शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू

शनिबार, २० असार २०८३, १३ : ३०
शनिबार, २० असार २०८३

सारांश

  • विश्वकप उपाधि जित्न नसकेका खेलाडीहरूको उत्कृष्ट प्रदर्शनबारे यस लेखमा चर्चा गरिएको छ।
  • माइकल बालाकले २००२ को विश्वकपमा जर्मनीलाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए, तर फाइनलमा उनी निलम्बित भएका कारण खेल्न पाएनन्।
  • युसेबियोले १९६६ को विश्वकपमा पोर्चुगललाई तेस्रो स्थान दिलाउन ९ गोल गरेका थिए, तर फाइनल पुग्न सकेनन्।

काठमाडौँ । यहाँ विश्वकप कहिल्यै जित्न नसकेका खेलाडीहरूले गरेका सर्वश्रेष्ठ व्यक्तिगत विश्वकप प्रदर्शनहरूको चर्चा गरिएको छ। उनीहरूले उत्कृष्ट प्रदर्शनका बाबजुद कसरी विश्वकप जित्न सकेनन् भन्ने कुरा पनि समेटिएको छ। 

यस सूचीमा त्यस्ता खेलाडीहरू समावेश छैनन् जसले फरक संस्करणमा विश्वकप जितेका थिए । उदाहरणका लागि, सन् १९९८ मा रोनाल्डो, २००६ मा जिनेदिन जिदान, वा २०२२ मा लियोनल मेस्सी। यहाँ केवल विश्व फुटबलको सबैभन्दा ठुलो उपाधि कहिल्यै जित्न नसकेका खेलाडीहरूलाई मात्र समेटिएको छ।

  • माइकल बालाक (जर्मनी, २००२)

२१औँ शताब्दीको सुरुवातमा जर्मनी निकै कमजोर टोली भएको थियो। युरो २००० मा उनीहरूको प्रदर्शन यति निराशाजनक रह्यो कि जर्मन फुटबल महासङ्घले आफ्नो सम्पूर्ण युवा विकास प्रणाली नै पुनर्निर्माण गर्ने निर्णय गर्‍यो। यही प्रक्रियाले अन्ततः सन् २०१४ को विश्वकप उपाधिको आधार तयार गर्‍यो।

तर, सन् २००२ मा जर्मनीसँग सिर्जनशीलता, कल्पनाशीलता वा व्यक्तिगत जादु देखाउने खेलाडीको अभाव थियो। यद्यपि, एउटा अपवाद भने अवश्य थिए— माइकल बालाक। बालाक विशुद्ध जर्मन शैलीका फुटबलर थिए। उनी शारीरिक रूपमा बलिया, अत्यन्त स्थिर र प्रभावशाली थिए। यद्यपि धेरै आकर्षक शैलीका खेलाडी भने थिएनन्।

उनी खेलको गति नियन्त्रण गर्ने प्रकारका मिडफिल्डर नभए पनि निर्णायक क्षणमा पेनाल्टी क्षेत्रभित्र पुगेर गोल गर्ने वा गराउने अद्भुत क्षमता राख्थे। विश्वकपअघि उनी युरोपकै उत्कृष्ट खेलाडी बन्ने दौडमा थिए। उनले आफ्नो क्लब बायर लेभरकुसेनका लागि मिडफिल्डबाट खेल्दै बुन्डेसलिगाको शीर्ष गोलकर्ता बन्ने प्रतिस्पर्धामा केवल एक गोलले पछि परेका थिए। त्यो सिजन लेभरकुसेनले बुन्डेसलिगा, जर्मन कप र च्याम्पियन्स लिग गरी तीनवटै उपाधि जित्ने सम्भावना बनाएको थियो, तर अन्तिम क्षणमा सबै गुमायो। बालाकले त्यहाँ पनि उपविजेतामै चित्त बुझाउनुपरेको थियो।

विश्वकपको समूह चरणमा उनले उत्कृष्ट सिर्जनात्मक खेल प्रस्तुत गरे। साउदी अरेबियामाथि जर्मनीको ८–० को सानदार जितमा उनी निकै प्रभावशाली रहे। आयरल्यान्डसँग १–१ को बराबरीमा उनले मिरोस्लाभ क्लोजेलाई बायाँ खुट्टाबाट सुन्दर ‘चिप पास’ दिएर गोलको अवसर सिर्जना गरेका थिए। त्यसपछि क्यामरुनमाथिको २–० को जितमा प्याट्रिक सुफ्फोले बालाकमाथि फाउल गरेपछि क्यामरुन १० खेलाडीमा सीमित भयो। त्यसपछि बालाककै उत्कृष्ट क्रसमा क्लोजेले फेरि हेडमार्फत गोल गरे।

नकआउट चरणमा बालाक सिर्जनात्मक रूपमा केही शान्त देखिए, तर निर्णायक क्षणमा उनी नै जर्मनीका उद्धारकर्ता बने। क्वार्टरफाइनलमा अमेरिकाविरुद्धको खेलमा उनले हेडमार्फत एक मात्र गोल गरे। त्यसपछि घरेलु टोली दक्षिण कोरियाविरुद्धको सेमिफाइनलमा पनि उनले विजयी गोल गर्दै जर्मनीलाई फाइनल पुर्‍याए।

तर, त्यस सफलताको पछाडि एउटा दुःखद विडम्बना लुकेको थियो। दक्षिण कोरियाविरुद्धको खेलअघि उनले पहेँलो कार्ड पाएका कारण उनी फाइनलका लागि निलम्बित भए।

जर्मनीका तत्कालीन प्रशिक्षक रुडी फोलरले त्यस बेला भनेका थिए, ‘उनले रणनीतिक फाउल गरे र आफूलाई आफ्नो टोली, प्रशिक्षक मात्र होइन, सम्पूर्ण देशको सेवामा समर्पित गरे। उनले आफूलाई बलिदान दिए, त्यसैले हामीले उनलाई उच्च सम्मान दिनुपर्छ।’

बालाकबिनाको जर्मनी फाइनलमा ब्राजिलसँग पराजित भयो। तर वास्तविकता के थियो भने, बालाक नभएको भए जर्मनी फाइनलसम्म नै पुग्ने थिएन।

  • युसेबियो (पोर्चुगल, १९६६)

आजकल पोर्चुगल विश्वकप सुरु हुँदा उपाधिका दाबेदारमध्ये एक मानिन्छ। तर, प्रतियोगिताको पहिलो १२ संस्करणमध्ये पोर्चुगल केवल एकपटक मात्र विश्वकपमा सहभागी भएको थियो, त्यो पनि सन् १९६६ मा इङ्ग्ल्यान्डमा आयोजित प्रतियोगितामा।

त्यो प्रतियोगितामा पोर्चुगलले सबैलाई आश्चर्यचकित पार्दै तेस्रो स्थान हासिल गर्‍यो। यस सफलताको मुख्य श्रेय युसेबियोलाई जान्छ। युसेबियो २०औँ शताब्दीका पोर्चुगलका महान् खेलाडी मानिन्छन्।

यति मात्र होइन, धेरैको नजरमा उनी इतिहासकै महान् अफ्रिकी फुटबलर पनि हुन्। उनी तत्कालीन पोर्चुगिज उपनिवेश मोजाम्बिकमा जन्मिएका थिए। १८ वर्षको उमेरमा मात्र उनी लिस्बन पुगे र सहरका दुई कट्टर प्रतिद्वन्द्वी क्लबबीचको लामो रस्साकस्सीपछि बेन्फिकामा अनुबन्ध भए। राष्ट्रिय टोलीबाट उनले छिट्टै डेब्यु गरे। तर, विश्वकप खेल्न भने उनले पाँच वर्ष कुर्नुपर्‍यो।

eusebio2

समूह चरणमा उनले हङ्गेरीविरुद्ध ३–१ को जितमा दुईवटा कर्नरबाट गोलका अवसर सिर्जना गरे। त्यसपछि बुल्गेरियामाथिको ३–० को जितमा दोस्रो गोल पनि उनैले गरे। तर, प्रतियोगितामा उनको वास्तविक विस्फोट अन्तिम समूह खेलमा ब्राजिलविरुद्ध भयो।

ब्राजिललाई अर्को चरण पुग्न जित आवश्यक थियो। घाइते अवस्थामै रहेका पेलेलाई पनि मैदानमा उतारियो। तर, पोर्चुगिज डिफेन्डरहरूले उनलाई लगातार कडा ट्याकल गर्दै खेल्नै दिएनन्। अर्कोतर्फ युसेबियोले पोर्चुगलको पहिलो गोल सिर्जना गरे भने दोस्रो गोल हेडमार्फत गरे। दोस्रो हाफमा उनले खेलको नियन्त्रण नै आफ्नो हातमा लिए र शक्तिशाली प्रहारमार्फत तेस्रो गोल पनि थपे। पेले प्रतियोगिताबाट बाहिरिए। युसेबियो भने विश्वकपका नयाँ सुपरस्टार बने।

क्वार्टरफाइनलमा कमजोर मानिएको उत्तर कोरियाले पोर्चुगलविरुद्ध सनसनीपूर्ण रूपमा ३–० को अग्रता लियो। तर, त्यसपछि विश्वकप इतिहासकै सबैभन्दा महान् पुनरागमनमध्ये एक सम्भव भयो। त्यस पुनरागमनका मुख्य नायक थिए— युसेबियो। उनले अविश्वसनीय प्रदर्शन गर्दै पोर्चुगलका पाँचमध्ये चार गोल आफैँले गरे। उनको दायाँतर्फबाट प्रहार गरिएको शक्तिशाली गोल विशेष रूपमा उत्कृष्ट मानिन्छ।

यद्यपि, उनले गरेका दुई पेनाल्टीमध्ये एक पेनाल्टी प्राप्त हुनुअघि उनले बायाँ किनाराबाट गरेको अद्भुत व्यक्तिगत दौड र ड्रिब्लिङले विपक्षीलाई फाउल गर्न बाध्य बनाएको थियो।

सेमिफाइनलमा पोर्चुगलको सामना आयोजक इङ्ग्ल्यान्डसँग भयो। यो खेललाई प्रतियोगिताका दुई सर्वश्रेष्ठ खेलाडीबीचको भिडन्तका रूपमा हेरिएको थियो— बोबी चार्लटनविरुद्ध युसेबियो। ठ्याक्कै त्यस्तै भयो पनि। खेल इङ्ग्ल्यान्डले २–१ ले जित्यो। चार्लटनले दुई गोल गरे भने पोर्चुगलका लागि युसेबियोले पेनाल्टीमार्फत एक गोल फर्काए। यससँगै पोर्चुगल प्रतियोगिताबाट बाहिरियो।

यद्यपि, तेस्रो स्थानको प्लेअफमा पोर्चुगलले सोभियत सङ्घलाई २–१ ले पराजित गर्‍यो, जहाँ युसेबियोले फेरि एकपटक पेनाल्टीबाट गोल गरे। छ खेलमा उनका नौ गोलमध्ये चार गोल पेनाल्टीबाट आएका थिए। तर, त्यो तथ्यले उनको प्रदर्शनको महत्त्व घटाउँदैन, किनभने त्यो सम्पूर्ण पोर्चुगिज टोली लगभग पूर्ण रूपमा युसेबियोकै वरिपरि घुमेको थियो।

  • सान्दोर कोचिस (हङ्गेरी, १९५४)

फेरेन्स पुस्कास निस्सन्देह अझ महान् खेलाडी थिए। सन् १९५४ को विश्वकपमा उनको कथा निकै चर्चित छ। समूह चरणमा पश्चिम जर्मनीविरुद्धको खेलमा उनी घाइते भएपछि प्रतियोगिताको अधिकांश समय पूर्ण फिट हुन सकेनन्।

फाइनलमा फर्किए पनि उनले आफ्नो उत्कृष्ट प्रदर्शन गर्न सकेनन्। तर, यदि त्यो विश्वकपमा कसैले सबैभन्दा राम्रो व्यक्तिगत अभियान चलायो भने, ती सान्दोर कोचिस थिए। उनले दक्षिण कोरियामाथि हङ्गेरीको ९–० को ऐतिहासिक जितमा ह्याट्रिक गरे। आजसम्म पनि त्यो विश्वकप इतिहासकै सबैभन्दा ठुलो अन्तरको जित हो। त्यसपछि पश्चिम जर्मनीमाथिको ८–३ को अविश्वसनीय जितमा उनले चार गोल थपे।

Sándor Kocsis

ती गोलहरू अत्यन्तै संयमित र उत्कृष्ट फिनिसिङका उदाहरण थिए। त्यसपछि ब्राजिलविरुद्धको ४–२ को जितमा पनि उनले दुई गोल गरे। दुवै गोल हेडमार्फत आएका थिए। जमिनमा उत्कृष्ट फिनिसर भए पनि कोचिस विशेषगरी आफ्नो हेडिङ क्षमताका लागि प्रसिद्ध थिए। यस विषयमा सम्पूर्ण इतिहासको तथ्याङ्क तयार गर्न कठिन भए पनि सम्भवतः उनी शीर्ष स्तरको फुटबलमा इतिहासकै सबैभन्दा धेरै हेड गोल गर्ने खेलाडी हुन्।

उरुग्वेविरुद्धको सेमिफाइनलमा उनले पहिलो महत्त्वपूर्ण हेड गोल नगरी हेडमार्फत जोल्टान चिबोरलाई गोलका लागि पास दिए। त्यसपछि अतिरिक्त समयमा फेरि दुईवटा हेड गोल गर्दै खेलको निर्णय गरे।

फाइनलमा पुस्कास फर्किएपछि कोचिस केही सहयोगी भूमिकामा सीमित भए। पछि फर्केर हेर्दा हङ्गेरीले सम्भवतः पुरानै रणनीति अपनाएको भए राम्रो हुने थियो। फाइनलमा उनले गोल गर्न सकेनन्, तर आफ्नो एक मात्र विश्वकपमा उनले कुल ११ गोल गरे। त्यसमध्ये आठ गोल उनले विश्व फुटबलका तीन महाशक्ति (ब्राजिल, पश्चिम जर्मनी र उरुग्वे) विरुद्ध गरेका थिए।

  • जिको (ब्राजिल, १९८२)

ड्रिब्लिङ गर्न सक्ने, चिरफार गर्ने पास दिन सक्ने र उत्कृष्ट स्ट्राइकरसरह गोल गर्न सक्ने ब्राजिलका जिको साँच्चिकै पूर्ण आक्रमणकारी मिडफिल्डर थिए। सन् १९८२ को ब्राजिल टोली, सन् १९७४ को नेदरल्यान्ड्ससँगै विश्वकप नजिते पनि इतिहासका सबैभन्दा प्रशंसित टोलीहरूमध्ये एक हो। र, त्यस टोलीका केन्द्रबिन्दु थिए— जिको।

उनी उत्कृष्ट फ्रिकिक विशेषज्ञ थिए। स्कटल्यान्डविरुद्ध उनले सानदार फ्रिकिकमार्फत गोल गरे। त्यसपछि न्युजिल्यान्डविरुद्ध दुई गोल थपे। तीमध्ये एउटा दुर्लभ सिजर किकबाट आएको थियो। यद्यपि, ती दुवै टोली तुलनात्मक रूपमा कमजोर थिए।

जिकोले आफ्नो उत्कृष्ट प्रदर्शन भने अर्जेन्टिनाविरुद्धको निर्णायक खेलमा गरे। त्यो खेल जिकोविरुद्ध डिएगो म्याराडोनाका रूपमा चर्चित थियो। ब्राजिलले ३–१ ले जित्यो। जिकोले पहिलो गोल गरे भने बाँकी दुई गोलका लागि उनले उत्कृष्ट पास दिए। अर्कोतर्फ म्याराडोना भने खेलको अन्त्यतिर विपक्षीलाई लात हानेपछि रातो कार्ड पाएर मैदानबाट बाहिरिए।

zico2

दुर्भाग्यवश, जिको र ब्राजिलले इटालीलाई पार गर्न सकेनन्। उनीहरू उत्कृष्ट खेलमा ३–२ ले पराजित भए। जिकोले केही उत्कृष्ट पास दिए पनि इटालीका महान् व्यक्तिगत मार्कर क्लाउडियो जेन्टिलेले उनलाई प्रभावकारी रूपमा नियन्त्रण गरेका थिए। यद्यपि, त्यो हारपछि पनि ब्राजिल प्रतियोगिताकै सबैभन्दा चर्चित टोली रह्यो।

पेप ग्वार्डिओलाले त त्यस टोलीलाई इतिहासकै महान् राष्ट्रिय टोलीसमेत भनेका छन्। आज पनि जिकोलाई त्यो विश्वकपबारे प्रश्न सोधिन्छ। उनले यस महिनाको सुरुमा पनि भनेका छन्, ‘हामीसँग अद्भुत टोली थियो। संसारभर त्यस टोलीको प्रशंसा भयो। आज पनि हामी जहाँ जान्छौँ, मानिसहरूले १९८२ को त्यो टोली सम्झन्छन्। यदि हामीले इटालीविरुद्धको त्यो खेल जितेका भए, सम्भवतः फुटबल नै फरक दिशामा अघि बढ्ने थियो। त्यसको सट्टा, परिणाम जसरी भए पनि निकाल्ने फुटबल, विपक्षीको खेल बिगार्ने फुटबल र फाउलमा आधारित फुटबलको विकास हुन थाल्यो। ब्राजिलको त्यो हार विश्व फुटबलका लागि लाभदायक साबित भएन।’

  • योहान क्रोएफ (नेदरल्यान्ड्स, १९७४)

फुटबल इतिहासमा कुनै एक खेलाडीको सम्पूर्ण प्रतियोगिता (सायद उनको सम्पूर्ण करियरसमेत) एउटै क्षणले यति स्पष्ट रूपमा प्रतिनिधित्व गरेको उदाहरण विरलै पाइन्छ। समूह चरणमा स्विडेनविरुद्ध यान ओल्सनलाई छक्याउँदै योहान क्रोएफले गरेको प्रसिद्ध ‘क्रोएफ टर्न’ त्यसको उत्कृष्ट उदाहरण हो।

त्यो चाल पूर्ण रूपमा क्रोएफको शैली थियो। यो सुन्दर, आकर्षक र सिर्जनात्मक थियो, तर त्यसको उद्देश्य केवल दर्शकलाई मनोरञ्जन दिनु थिएन। त्यो पूर्ण रूपमा प्रभावकारी रूपमा विपक्षीलाई छल्ने माध्यम थियो। सन् १९७४ को विश्वकपभर नेदरल्यान्ड्स तटस्थ समर्थकहरूको मनपर्ने टोली थियो। उनीहरूको ‘टोटल फुटबल’ शैलीले फुटबललाई नयाँ उचाइमा पुर्‍याएको मानिन्छ। तरल खेल, निकै अगाडि उभिने रक्षापङ्क्ति र लगातार आक्रमण गर्ने सोचले उनीहरूले संसारभरका समर्थकलाई मोहित बनाए। यस टोलीमा क्रोएफ केही हदसम्म फरक पात्र थिए।

यो टोली सामूहिक खेलका लागि परिचित थियो, व्यक्तिगत चमकका लागि होइन। तर क्रोएफलाई मैदानमा आफूले चाहेअनुसार स्वतन्त्र रूपमा खेल्ने छुट थियो। त्यसैसँग उनले नेदरल्यान्ड्सको खेल शैलीलाई पनि प्रतिनिधित्व गर्थे। उनी नाम मात्रका फरवार्ड थिए। तर, उनी बारम्बार पछाडि झर्थे, लामो पास वितरण गर्थे, कहिले दायाँ त कहिले बायाँतर्फ पुग्थे र टोलीको आक्रमणलाई विभिन्न कोणबाट सञ्चालन गर्थे।

समूह चरणमा उनले उत्कृष्ट क्रसमार्फत दुई गोलका लागि पास पनि दिएका थिए। दोस्रो समूह चरणमा क्रोएफ विशेषगरी अर्जेन्टिनाविरुद्धको ४–० को सानदार जितमा चम्किए। पहिलो गोलका क्रममा उनले नियन्त्रण गर्न गाह्रो बललाई सुन्दर रूपमा नियन्त्रणमा लिए। त्यसपछि गोलकिपर डानियल कार्नेभालीलाई छल्दै सहज रूपमा गोल गरे।

yohan

कार्नेभाली प्रायः आफ्नो गोललाइनभन्दा धेरै अगाडि निस्कने गर्थे। क्रोएफको गतिलाई प्रायः कम मूल्याङ्कन गरिन्छ। तर, त्यस खेलमा उनले आफ्नो तीव्र गति पनि देखाए। उनी एकपटक गोलकिपरसँग एक्लै भिड्ने अवस्थामा पुगे। यद्यपि, त्यो अवसर गोलमा परिणत गर्न सकेनन्। पछि उनले फेरि उत्कृष्ट क्रस दिए, जसलाई जोनी रेपले हेडमार्फत गोलमा परिणत गरे।

त्यसपछि कार्नेभाली फेरि आफ्नो स्थानभन्दा धेरै बाहिर आएको मौकामा क्रोएफले कठिन कोणबाट नियन्त्रणयुक्त भली प्रहार गर्दै आफ्नो दोस्रो गोल पूरा गरे। ब्राजिलविरुद्धको २–० को जितमा पनि नेदरल्यान्ड्सले उत्कृष्ट प्रदर्शन गर्‍यो। त्यस खेलमा क्रोएफले एक गोल गरे र अर्को गोलका लागि पास दिए।

त्यसपछि आयो ऐतिहासिक फाइनल। फाइनलमा नेदरल्यान्ड्सको सामना पश्चिम जर्मनीसँग भयो। यो केवल दुई टोलीबीचको खेल थिएन, यो त्यस समयका संसारका दुई महान् फुटबलरबीचको प्रतिस्पर्धा पनि थियो— योहान क्रोएफविरुद्ध फ्रान्ज बेकनबाउर।

खेल सुरु भएको केही क्षणमै नेदरल्यान्ड्सले विश्वकप इतिहासकै सबैभन्दा चर्चित सुरुवातमध्ये एक प्रस्तुत गर्‍यो। पश्चिम जर्मनीका खेलाडीले बल छुनुअघि नै डच टोलीले लगातार पास आदानप्रदान गर्‍यो। क्रोएफ पछाडि झरेर बल लिए। त्यसपछि उनी सीधै ड्रिब्लिङ गर्दै पेनाल्टी क्षेत्रभित्र छिरे, जहाँ उनलाई लडाइयो र रेफ्रीले पेनाल्टी दिए।

योहान नेस्केन्सले पेनाल्टीमार्फत गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए। त्यसपछि भने पश्चिम जर्मनीका बेर्टी फोग्ट्सले क्रोएफलाई निकै प्रभावकारी रूपमा मार्क गरे। यद्यपि, उनले केही उत्कृष्ट पास भने दिइरहे। तर, डच टोलीले ती अवसरहरूको पर्याप्त उपयोग गर्न सकेन। अन्ततः पश्चिम जर्मनीले खेलमा पुनरागमन गर्दै २–१ ले जित्यो। नेदरल्यान्ड्स उपविजेतामै सीमित रह्यो। तर, आज पनि जब सन् १९७४ को विश्वकप सम्झिन्छौँ, सबैभन्दा पहिले सम्झिने नाम भने योहान क्रोएफ नै हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप