कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजीका लागि प्रहरीदेखि सेना परिचालन
सारांश
- दुर्घटना भएको तीन दिन बितिसक्दा पनि कर्णाली नदीमा बेपत्ता भएको गाडी र चार जना यात्रुको अवस्था अज्ञात छ ।
- तीन वटा सुरक्षा निकाय र गोताखोरको टोलीले खोजी कार्य जारी राखे पनि हालसम्म कुनै विवरण फेला परेको छैन ।
- वर्षायामका कारण कर्णाली नदीमा पानीको सतह बढेको र धमिलो पानीले गर्दा खोजी कार्यमा कठिनाइ भइरहेको छ ।
सुर्खेत । दुर्घटना भएको ३ दिन बितिसक्दा पनि कर्णाली नदीमा बेपत्ता भएको फोर्स गाडी र चार जना यात्रुको अवस्था अझै अज्ञात छ । तीन वटै सुरक्षा निकाय र गोताखोरको प्राविधिक टोली खोजी कार्यमा खटिए पनि हालसम्म कुनै विवरण फेला परेको छैन ।
बिहीबार बिहान ११ः३० बजेसुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको जाँदै गरेको क.प्र.०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका—७ स्थित कर्णाली राजमार्गको साङ्गेतडा क्षेत्रमा दुर्घटना भएको थियो ।
गाडीमा सवारमध्ये कालिकोट पचालझरना गाउँपालिका—९ निवासी ५४ वर्षीय जेखे तिरुवा भीरमा अड्किएको अवस्थामा फेला परेका थिए । दुल्लु अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरे । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजी) जयराज सापकोटाका अनुसार, गाडी राजमार्गबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो । त्यसपछि गाडी नदीमा डुबेको थियो ।
‘घटनास्थलदेखि अन्दाजी २०० मिटर तल भीरमा ५ थान मोबाइल पनि फेला परेको छ,’ डीआईजी सापकोटाले शनिबार पत्रकार सम्मेलन गर्दै घटनाबारे बताए, ‘बाँकी नदीमा डुबेको गाडी र बेपत्ता यात्रुहरूको खोजी कार्य जारी नै छ ।’
गाडीसँगै बेपत्ता हुनेमा कालिकोटकै पचालझरना–९ कामेखे तिरुवा, रास्कोट नगरपालिका—२ का सिर्जना खड्का र पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका—८, का तुलाराम सुबेदी र सहचालक राम प्रसाद सुबेदी रहेका छन् ।

चालक र सहचालक दुई दाजुभाइ हुन् ।
कसरी भइरहेको छ खोजी कार्य ?
डीआईजी सापकोटाका अनुसार घटनाको दिन बिहीबार ४५ जनाको प्रहरी टोलीले खोजी कार्य गरेको थियो । स्वयम् डीआईजी सापकोटा ९ जनाको टिमसहित घटनास्थल पुगेका थिए । साथै, सशस्त्र प्रहरी बलबाट ६ जना गोताखोर टिमसहित ३५ जना र सह–सेनानी को नेतृत्वमा नेपाली सेनाको ११ जनाको टोली खटिएको थियो । अहिले पनि सोही जनशक्ति खोजी कार्यमा संलग्न छ ।
उनका अनुसार, सुरक्षा निकायले घटना घटेको स्थानदेखि भेरी कर्णाली नदीको दोभान सुर्खेतको घाटघाउँसम्म खोजी कार्य गरिरहेको छ ।
ती ठाउँमा सम्बन्धित ठाउँका प्रहरी खटाइएको छ । डीआईजी सापकोटाका अनुसार सुर्खेत जिल्लाबाट प्रहरी चौकी बिजौरा, अस्थायी प्रहरी पोष्ट लगाम, अस्थायी प्रहरी पोष्ट तातोपानी, घाटगाँउले आ–आफ्नो क्षेत्रमा पर्ने नदी किनारमा खोजी कार्य गरिरहेका छन् ।
दैलेख जिल्लाबाट प्रहरी चौकी तल्लो डुङ्गेश्वरबाट प्रहरी सहायक निरीक्षक ललित रावलको नेतृत्वमा ५ जनाको टोलीले कर्णाली नदी आसपा क्षेत्रमा खोजी गरिरहेको छ । इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक सरोज कडेलको कमान्डमा ६ र प्रहरी चौकी पाल्तडा प्रहरी हवल्दार दिपक थापामगरको कमान्डमा ४ गरी जम्मा १० जना र सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर गुल्म दैलेखबाट सहायक प्रहरी नायव उपरीक्षक मातृका पौडेलको कमाण्डमा ९ र सशस्त्र बल महेश्वरी बाहिनी बाङ्गेसिमल सुर्खेतबाट सहायक प्रहरी निरीषक पदम बहादुर बुढाथोकीको कमान्डमा ६ जना गोताखोर गरी कुल जम्मा २५ जना सुरक्षाकर्मी घटनास्थलमा खटिएका छन् ।
‘सशस्त्र प्रहरीको सुर्खेत बाहिनीबाट ६ जनाको गोताखोर टोली र ड्रोन क्यामरा परिचालन घटना घटेकै दिनबाट खटिएको हो,’ डीआईजी सापकोटाले भने, ‘शनिबारदेखि विपद व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट सहायक प्रहरी निरीक्षकको कमान्डमा ५ जनाको टोली अत्याधुनिक उपकरण (सोनाम क्यामरा, म्यागनेट) सहित परिचालन भएको छ ।’
शनिबार दिउँसो ३ बजेबाट यो विज्ञ टोली नदीमा गएको छ ।
साथै, नेपाली सेनाको हेलिकप्टरद्वारा समेत खोजतलास गर्ने काम भइरहेको सापकोटाले बताए । यद्यपि अहिलेसम्म न गाडीको कुनै भाग भेटिएको छ न यात्रुबारे कुनै विवरण नै फेला परेका छन् । सापकोटाले कर्णाली नदीसँग जोडिएका अछाम, कैलाली र बर्दिया जिल्लासित समन्वय भइरहेको बताए ।
धमिलो पानी र सतह बढ्दा समस्या
डीआईजी सापकोटाले वर्षायामका कारण कर्णाली नदीमा पानीको सतह निकै बढेकोले खोजी कार्यमा समस्या भइरहेको बताए । ‘पानी अत्यधिक धमिलो भएकाले नदीभित्र खोजतलासमा गोताखोरलाई कठिनाइ भएको छ,’ उनले भने, ‘सडकबाट सडकबाट नदीसम्मको भिरालो र कठिन भूगोल छ ।’
उनका अनुुसार, सम्भावित स्थानहरूमा गोताखोरद्वारा खोजी कार्य जारी राख्ने, नदी किनारमा प्रहरीद्धारा र स्थानीयको सहायताले खोजी कार्य जारी राख्ने र अन्य प्रविधिको प्रयोगको लागि पहल गर्ने आगामी रणनीति रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी गरेको अभियोगमा धनगढीबाट एक जना पक्राउ
-
दिनभर विराटनगरको अनुगमन सकेर धरान लागे गृहमन्त्री गुरुङ
-
सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
-
चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार भएको संघको दाबी
-
यूएस ओपन मार्सल आर्ट्स च्याम्पियनसिपमा सुमनलाई कांस्य पदक
-
शारीरिक सुगठनमा विनुलाई दोहोरो पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण