शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

संघीयता खारेजीको बहसले देशलाई पुनः द्वन्द्वमा धकेल्न सक्छ : मुख्यमन्त्री पाण्डे

शनिबार, २० असार २०८३, २० : ४१
शनिबार, २० असार २०८३

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयता खारेज गर्ने खेल खेलिए मुलुक फेरि द्वन्द्वमा फस्ने चेतावनी दिएका छन्। 

पोखरामा आयोजित मिडिया समिटमा बोल्दै उनले संघीयताको विकल्प खोज्ने वा यसलाई खारेज गर्ने बहसले देशलाई पुनः अस्थिरतातर्फ धकेल्ने बताएका हुन्।

पछिल्लो समय केही राजनीतिक शक्तिहरूबाट प्रदेश संरचना र संघीयता खारेजीका विषयमा आवाज आइरहेको उल्लेख गर्दै उनले प्रश्न गरे, ‘खास कुरो के हो ? संघीयता राख्ने कि नराख्ने ? प्रदेश सरकार र प्रदेश सभा खारेज गर्ने कि राख्ने? उहाँहरूको संघीयताको मोडल के हो ?’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवन महाधिवेशनका समयमा आएका अभिव्यक्तितर्फ इङ्गित गर्दै उनले संघीयताको जग नबुझीकन हचुवाका भरमा टिप्पणी नगर्न आग्रह गरे।

नेपालमा संघीयता कुन परिवेशमा आयो, देशको आवश्यकता के थियो र यो व्यवस्थामा किन गइयो भन्ने कुराको जरोलाई बुझ्नुपर्नेमा उनले जोड दिए। व्यक्तिगत इच्छा, आकांक्षा वा केवल परिवर्तनका नाममा संघीयता खारेज गर्न खोज्ने हो भने ढिलोचाँडो मुलुक फेरि द्वन्द्वमा फस्ने भन्दै उनले विगतको १० वर्षे सशस्त्र द्वन्द्वलाई स्मरण गरेर सरोकारवालाहरूलाई सचेत गराए।

जिम्मेवार दल र सरकारले संघीयताको मर्म र यसको आधारभूत जगलाई बेवास्ता गरेमा देशले पुनः विगतकै जस्तो दुःखद द्वन्द्व बेहोर्नुपर्ने उनको भनाइ थियो। सोही कार्यक्रममा मुख्यमन्त्री पाण्डेले लोकतन्त्र बलियो बनाउन प्रेसको स्वतन्त्रता अपरिहार्य रहेको उल्लेख गर्दै सञ्चारमाध्यमहरूले सधैँ सत्य र तथ्यमा आधारित भएर कलम चलाउनुपर्नेमा जोड दिए। 

सरकारका कमीकमजोरी औंल्याउन पत्रकारहरू स्वतन्त्र भए पनि व्यवस्थाकै विरुद्धमा अनावश्यक भ्रम सिर्जना हुने गरी समाचार सम्प्रेषण नगर्न उनले आग्रह गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप