आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

नेपाल–बेलायत आर्थिक साझेदारीमा नयाँ अध्याय, व्यापार र लगानी विस्तार गर्न दुई महत्त्वपूर्ण एमओयूमा हस्ताक्षर

आइतबार, २१ असार २०८३, ०६ : ३०
आइतबार, २१ असार २०८३

सारांश

  • नेपाल र बेलायतबीच व्यापार, लगानी र आर्थिक सहकार्य सुदृढ गर्न लन्डनमा नेपाल–बेलायत इकोनोमिक पार्टनरसिप फोरम आयोजना गरियो।
  • फोरममा वेस्ट लन्डन चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ र नेपाल ब्रिटेन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीबीच दुई महत्त्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भयो।
  • यी सम्झौताले दुई देशबीच संस्थागत सहकार्य विस्तार गर्दै व्यापार तथा लगानीका अवसरहरू प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

लन्डन । नेपाल र बेलायतबिचको व्यापार, लगानी तथा समग्र आर्थिक सहकार्यलाई अझ सुदृढ र विस्तारित बनाउने उद्देश्यले लन्डनस्थित नेपाली राजदूतावासद्वारा आयोजित नेपाल–बेलायत इकोनोमिक पार्टनरसिप फोरम २०२६ सम्पन्न भएको छ।

नीति निर्माता, सांसद, उद्योगपति, लगानीकर्ता, निजी क्षेत्रका प्रतिनिधि, प्रविधि विज्ञ, विकास साझेदार तथा बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिसहित १५० भन्दा बढी सहभागीको उपस्थितिमा सम्पन्न भएको यस फोरमले दुई देशबिचको आर्थिक सम्बन्धलाई नयाँ चरणमा प्रवेश गराउने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रमका क्रममा दुई महत्त्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ। पहिलो सम्झौता वेस्ट लन्डन चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघबिच भएको हो भने दोस्रो वेस्ट लन्डन चेम्बर अफ कमर्स र नेपाल ब्रिटेन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीबीच सम्पन्न भएको हो। लन्डनमा वेस्ट लन्डन चेम्बरका प्रमुख कार्यकारी अधिकृत एलन राइड्स र उपाध्यक्ष डा. रेणु राजले हस्ताक्षर गरेका थिए भने नेपाल उद्योग परिसंघका अध्यक्ष पृथ्वीराज पाण्डे र नेपाल ब्रिटेन चेम्बरका अध्यक्ष डा. रोशन राठीले काठमाडौँबाट भर्चुअल माध्यममार्फत हस्ताक्षर गरेका थिए।

यी सम्झौताले दुई देशका व्यापारिक समुदायबिच संस्थागत सहकार्य विस्तार गर्दै व्यापार तथा लगानीका अवसरहरूको पारस्परिक प्रवर्द्धन, व्यावसायिक सम्बन्ध सुदृढीकरण र दीर्घकालीन साझेदारीलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ। राजदूतावासले दुवै देशका निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याएर पारस्परिक हितका क्षेत्रमा सहकार्य र नयाँ व्यावसायिक सम्भावनाहरू खोज्ने उद्देश्यले यो फोरम आयोजना गरेको हो।

फोरमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा. शिशिर खनालले पठाएको सन्देशमा नेपाल सरकारले अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन, प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने, पर्यटन विस्तार, प्रविधि हस्तान्तरणलाई सहज बनाउने, रोजगारी सिर्जना गर्ने तथा नेपाललाई विश्व अर्थतन्त्रसँग थप मजबुत रूपमा जोड्ने दिशामा प्रतिबद्ध रहेको उल्लेख गरे। उनले जलविद्युत्, नवीकरणीय ऊर्जा, पर्यटन, कृषि, पूर्वाधार, उत्पादन, सूचना प्रविधि तथा डिजिटल सेवाजस्ता प्राथमिकताका क्षेत्रमा बेलायती लगानीलाई नेपालले खुलेर स्वागत गर्ने बताए। बेलायतलाई नेपालको महत्त्वपूर्ण विकास साझेदारका रूपमा चिनाउँदै उनले प्रविधि रूपान्तरण तथा नवप्रवर्तनका क्षेत्रमा समेत द्विपक्षीय सहकार्य विस्तार गर्न इच्छुक रहेको जनाए।

नेपालका लागि बेलायतका राजदूत रब फेनले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै हालै बेलायतकी इन्डो–प्यासिफिक तथा समानतामन्त्री सीमा मल्होत्राको नेपाल भ्रमणले द्विपक्षीय सम्बन्धलाई नयाँ ऊर्जा दिएको बताए। उनले सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा नेपाली जनशक्तिले विश्व बजारमा प्रतिस्पर्धात्मक सेवा दिइरहेको उल्लेख गर्दै नेपाल डिजिटल अर्थतन्त्रको महत्त्वपूर्ण साझेदार बन्न सक्ने विश्वास व्यक्त गरे। बेलायत नेपालको डिजिटल रूपान्तरणमा राम्रो साझेदार बन्न सक्ने उनको भनाइ थियो।

बेलायती सांसद तथा नेपालका लागि सर्वदलीय संसदीय समूहकी अध्यक्ष एलेक्स बेकरले बेलायतले नेपाललाई अब केवल विकास सहायता लिने मुलुकका रूपमा मात्र नभई समान स्तरको विकास साझेदारका रूपमा हेर्नुपर्ने धारणा राखिन्। ऐतिहासिक सम्बन्धलाई व्यापार, लगानी, शिक्षा, प्रविधि, अनुसन्धान र उद्यमशीलतामा आधारित व्यावहारिक सहकार्यमा परिणत गर्न जोड दिइन्।

Embassy (6)

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष कुल आचार्यले बेलायतस्थित नेपाली समुदायलाई नेपालका ठूला पूर्वाधार, जलविद्युत्, पर्यटन तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आह्वान गरे। उनले विश्वभरका नेपालीहरूका लागि मातृभूमिमा निर्धक्क लगानी गर्ने ऐतिहासिक अवसर सिर्जना भएको बताउँदै नेपाल चीन र भारतजस्ता दुई ठूला अर्थतन्त्रको बीचमा रहेकाले यहाँ विशाल बजार र विकासको सम्भावना रहेको उल्लेख गरे।

ब्रिटेन–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष बिराज भट्टले नेपालमा लगानीका लागि अहिले अनुकूल वातावरण बनेको दाबी गर्दै बेलायतस्थित नेपाली समुदायले लगानी प्रवर्द्धनमा सक्रिय भूमिका खेलिरहेको जानकारी दिए। वेस्ट लन्डन चेम्बरका प्रमुख कार्यकारी एलन राइड्स, उपाध्यक्ष डा. रेणु राज र नेपाल ब्रिटेन चेम्बरका अध्यक्ष डा. रोशन राठीले यी सम्झौताले द्विपक्षीय व्यापारिक सहकार्यलाई अझ संस्थागत र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

Embassy (3)

फोरममा द्विपक्षीय व्यापार विस्तार, लगानी सहजीकरण, कृत्रिम बुद्धिमत्ता, प्रविधि हस्तान्तरण, आउटसोर्सिङ, व्यावसायिक सेवा, डिजिटल अर्थतन्त्र तथा बेलायतस्थित नेपाली समुदायको आर्थिक भूमिकालाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको थियो। नेपाल लगानी बोर्डले लगानीका अवसरबारे विस्तृत प्रस्तुतीकरण गरेको थियो भने ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट, यूके एक्सपोर्ट फाइनान्स र डिपार्टमेन्ट फर बिजनेस एन्ड ट्रेडलगायतका बेलायती सरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सहभागीहरूले बजार पहुँच विस्तार, लगानी प्रक्रियालाई सरल बनाउने, नीतिगत स्पष्टता ल्याउने, संस्थागत साझेदारी विकास गर्ने तथा सरकार, निजी क्षेत्र र लगानीकर्ताबीच निरन्तर संवाद कायम राख्नुपर्नेमा जोड दिएका थिए। यस्ता पहलले दुई देशबिच दीर्घकालीन र आपसमा लाभदायक आर्थिक साझेदारी निर्माण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। कार्यक्रमको सञ्चालन भने नेपाली राजदूतावासका द्वितीय सचिव सन्जोग राईले गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप