सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बालकथा :  विशेषता

बिहीबार, ०४ फागुन २०७९, २२ : १९
बिहीबार, ०४ फागुन २०७९

संसारमा सबै प्राणीको कुनै न कुनै विशेषता हुन्छ । विशेषता नभएको प्राणी प्रकृतिको सृष्टिमै छैन, प्रकृतिले सृष्टि गरेकै छैन । त्यसैले कसैले पनि आफ्नो विशेतालाई लिएर घमन्ड गर्नु पनि हुँदैन र अरूलाई होच्याउनु पनि हुँदैन । अन्यथा कुनै पनि बेला निकै ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्छ । नभए पनि ग्लानी वा माफी माग्नुपर्ने अवस्था त पक्कै आउँछ ।

धेरै पहिलेको कुरा हो । एउटा रुखमा रङ्गी विरङ्गी चरा बस्थ्यो । उसको शरीर पनि सुन्दर थियो भुत्ला पनि सुन्दर थियो । यसैलाई लिएर उसले निकै घमन्ड घमन्ड गर्ने गथ्र्यो । आफूलाई यस्तो र उस्तो भन्थ्यो, अरूलाई होच्याउने गथ्र्यो । बानी भन्ने कुरा पनि विचित्रकै हुन्छ । जस्तो बसायो त्यस्तै बस्छ । आफू मात्र राम्रो र अरू कुरूप भन्ने यस्तो बानी बसेको थियो कि जो आए पनि सर्वप्रथम त्यही कुरा गरेर होच्याउने गथ्र्यो ।

संयोगवश एक दिन उसको छेउमा एउटा काग आएर बस्यो । त्यसपछि त के चाहियो र । उसैत कुन काना सुन भइहाल्यो । सबैलाई कुरूप ठान्ने उसले कागलाई किन बाँकी राख्थ्यो र । आँखीभूईँ खुम्च्याउँदै भन्यो–

‘छिः छिः कति नराम्रो शरीर । यस्तो शरीर लिएर कसरी बस्न सक्या होला । म भएको भए त तत्कालै त्यागिदिन्थेँ त्यस्तो शरीरलाई ।’

धेरै बेरसम्म कागले उसको कुरा सुनिरह्यो । जब सीमा नाघ्यो तब ऊ पनि चुप रहन सकेन र घाँटी ठाडो पार्दै भन्यो–

‘मेरो शरीरसँग तिमीलाई के चासो भाइ ! तिमीसँग खान माग्या छैन, लाउन माग्या छैन । आफ्नो काम गरन । बेकारमा अर्काको कुरालाई लिएर टाउको दुखाउँछौ ? जस्तो भए पनि मेरो शरीर यही हो । मलाई यही प्रिय छ । भगवान्ले जस्तो दिएका छन् त्यसैमा सन्तुष्ट हुनुपर्छ । यसै पनि रूपमा के राखेको छ र । काम चलाउनका लागि हो चलेकै छ ।’

कागले कुरा ठीकै गरेको थियो तर उसलाई ठीक लागेन । प्रायः घमन्डीहरू यस्तै हुन्छन् । आफ्नो कुरा मात्र ठीक भन्छन् । अरूले जति नै ठीक कुरा गरे पनि सुन्न चाँहदैनन् । उसले थप खिस्याउँदै भन्यो–

‘भो भो छाड । जसलाई भगवान्ले नै ठगेका छन् भने त्यस्तालाई  बढी फुईँ लाएको सुहाउँदैन । जे सुकै भन तिमी अभागी नै हौ । यस्तो शरीर पनि के शरीर ? म भएको भए त तत्कालै त्यागी दिन्थेँ । न शरीर राम्रो, न भुत्ला न पुच्छर ।’

उसको कुरा कागलाई मन परको त थिएन । तैपनि सम्झाउने विचार गर्दै भन्यो–

‘भाइ ! तिमीले  भनेको ठीकै हो मेरो शरीर राम्रो छैन तर देख्नमा नराम्रो भए पनि तिम्रोभन्दा एउटा विशेषता मेरोमा बढी छ ।’

‘विशेषता छ रे ? लौन म कहाँ जाऊ । छिः छिः कसरी यस्तो कुरा गर्न सक्या होला । यति नराम्रो शरीरको पनि थप विशेषता हुन्छ कतै ?’

‘तिमी जेसुकै भन तर तिम्रोभन्दा एउटा विशेषता मेरो बढी नै छ ।’

‘भो भो छाड । हामीलाई था नभा जस्तो । के छ त्यस्तो विशेषता ? यस्तो कुरूप शरीरको पनि विशेषता हुन्छ ?’

काग पनि के कम थियो । थप फुर्ति लगाउँदै भन्यो–

‘ल त्यति पनि थाहा छैन । तिम्रो त शरीर मात्र सुन्दर रहेछ । बुद्धि त....। शरीर राम्रो भएर के गर्ने बुद्धि नै छैन भने । भुत्ला र प्वाँख राम्रो भएर के गर्ने जाडो मौसममा झरी हाल्छ । लौ मानौँ त्यतिसम्म ठीकै थियो रे । त्योभन्दा पनि दुःखको कुरा त के छ भने त्यति बेला उड्न र हिँडडुल गर्नसमेत सक्दैनौ । मेरो हेर त । न झर्छ न मौसम अनुसार रूप बदल्दै हिँड्नुपर्छ । सदाबहार जहाँ मन लाग्छ त्यहीँ पुग्न सक्छु ।’

बल्ल उसको होस आयो । यसैका कारण उसलाई माफी माग्नु मात्र परेन । आफ्नो अवस्थालाई सम्झेर दुःखी हुनुसमेत प¥यो । भनिन्छ नि अरूलाई एक औँलो देखाउँदा चारवटा औँलाले आफैँलाई देखाइरहेको हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप