निर्माण गर्नुपर्ने बताए । 

सांसद तारा लामा तामाङले सिमानामा हुने अनियमितता र हिंसा रोक्न ध्यानाकर्षण गराए । कञ्चनपुरको बेलौरीमा बन्द अवस्थामा रहेको छोटी भन्सारलाई स्तरोन्नति गरेर सञ्चालनमा ल्याउन ध्यानाकर्षण गरे । उनले सिमानामा हुने हिंसा र अनियमितता रोक्न ध्यानाकर्षण गराए । 

तेजुलाल चौधरीले थारु आन्दोलन र थारु समुदायको भावनामाथि दमन गर्न काम भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । 

सांसद दामोदर पौडेलेले फेवा तालको सिमाङ्कनको प्रतिवेदनको कार्यान्वयन गर्नुपर्ने बताए । सांसद पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान र रुटको इजाजतप्रति ध्यानाकर्षण गराए । उनले मिर्गौला बिरामीका लागि डाइलासिस सेवा प्रभावकारी बनाउन पोखरामा डाइलासिस सेवा केन्द्र निर्माण गर्न  ध्यानाकर्षण गराए ।

सांसद दीपक खड्काले सङ्खुवासभा जिल्लामा हुने विद्युत् उत्पादनको करिब सात लाखको शेयर सस्तो ब्याजदरमा स्थानीयलाई उपलब्ध गराउन ध्यानाकर्षण गराए । 

सांसद दीपा शर्माले बाँकेमा निर्माणाधीन औद्योगिक क्षेत्रलाई तीव्र गति दिनुपर्ने बताइन् ।  

सांसद दुर्गा राईले भोजपुर जिल्लाको सडानन्द नगरपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाले स्थानीयलाई अन्याय गरेको बताइन् । उनले जथाभाबी सुरुङ खन्दा बस्ती नै जोखिममा परेकोप्रति ध्यानाकर्षण गराइन् । 

सांसद धवलशमशेर राणाले नेपालगञ्जबाट भारतको विभिन्न क्षेत्रमा हुने हवाई उडानको व्यवस्था मिलाउन ध्यानाकर्षण गरे । सांसद नारायणी शर्माले दाङ जिल्लाको सडक निर्माण अस्तव्यस्त हुँदा एक सय नौ जनाको मृत्युको भएको बताए । उनले सडक निर्माण गर्न ध्यानाकर्षण गरे । 

पुष्पबहादुर शाहले अछाम जिल्लामा बाढीपहिरोमा परी ज्यान गुमाउने र घरबारविहीनलाई तत्काल राहत र व्यवस्थापन गर्नुपर्ने बताए । उनले यस क्षेत्रका बासिन्दाका लागि तत्काल ठोस नीति लिएर स्थानीयको उद्धार गर्नुपर्नेप्रति ध्यानाकर्षण गराए । 

सांसद प्रकाश ज्वालाले सल्यान, दाङ र रुकुम जिल्लाको राप्ती लोकमार्गको तत्काल मर्मत र स्तरोन्नति गर्न ध्यानाकर्षण गरे । सांसद प्रकाशमान सिंहले काठमाडौँमा दुई दशक लामो समयपछि भित्रिएको मेलम्ची खानेपानीलाई बाह्रै महिना उपलब्ध हुनुपर्ने बताए । उनले मेलम्ची खानेपानी आयोजनाका कर्मचारीले साउनदेखि पारिश्रमिक नपाएकोप्रति ध्यानाकर्षण गराए । 

सांसद प्रदीप पौडेलले सम्पत्ति शुद्धीकरण गर्न बनेको विधेयकलाई तत्काल संशोधन पेस गर्न ध्यानाकर्षण गराए । सांसद प्रभुहजरा दुसाध भौतिक निर्माणका लागि स्थानीयलाई जग्गा मुआब्जा उपलब्ध गराउनुपर्ने बताए । 

सांसद बद्रीप्रसाद पाण्डेले पूर्वाधार निर्माण तीव्रता दिनुपर्ने बताए । सांसद प्रेमबहादुर महर्जनले ललितपुर जिल्लाका विभिन्न सडक चक्रपथको स्तरोन्नति र करिडोर खोल्न ध्यानाकर्षण गराए । 

सांसद बलराम अधिकारीले किसान सिँचाइ र मलको अभावप्रति सरकारको ध्यानाकर्षण गराए । उनले भारतको खुला सिमानाबाट भित्रिने छाडा चौपायाले दुर्घटना बढाएको भन्दै सिमाना व्यवस्थापनमा ध्यानाकर्षण गराए । 

सांसद दीलेन्द्रप्रसाद बडूले नेपाल(भारत र चीनको दार्चुला सडक आयोजना अपेक्षितरुपमा अघि नबढेको बताए । उनले एक महिनायता रोकिएको उक्त सडक निर्माण चार वर्षमा सम्पन्न गर्नुपर्ने ध्यानाकर्षण गराए । सांसद देवीप्रकाश भट्टचनले संवैधानिक सङ्कट आउन सक्नेप्रति ध्यानाकर्षण गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप