शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासीको मदारबाबा मेलामा भक्तजनहरूको घुइँचो

सोमबार, ०१ फागुन २०७९, १० : ०९
सोमबार, ०१ फागुन २०७९

परासी । मुस्लिम हिन्दु समुदायको आस्थाका केन्द्र मदारबाबा मेलामा भक्तजनहरूको घुइँचो लागेको छ । भारतबाट समेत हजारौँको सङ्ख्यामा श्रद्धालुहरूको घुइँचो लागेको हो । 

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा २ महलबारीमा आधार शिविर रहेको मदारबाबा स्थानको मेला यही माघ २७ गतेबाट सुरु भएको छ ।  मेला सुरु भएदेखि आफ्नो मनोकामना मान्न र मनोकामना पुरा भएकाले चादर चढाई दानपुन गर्न हजारौँको सङ्ख्यामा भक्तजनहरूको आगमनले सो क्षेत्रमा निकै भिडभाड बढेको छ।

तल आधार शिविर रहेपनि माथि ९ किलोमिटर दुरी पहाडमा मदारिया डाँडामा बाबाले तपस्या गरेको धार्मिक हिसाबले निकै महत्त्वपूर्ण धार्मिक स्थल रहेको छ । उक्त स्थलमा मठाधीश गद्दीनसिन बाबाहरू बस्ने र आउने भक्तजनहरूको दुख सुन्ने र त्यसको निवारणका लागि मदारबाबाको वसिला दिई दुआ माग्ने कार्य गर्दछन् । मदारबाबा स्थानमा विभिन्न दीर्घरोगका बिरामी, बच्चा नपाउने दम्पती, विवाह नभएका युवायुवती, आपतविपतमा परेका परिवारहरू आफ्नो मनोकामना लिएर आउने गरेको गद्दिनसिन बाबा अमिरुल्लाह अन्सारीले जानकारी दिए । 

गत शुक्रबार देखि सुरु भएको मदारबाबा मेलामा आउने श्रद्धालुहरूका निःशुल्क प्राथमिक उपचार, खानेपानी, राति बस्नेहरूलाई बासको सुविधा, शौचालयको सुविधाका साथै सुरक्षाको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

मेलामा नेपालको काठमाडौँ, पोखरा, रुपन्देही, पाल्पा, चितवन, नवलपरासी पूर्व, कपिलवस्तु लगायत भारतको उत्तर प्रदेश, बिहार, दिल्ली, मुम्बई, बंगाल जस्तो मुख्य सहरबाट करिब १८ लाख भन्दा बढी श्रद्धालु भक्तजनहरू आउने अनुमान गरिएको  आयोजकले जनाएको छ । ।

मदार बाबाको वास्तविक नाम हजरत बदिउद्दिन शाह कुतुबल मदार शाह रहमतुल्लाह अलैहे जिन्दा मदार शाह हो । यो मेला मुस्लिम धार्मिक मान्यता अनुसार जिन्दा मदार शाहको ६०६ औँ वर्षको रूपमा मनाइँदै छ ।

यो मेला मुस्लिम समुदायको भए पनि यसलाई हिन्दु र मुस्लिमको आस्थाको केन्द्र मानिने गरिन्छ । मदारबाबाको मजारमा भाकल, दुख तथा मनोकामना लिएर आउने श्रद्धालुहरूको भाकल तथा मनोकामना पुरा हुने र सन्तान नहुने दम्पतीले सन्तान पाउने तथा दुखियाको दुखहरण हुने मूल्य मान्यता र विश्वास रही आएको मदार बाबाका मठाधीश बाबा अमिरुल्लाह अन्सारीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हुसेन अन्सारी
हुसेन अन्सारी
लेखकबाट थप