मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

उपेन्द्र यादवलाई हराउने को हुन् ती ३८ नेता ?

मङ्गलबार, २४ माघ २०७९, १९ : ३२
मङ्गलबार, २४ माघ २०७९

काठमाडौँ । मंसिर ४ गते सम्पन्न आमचुनावमा जनता समाजवादी पार्टी किन कमजोर भयो भन्नेबारे देशैभर अध्ययन थालेको छ । 

पार्टीका कार्यकारिणी सदस्य शिवलाल थापाको संयोजकत्वमा गठन भएको कार्यदलले सो अध्ययन थालेको हो । 

जिल्ला–जिल्लाबाट आएको रिपोर्टअनुसार सो कार्यदलले अध्ययन थालेकोमा हालसम्म २५ जिल्लाका करिब २ सय जनासँग बयान लिइसकेको संयोजक थापाले बताए । 

जसपाका अध्यक्ष उपेन्द्र यादव सप्तरी–२ बाट चुनावमा पराजित भएका हुन् । बयान लिइएका २ सय जनामध्ये सोही क्षेत्रकै ३८ जना छन् । देशैभरि छानबिन गर्ने भनिए पनि खासमा जसपाका अध्यक्ष उपेन्द्र यादवको टार्गेट आफ्नो क्षेत्र सप्तरी–२ नै हो । 

जसपाका अध्यक्ष उपेन्द्र यादवको निष्कर्ष पनि सो क्षेत्रमा पार्टीका नेताहरुबाट पनि असहयोग भएको कारण चुनाव हारेको रहेको छ । उनले पार्टीको बैठकलगायत अन्य ठाउँहरुमा पटक पटक यसबारे अभिव्यक्ति दिएका छन् । 

बाराको एक कार्यक्रममा यादवले चुनावमा आफ्नो पार्टीका उम्मेदवारलाई हराउने नेता तथा कार्यकर्तालाई पार्टीमा रहने कुनै अधिकार नरहेको, त्यस्तालाई तुरुन्त पार्टीबाट निष्काशन गर्नुपर्ने आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए ।

उनले भनेका थिए, ‘युद्धमा पिठ्यूँ देखाएर भाग्ने सेना र चुनावमा पार्टीलाई धोका दिने नेता उस्तै उस्तै हुन् ।’

सप्तरी–२ मा अध्यक्ष यादवलाई हराउनमा भूमिका खेलेको भनी केन्द्रमा ३८ जनाको नाम आएको छ । पार्टीले कुन क्षेत्रमा कहाँ कहाँ कसले अन्तर्घात गरेको छ, प्रमाण भए प्रमाणसहित केन्द्रमा नाम पठाउने जिल्लाहरुमा सर्कुलर गरेको थियो । त्यसपछि सबैभन्दा बढी नाम सप्तरी–२ बाट आएको हो । 

३८ जनामध्ये मृगेन्द्रकुमार सिंह यादव, शैलेन्द्र साह, शम्भु झा, निरज झा, भिमराज यादव, सत्यनारायण यादव, महेश यादव, बबीसिंह यादवलगायतसँग बयान लिँदा थप ६ जनाको नाम आएको छ । त्यसमा मनिष सुमन, केदार यादव, दिनेश यादव, नारायण यादव, श्याम यादवलगायतको नाम रहेको जसपा स्रोतले जनाएको छ । 

उनीहरु सबैजनासँग बयान लिई सकिएको छ । ती बयानको आधारमा कार्यदलले प्रतिवेदन तयार पारी पार्टीलाई बुझाउनेछ । प्रतिवेदनमाथि छलफल गरी उनीहरुका विषयमा के गर्ने विषयमा निर्णय लिइने संयोजक थापाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप